सञ्चालनमा नआउँदै विवादित बन्यो ग्यास उद्योग
सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक स्थापना भएको ग्यास उद्योग सञ्चालनमा नआउँदै विवाद उत्पन्न भएको छ । प्रदेशको माग र आवश्यकताको आधारमा सुर्खेतको भेरीगंगा नगरपालिका ४ दमार (छिन्चु)मा स्थापना भएको वर्षा ग्यास उद्योग तत्काल सञ्चालन ल्याउने तयारी भएको हो ।
उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचना समेत निर्माण भएका छन् । तर स्थानीयले उद्योग सञ्चालन प्रक्रिया गलत भएको भन्दै विरोध जनाएछन्। खेतीयोग्य जमिन र मानव वस्ती नजिकै ग्यास उद्योग सञ्चालन गर्न नपाइने भन्दै स्थानीयले विरोध जनाएका हुन् । तर उद्योग सञ्चालक समितिले कुनै पनि प्रक्रिया गलत नभएको भन्दै जसरी पनि ग्यास उद्योग सञ्चालन गरिने बताएको छ ।
उद्योग सञ्चालनका लागि स्थानीय गोरखबहादुर खत्री, बखत भण्डारी, टेकबहादुर भण्डारी, वीरबहादुर रावत र गोविन्द गौतमले २५ करोड बढी लगानी गरेका छन् ।स्थानीयको विरोधपछि भेरीगंगा नगरपालिकाले तत्काललाई उद्योग सञ्चालनको काम रोक्न निर्देशन दिएको छ । उद्योग सञ्चालक वीरबहादुर रावतले ग्यास उद्योग स्थापनाका लागि सबै कानुनी प्रक्रिया पुरा गरेकाले कुनै पनि हालतमा उद्योग बन्द नहुने बताए । 'समाजमा राम्रो काम गर्न नदिनेले विरोध गरेर स्थानीयलाई भट्काउन खोजेका हुन्, हामी जसरी पनि उद्योग सञ्चालन गरेर सेवाग्राहीको मन जित्छौं, उनले भने, 'उद्योग सिल्यान्यास गर्दा विरोध नगर्ने नै उद्योग सञ्चालनमा आउन लाग्दा विरोध जनाउँछन्, कर्णाली प्रदेशमै नमुना काम गरेकोमा धन्यबाद दिनुको सट्टा विरोध गर्नु हास्यास्पद विषय हो।'
उनकानुसार उद्योग स्थापनाका लागि १५ दिने र ३५ दिने सूचना जारी गर्नुका साथै वनविभाग लगाएत सम्बन्धित सबै निकायको सिफारिस अनुमति लिइएको छ । भारतबाट ग्यास ल्याएर छिन्छुमै ग्यास सिलिण्डर भरी बजारको भन्दा झण्डै एक सय रुपैयाँ सस्तोमा ग्यास बेच्ने तयारी भएको उनले बताए । उद्योग सञ्चालनपछि धेरैजनाले रोजगारी समेत पाउँछन् । तर सञ्चालनमा आउनु अघि स्थानीयबाटै विरोध भएपछि सञ्चालक समितिलाई समस्या भएको छ ।
'स्थानीयलाई झुक्काएर ग्यास उद्योग सञ्चालन गर्न खोजिएको छ, स्थानीय भुपेन्द्र देवकोटाले भने, 'शक्ति र पहुँचको भरमा स्थानीयलाई झुक्काएर मिल्दैन ।' उद्योग स्थापनाका लागि न्युनतम मापदण्ड पुरा नभएको अर्का स्थानीय श्यामलाल ढकालले बताए । नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले स्थानीयको आन्दोलनले अप्रिय घटना नहोस् भनेर सञ्चालक समितिलाई तत्कालका लागि काम रोक्न निर्देशन दिएको बताए । 'उद्योग सञ्चालनका लागि कानुनी प्रक्रिया पुरा गरेको देखिन्छ,' उनले भने, 'तर स्थानीयलाई जानकारी नै नदिइ लुकिछिपी काम गरेको जस्तो देखिएपछि स्थानीयले शंका गरेका छन् ।'
नगरपालिकाले पहिले उद्योग निर्माण गर्ने अनुमति दिएपनि पछि काम रोक्न आदेश दिएपछि विवाद झनै चुलिएको हो । स्थानीयले उद्योगको आसपासमा घना बस्ती, खेतीयोग्य जमिन र वनजंगल भएकाले असर पर्ने तर्क गरेका छन् भने सञ्चालक समितिले ग्यास उत्पादन नभइ सिलिण्डर मात्रै भर्ने काम हुने भएकाले कुनै पनि असर नपर्ने दावी गरेको छ।