जीर्ण भवनमा प्रहरी असुरक्षित

जीर्ण भवनमा प्रहरी असुरक्षित

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिकाको बिकट रामीडाँडामास्थित इलाका प्रहरी कार्यालयको आफ्नो भवन छैन। भवन नभएपछि इलाका प्रहरी कार्यालय हाल भाडाको घरबाट सञ्चालित छ। भाडाको घर पनि साँघुरो हुँदा त्यहाँ कार्यरत प्रहरीलाई बस्न समस्या छ।

बारेकोटकै सक्लामा रहेको अर्को प्रहरी चौकीले पनि घर भाडामा लिएर गुजरा चलाइरहेको छ। हाल ११ जना प्रहरी कार्यरत यो चौकीमा भवन सानो भएपछि पालैपालो सुत्नुपर्ने बाध्यता छ। ‘आफ्नै भवन छैन, भाडाको घरमा रात बिताउनुपर्ने अवस्था छ’ जाजरकोटका डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘प्रहरीलाई कोच्चिएर बस्नुपर्ने बाध्यता छ, भान्सा र कार्यालयको काम पनि त्यहीँबाट जेनतेन गुजरा भइरहेको छ।’ उनकाअनुसार जिल्लाकै रग्दामा २३ जनाको दरबन्दी भएको इलाका प्रहरी कार्यालय छ। तर साँघुरो भवनमा सबै जना नअटाउँदा हाल ११ जना कार्यरत छन्।

कर्णालीमा हाल दुई सय १९ वटा प्रहरी युनिट छन्। यीमध्ये एकसय २९ वटा प्रहरी युनिटका आफ्नै भवन छैनन्। विशेषगरी हिमाली र दुर्गम क्षेत्रमा रहेका प्रहरी कार्यालय भवनविहीन छन्। हाल ति प्रहरी युनिटले सार्वजनिक भवन र भाडाका घर प्रयोग गरिरहेका छन्। हिँउदमा जाडो छेक्ने र बर्खामा पानी पर्दा रोक्ने सामथ्र्य नभएका भवनले आफू असुरक्षित भएको प्रहरीको गुनासो छ।

भाडाका घरबाट हाल एकसय दुईवटा प्रहरी एकाई सञ्चालन भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बाँकी १८ वटा युनिटले भने संघसंस्था वा सरकारी कार्यालयका भवनबाट गुजरा चलाइरहेका छन्। जुम्लामा पनि १७ वटा प्रहरीचौकी भवनविहीन छन्। ‘हिउँदमा तापक्रम माइनसमा झर्छ, गस्ती सकेर ब्यारेकमा फर्किदा आराम गर्ने कोठा छैनन्’ जुम्लाका डीएसपी लालबहादुर धामी भन्छन्, ‘बस्न भवनको अभाव छ, दुर्गम गाउँका चौकीहरूको अवस्था नाजुक छ।’

समस्या दुर्गममा मात्र होइन, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको नगर प्रहरी कार्यालयको हालत पनि उस्तै छ। भवन अभावमा नगर प्रहरी कार्यालय हाल जल्ला समन्वय समितिको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ। सुविधायुक्त भवन नहुँदा नागरिकको सुरक्षामा खटिने प्रहरीहरू आफैं असुरक्षित छन्। जीर्ण भवन र साँघुरा भाडाका घरमा हतियार राख्न पनि जोखिम रहेको प्रहरीको भनाइ छ।

अर्कोतर्फ जीर्ण भवन भत्किने त्रासका कारण पनि आफूहरू सुरक्षित नभएको प्रहरीको गुनासो छ। डीउटीमा खटिएको समयमाभन्दा रातमा कार्यालयमा सुत्दा त्रासमा रात बिताउनुपर्ने भवन रहेको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका सई मीनबहादुर विष्ट बताउँछन्। प्रहरीहरू रातमा कार्यालयमा आएर सुत्नुभन्दा डीउटीको समयमा आफू सुरक्षित भएको महशुस गर्ने गरेको विष्टको भनाइ छ।

चार वटा युनिट नेपालगञ्जमा

अहिले पनि कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतका चारवटा प्रहरी युनिट प्रदेश ५ को नेपालगञ्जमै छन्। आफ्नै जग्गा र भवन नहुँदा ति कार्यालयहरू नेपालगञ्जमै राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भवन अभावमै संघीय प्रहरी एकाई, प्रदेश तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गुल्म नेपालगञ्जमै छन्।

यी चारवटा कार्यालयका लागि तत्कालै जग्गा र भवन नभएको र यहाँबाट सेवा प्रवाह गर्नसक्ने अवस्था नभएकाले ति कार्यालयहरू नेपालगञ्जमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिना बताउँछन्। भवन अभावकै कारण कर्णालीका कार्यालयहरू प्रदेश ५ मा रहँदासमेत कसैले चासो दिएका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.