सरकारी नीतिका कारण निजी क्षेत्र त्रस्त छ

सरकारी नीतिका कारण निजी क्षेत्र त्रस्त छ

नेपाली अर्थतन्त्रमा विद्यमान संरचनागत समस्याले सरकारका आर्थिक नीति परिणाममुखी हुन नसकेको बताउँछन्, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्‍याल । ३९ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका अर्थशास्त्री प्याकुर्‍याल नेपालमा उत्पादनमूलक क्षेत्रको विकासले मात्र अर्थतन्त्र मजबुत हुने र यसको दिगो विस्तार हुने बताउँछन् । अर्थतन्त्रका विद्यमान समस्या, सरकार र निजी क्षेत्रको भूमिका, भारतीय अर्थतन्त्रको गिरावट र नेपालमा पर्नसक्ने प्रभावलगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्ट्का पुष्पराज आचार्यले गरेको कुराकानी 

विगतमा द्वन्द्व र राजनीतिक संक्रमणले नेपालको समग्र विकास अधोगतिमा धकेलियो । अहिले राजनीतिक परिवेश अनुकूल हुँदा पनि मुलुकले अपेक्षित विकासको रफ्तार पक्रन सकेन नि ?

विसं २०६४ देखि २०७३ सालसम्मको आर्थिक वृद्धिको तथ्यांक हेर्ने हो भने औसतमा ४.१ प्रतिशतको वृद्धिदर हासिल भएको हो । भूकम्प र नाकाबन्दीको कमजोर आधारका कारण सन् २०७३÷७४ देखि राम्रो आर्थिक वृद्धिदर हासिल हुँदै आएको छ । त्यही ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर टिकाउन हामी संघर्षरत छौं । हामीले यस्ता संवेदनशील क्षेत्रलाई आधार बनाएर आर्थिक विकासलाई अघि बढाउन खोजिरहेका छौं । कुनै पनि बेला यो घातक हुन सक्छ ।

संवेदनशील क्षेत्र भनेर यहाँले कुन-कुन क्षेत्रलाई इंगित गर्नुभएको हो ?

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने हाम्रा नीति कार्यक्रम असफल भइरहेका छन् । उच्च आर्थिक वृद्धिदर हासिल गर्न कृषि प्रमुख स्रोत हो । कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत कृषि क्षेत्रको योगदान छ, तर यो स्रोत आफैं मनसुनमा आधारित छ । यसपटक धानको उत्पादन घटेको छ । मौसमले साथ दिएन र धानको उत्पादन घटबढ हुनेबित्तिकै आर्थिक वृद्धिदरमा असर पार्छ । विप्रेषणकै सवालमा चर्चा गर्ने हो भने मध्यपूर्वमा समस्या आउनेबित्तिकै विप्रेषण आप्रवाह प्रभावित हुन थाल्छ । अमेरिका र इरानको तनावले अघिल्लो साता त्यहाँ समस्या पर्ने हो कि भनेर हामी सशंकित हुनुपर्ने अवस्था रह्यो । अहिल्यै विप्रेषणको वृद्धिदर नकारात्मक छ । त्यसमाथि पनि मध्यपूर्वमा समस्या आउनेबित्तिकै हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्छ । अर्कोतर्फ, हाम्रो निर्यातको आधार कमजोर छ । भर्खरै भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । सन् १९९६ मा भारतसँग हाम्रो वाणिज्य सन्धि हुँदा परिमाणात्मक बन्देजविना शून्य भन्सारमा भारत पठाउने हाम्रा आफ्नै उत्पादन थिए । पछि गएर नेपालको उत्पादनभन्दा पनि कयौं गुणा बढी वस्तु भारत निकासी हुन थालेपछि वनस्पति घिउलगायत पाँच वस्तुलाई परिमाणात्मक बन्देज लगाएको थियो । अहिले कुल निर्यातमा झण्डै २५ प्रतिशत पाम आयल निर्यात भइरहेकोमा पुनः सोही नियति दोहोरिएको छ । कृषि, निर्यात, विप्रेषण, औद्योगिक उत्पादनको मजबुत आधार छैन । अर्कोतर्फ, हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउन पूर्वाधारको ठूलो खाडल छ । सरकारको विकास खर्च पनि कमजोर छ । यसले हाम्रो आर्थिक विस्तारको आधार नाजुक देखिन्छ ।

यसको मतलब हामीले तीव्र आर्थिक वृद्धिको लक्ष्य राख्यौं, तर त्यसका लागि जग नै भएन भन्न खोज्नुभएको हो ?

