हट्ने भो खुल्लामञ्चको पार्किङ
कठमाडौं : खुल्लामञ्चको पार्किङ हट्ने भएको छ । काठमाडौं महानगरपालिकाले माघ १ बाट खुल्ला मञ्चमा पार्किङ निधेष गर्न लागेको हो । महानगरपालिकी उपमेयर हरिप्रभा खड्गीले खुल्ला मञ्चको पार्किङ हटाउन केही साताअघि टुँडिखेलको अनुगमन गरेकी थिइन् ।
अनुगमन समितिको प्रमुख समेत रहेकी उपमेयर खड्गीले खुल्ला मञ्च खुल्ला नै रहनुपर्ने बताउँदै अनाधिकृत पार्किङ हट्ने प्रतिवद्धता जनाएकी थिइन् । अनुगमनपछि खड्गीले पटक पटक प्रशासनप्रमुखदेखि सरकारलाई ध्यानाकर्षण पत्र काट्दै आएकी छन् । सम्पदा अभियन्ताले राज्य र सेनाको तर्फबाट टुँडिखेल निरन्तर अतिक्रमणमा परेको भन्दै ‘अकुपाइ टुँडिखेल’ अभियान नै सञ्चालन गरेका छन् ।
टुँडिखेलस्थित खुल्ला मञ्च राजनीतिक रूपमा महत्वपूर्ण स्थान मानिन्छ । कयौं नेतालाई जन्म दिएको खुल्लामञ्च खुल्ला हुन नसकेपछि अभियन्ताले यसको संरक्षण हुनुपर्नेमा निरन्तर आवाज उठाउँदै आएका छन् । काठमाडौं वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गीले ऐतिहासिक खुल्ला मञ्चको गरिमा कायम राख्न पार्किङ निषेध गरिएको बताए ।
‘गाडीको खचाखचले खुल्ला मञ्चमा हिलो र फोहोर बढ्यो’, खड्गीले भने, ‘खुल्ला मञ्चलाई पुरानै स्वरूपमा ल्याउन पार्किङ निषेध गरिएको हो ।’ खुल्ला मञ्चमा पार्किङ अनुमति बिना नै गाडी प्रवेश हुँदै आएको थियो ।
कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल हाल भवन बनाउने समान, कामदार बस्ने ठाउँको रूपमा समेत विकसित भइरहेछ ।
अनाधिकृत पसल, पार्किङ, बसपार्क निर्माणले टुँडिखेलको परिधि साघुँरिदै गएको छ । टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न दस हप्ता अगाडि सचेतना अभियानको सुरुआत भएको थियो ।