थारु बस्तीमा माघीको उल्लास

थारु बस्तीमा माघीको उल्लास

धनगढी : अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमजम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् । 

उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् ।

माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने ।

माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारु पत्रकार अभिनास चौधरीको भनाइ छ । माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको उनले बताए । ‘अरु बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेर मात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ ।’

माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।  

पुसको अन्तिम दिन घर-घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई 'जिता-मरना' भनिने गरेको थारु अगुवा माधव चौधरीले बताए । ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको अधिवक्ता जोहारीलाल चौधरीको भनाइ छ । 

‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने, ‘कसै-कसैबीच मनमुटाव छ भने हृदयदेखि नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ । 

माघ २ गतेलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने गर्दछ । 

अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा 'निसराउ' भनिन्छ । 
माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर 'निसराउ' स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेलामा 'निसराउ' लिएर जान्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.