जगै नभएको होइन । जग बलियो भएकै कारण त्यत्रो लामो सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणको समयमा समेत हाम्रो आर्थिक स्थायित्वमा खलल पुर्‍याएन । अहिले अनुकूल समयमा अर्थतन्त्रको सशक्तीकरणका लागि काम गर्नुपर्नेमा समस्या थुप्रिँदै (पाइलअप) हुँदै गएका छन् । सरकारको पुँजीगत खर्च साह्रै कमजोर छ । त्यसले उत्पादन र रोजगार बढाउन, पूर्वाधारको खाडल पूर्ति गर्न सकेको छैन । आयोजनाको प्राथमिकीकरण पनि ठीक ढंगले भइरहेको छैन । पुँजीगत खर्चको वृद्धिदर घट्दै गएको छ । अधिकांश विकास खर्च अपारदर्शी ढंगले आर्थिक वर्षको अन्त्यमा हुन्छ । असारे खर्चले त मूल्यवृद्धि ह्वात्तै माथि तान्छ । यसपटक पनि विगत वर्षकै प्रवृत्ति पुनरावृत्ति हुने देखिन्छ । सरकारले विकास खर्च गुणस्तरीय ढंगले गर्न सकेको भए देशभित्र रोजगार सिर्जना हुन्थ्यो । मान्छेको आयस्ता बढ्थ्यो । यसले उपभोग बढ्छ । उपभोग बढेपछि उत्पादन पनि बढ्थ्यो । यी सबै पक्ष संकुचनतिर गए । अहिले सेवा क्षेत्रको आर्थिक वृद्धिदरले हामी खुसी छौं, तर यो दिगो छैन । उत्पादनमूलक क्षेत्रको विकास नभई त्यो देशको आर्थिक वृद्धिदर दिगो हुँदैन । त्यसले दिगो विकास हासिल गर्न सक्दैन ।

युरोपियन रिसर्च जर्नलमा हालै प्रकाशित ४० विकासशील मुलुकको अध्ययन गर्दा जुन देशमा म्यानुफ्याक्चरिङ (उत्पादन÷औद्योगिक) क्षेत्र बलियो छ, त्यही देशको आर्थिक वृद्धिदर दिगो भएको देखियो । यसको मतलब देशमा उत्पादनको आधार बलियो भएन भने आर्थिक विस्तार टिकाउ हुँदैन भन्ने नै हो । सन् २०२० सम्म पूर्वाधारमा खर्च गरिसक्नुपर्ने भनिएको रकममध्ये त्यसको आधा हिस्सा पनि हामीले परिचालन गर्न सकेका छैनौं । अहिलेको आर्थिक वृद्धिदर टिकाउन सकेनौं भने सन् २०२२ मा हामी विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुने सम्भावना पनि रहँदैन । त्यसै पनि विकासशील राष्ट्रमा रूपान्तरण हुने संक्रमणकालीन समयको प्रतीक्षा अवधिलगायतका कारण नेपाल सन् २०२७ अघि विकासशील राष्ट्र हुन सक्दैन भनेर अन्तर्राष्ट्रिय संस्थाले भनिरहेका छन् ।

यस वर्ष राजस्व लक्ष्यको तुलनामा असुली कमजोर देखिएको छ । सरकारको अनिवार्य दायित्वका साधारण प्रकृतिका खर्च कटौती सम्भव छैन । अब विकास खर्च कटौती गर्नुपर्ने बाध्यता हुन्छ होइन ?

अहिले डरलाग्दो अवस्था छ । आर्थिक २०७४÷७५ को महालेखा परीक्षकको प्रतिवेदन हेर्ने हो भने असुली हुनुपर्ने एक खर्ब ६१ अर्ब रुपैयाँ असुल हुन सकेको छैन । मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाता संख्यामध्ये भ्याट दाखिला गर्ने एकतिहाइ पनि छैनन् । सरकारले करको अनुपालना बढाउन खोजे पनि त्यसमा सापेक्ष बढोत्तरी देखिँदैन । एकातिर ठूलो व्यापार घाटा छ । भारतमा पाम आयल निकासीले केही राहत दिएको थियो । अब त्यो रोक लागिसकेको छ । हाम्रा मौलिक उत्पादन जुट, यार्न (धागो), चाउचाउको निकासी भइरहेको छ । तर, हामीलाई बढी फाइदा हुने वस्तु दालचिनी, तयारी पोसाक, जुत्ता÷चप्पल जस्ता नेपाललाई बढी फाइदा हुने वस्तुको निकासी घटेको छ । त्यसकारण हामीले फाइदा हुने वस्तुको निकासी विविधीकरण गर्नेतर्फ ध्यान दिन आवश्यक छ । हाम्रा उत्पादन प्रतिस्पर्धी बनाउनुपर्ने छ । उत्पादन प्रतिस्पर्धी बनाउन पूर्वाधार र व्यवसायको लागतमै गएर सवालअड्किन्छन् । विप्रेषणले व्यापार घाटा नधान्ने अवस्था छ ।

गत वर्ष नै कूल गार्हस्थ उत्पादन (जीडीपी) को झण्डै ३३ बाह्य क्षेत्र घाटापूर्तिका लागि विदेशी मुद्रा सञ्चिती खर्च गर्नुपरेको थियो । अब पुँजीगत खर्च हुन सकेन भने त धेरै समस्या आउँछ । संघीय सरकारले बजेटको ९ प्रतिशत अनुदान हस्तान्तरण र ३ प्रतिशत राजस्व बाँडफाँटमार्फत तल्लो तहका सरकारमा पठाएको छ । संघीय सरकारकै जस्तो तल्लो तहका सरकारमा पनि आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने हुन् । कतिपयले त खर्च गर्न सकेका छैनन् । अब सबै तहका सरकारले बजेटमा साधारण खर्च बढाउँदै जाने र पुँजीगत खर्च कम गर्दा त विकास खर्च घट्दै जान्छ । विकसित मुलुक भएको भए समस्या चर्किसक्थ्यो । हामीकहाँ धेरै माग र आपूर्तिमा मूल्य र आयसँग तादात्म्य देखिँदैन । हाम्रो अर्थतन्त्र संरचनागत रूपमा जकडिएको (स्ट्रक्चरल रिजिडिटी) छ । अर्कोतर्फ, एक वर्षको बजेटले मात्र हाम्रा समस्या समाधान गर्न सक्ने देखिएन । मध्यकालीन खर्च संरचनाअनुसार, तीन वर्षको रोलिङ बजेट चाहिन्छ ।

तर पनि अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न पहल भएको देखिँदैन ?

आर्थिक वृद्धिदर ७ प्रतिशत भयो भनिन्छ । त्यसको प्रभाव रोजगारमा देखिनुपर्ने हो, तर देखिँदैन । विश्व बैंकले पनि गरिबी निवारणमा आशातीत प्रगति भयो भनेर प्रशंसा गरिरहेको छ । तर आय असमानता व्यापक बढिरहेको छ । ज्यालादर र तलबमान बढ्दा त्यसको प्रभाव उत्पादकत्व बढ्नुपर्ने हो, त्यो पनि हुन सकेको छैन । त्यसकारण एउटा हस्तक्षेपले अर्कातिर प्रभाव नदेखिनु भनेको ठूलो समस्या हो । हाम्रो अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकका बीचमा समन्वय पनि हुँदैन । योजना आयोगले दिएको सीमाअनुसार बजेट बन्दैन । राजनीतिक दबाबमा बजेट बढाउनुपर्ने पनि देखिन्छ । बजेटमै उल्लेख नभएको पनि रकमान्तर गरेर खर्च भएको हुन्छ । राष्ट्र बैंकले बजेट हेरेर मुद्रास्फीति नियन्त्रणका लागि कदम चाल्छ । तर बजेट भनेअनुसार खर्च नभएपछि राष्ट्र बैंकको मौद्रिक उपायले पनि काम गर्ने भएन । त्यसकारण पहिले त सबैले सही ढंगले काम गर्नुपर्‍यो ।

हाम्रा आर्थिक नीति नै एकअर्कासँग असम्बन्धित भए । आर्थिक वृद्धिदर हासिल गर्नेलाई रोजगार सिर्जनाको विषय चासोभित्र परेको छैन । पुँजीगत खर्च गर्नेलाई रोजगार र उत्पादनसँग मतलब नै नहुने पनि हुन्छ ? त्यसकारण रणनीतिक र विकास योजना, वित्तीय नीति, मौद्रिक नीतिबीच समन्वयात्मक ढंगले काम हुन जरुरी छ । यी समस्या चाङ लाग्दै जानु दुर्भाग्यपूर्ण छ । निम्नस्तरमा बस्ने मानिसले विकासलाई अनुभव गर्नै पाएका छैनन् । जबसम्म मानिसको जीवनमा परिवर्तनको अनुभूति हुन सक्दैन; सेवा-सुविधा सरल र सहज ढंगले पाउन सक्दैन; हप्तामा सातै दिन काम गर्दा पनि पारिवारिक आवश्यकता पूरा गर्ने गरी आयस्तर वृद्धि हुँदैन भने उसले विकासलाई कसरी अनुभव गर्न सक्छ । जुन संरचनागत समस्या अर्थतन्त्रमा विद्यमान छन्, त्यसलाई समाधान नगर्ने हो भने आम मानिसले विकासको अनुभव गर्नै सक्दैनन् । आम नेपाली सबैतिरबाट हारेका खेलाडीजस्ता देखिन्छन् । सबैतिरबाट हामीले समस्या र पीडा झेल्नुपरेको छ । त्यसकारण अब व्यापक सुधारमा जान आवश्यक छ ।

अहिले सरकारलाई सेकेन्ड जेनेरेसन इकोनोमिक रिफर्म (दोस्रो चरणको आर्थिक सुधार) मा जान अप्ठेरो परिरहेको देख्छु । नेपाली कांग्रेसले पहिलो चरणको आर्थिक सुधार ल्याएको थियो, त्यसैले दोस्रो चरणमा जाँदा उसको नीति लिएजस्तो हुन्छ भनेर हो कि ? राम्रा विषय छन् भने त्यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिनुपर्छ । संरचनागत समस्या समाधानका लागि अघि बढ्दै गर्दा हामीले विश्वव्यापी परिदृश्य पनि हेर्नुपर्छ । हामीसँग सबैभन्दा बढी आर्थिक सम्बन्ध भएको भारत हो । भारतको अर्थतन्त्र हेर्नैपर्छ ।

भारतीय अर्थतन्त्रमा आएको गिरावटले नेपाललाई कस्तो असर पर्ला ?

रेटिङ एजेन्सी (साख मूल्यांकनकर्ता) हरूले १६ सूचकमध्ये १२ सूचक कमजोर भएर भारतलाई विश्वको पाँचौं ठूलो अर्थतन्त्रबाट सातौं ठूलो अर्थतन्त्रमा झारेका छन् । किनकि त्यहाँको सरकारले ल्याएका मुख्य नीति असफल भए । जस्तो- ठूला दरका नोट प्रतिबन्ध लगाउने निर्णय र वस्तु तथा सेवामा एकीकृत कर (जीएसटी) भारतीय अर्थतन्त्रका लागि घातक भयो भनिन्छ । झण्डै दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न लागिसकेको भारत यस वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भयो भने अहोभाग्य भन्ने अवस्थामा छ । त्यसकारण बहकाउमा यस्ता नीति लिनु हुँदैन ।

भारतकै अर्थतन्त्रमा गिरावटका कारण दक्षिण एसियालाई उदीयमान अर्थतन्त्र नभनेर पूर्वीएसियालाई भन्न थालियो । भारतको अर्थतन्त्रमा गिरावट आउँदा हामीलाई त्यसका प्रत्यक्ष प्रभाव पर्छ । फेरि नेपालले यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्छ । नेपालसँग सीमाका उत्तर भारतका उत्तरप्रदेश, पश्चिम बंगाल र बिहारको माग हेरेर त्यहाँ वस्तु निर्यात गर्न सकेको भए हाम्रो निकासी बढ्थ्यो । हाम्रो अर्थतन्त्र बलियो हुन्थ्यो । एकाथरी राष्ट्रवादीले भारतीय अर्थतन्त्र ओरालो लाग्यो अब भारतसँगको स्थिर विनिमय दर परिवर्तन गर्नुपर्‍यो पनि भन्छन् । त्यो उग्र राष्ट्रवादी विषय हुन्थ्यो । हाम्रो निर्यातको आधार बलियो भएको भए हामीले भारतसँगको स्थिर विनिमय दर परिवर्तन गर्न पनि हुन्थ्यो या खुला बजार विनिमय दरमा जान सक्थ्यौं । तर अहिलेको अवस्थामा त्यो सम्भावना देखिँदैन । सीमा जोडिएको मुलुक भए पनि चीनसँग हाम्रो खासै निर्भरता

छैन । भारतसँग अत्यधिक निर्भरताका कारण भारतीय अर्थतन्त्रमा आउने परिवर्तनलाई सूक्ष्म निगरानी गरेर त्यसअनुरूप हाम्रा नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

भारतमा जस्तै नेपालले पनि एकैपटक नियमनका धेरै उपाय एकैपटक अवलम्बन गर्दा निजी क्षेत्र सुस्त भएको विश्लेषण हुन थालेको छ नि ?

यो सरकारलाई ठूलो अवसर थियो । सुरुमा सरकारको स्थायित्वका कारण निजी क्षेत्र खुसी र उत्साहित देखिएको पनि थियो । निजी क्षेत्र र सरकार मिलेर काम गर्दा ‘विन-विन’ (दुवैको पल्लाभारी) हुन्थ्यो । जुन देशको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको छ । त्यहाँ निजी क्षेत्र हतोत्साही हुनु भनेको राम्रो होइन । कर र लगानीको माध्यमबाट अर्थतन्त्रमा निजी क्षेत्रले गरेको योगदानअनुसारको सरकारबाट सहजीकरण हुनुपर्नेमा उल्टै सरकारको नीति कठोर छ भनेर निजी क्षेत्रले भनिरहेको छ ।

निजी क्षेत्रको सुरक्षा पनि छैन । जतिसुकै बेला पनि सरकारले जेसुकै गर्न सक्छ भनेर उनीहरू त्रस्त छन् । व्यवसायमैत्री वातावरण मापन गर्ने विश्व बैंकको प्रकाशन डुइङ बिजनेसमा दुइटा सूचकले नेपालको समग्र स्थान केही सुधार भयो भन्दैमा त निजी क्षेत्रले सहज अनुभूति गरेको छ भनेर व्याख्या गर्नु ठीक नहोला । निर्वाचन अघि यो सरकारको अझै तीन वर्ष कार्यकाल बाँकी छ । त्यसकारण अझै पनि सरकारले चाहने हो भने धेरै सुधार गर्न सक्छ । अहिलेसम्मका अध्ययनले नेपालको आर्थिक वृद्धिका वाधा के हुन् ? समस्या कहाँ छन् ? पहिचान गरेर त्यसलाई क्रमशः सुधार गर्दै जानुपर्छ । निजी क्षेत्रलाई नीतिगत स्थायित्व दिनका लागि लचकता अपनाउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.