प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी
काठमाडौं : गत भदौमा दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथ ह्याक गरी चिनियाँले रकम निकालेको सूचना एक सर्वसाधारणले फोन गरी प्रहरीलाई दिएका थिए। सूचना पाउनासाथ तत्काल सक्रिय भएको प्रहरीले ती चिनियाँबाट १ करोड ६८ लाख रुपैयाँ बरामद गर्न सफल भयो।
०००
इँटाभट्टामा जिउँदै जलाएको अभियोग लागेका रौतहटका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम भारत भाग्न लागेको सूचना पनि सर्वसाधारणले नै दिएका थिए। त्यसैका आधारमा उनी पक्राउ परे।
०००
गत भदौमा सूर्यविनायक नगरपालिकामा हतियार र गोलीसहित हिँडेका बाराका शम्भुप्रसाद साहलाई प्रहरीले पक्राउ गर्यो। यो सूचना पनि प्रहरीलाई एक सर्वसाधारणले नै दिएका थिए।
०००
सर्वसाधारणबाट यस्तै अपेक्षा राखेर अपराध नियन्त्रणलाई अझ बढी प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले अघिल्लो कात्तिकदेखि ‘समुदाय–प्रहरी साझेदारी अवधारणा’ लागू गरेपछि हासिल भएका सफलताका केही प्रतिनिधिमूलक उदाहरण हुन् यी।
यो अवधारणा कार्यान्वयनमा आएपछि प्रहरीले ७ सय ५३ स्थानीय तह र त्रिभुवन विश्वविद्यालयसँग सँगै मिलेर जाने भन्दै समझदारीपत्रमा हस्ताक्षर नै गर्यो। ७७ जिल्लाका सबै स्थानीय तह र ८ हजार ९ सय ८ विद्यालय समेटेर प्रहरीले २४ हजार ५ सय ४३ समिति गठन गरेको छ।
‘यो अवधारणाको मूल उद्देश्य अपराध नियन्त्रणमा प्रविधि मात्रै होइन, सूचना संकलन महŒवपूर्ण हो,’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘प्रविधिले तत्कालीन प्रमाण जुटाउन मद्दत पुग्छ तर प्रामाणिक तथ्य पत्ता लगाउन सूचना नै चाहिन्छ, जुन यो अवधारणाबाट पूरा भएको छ।’ सामुदायिक गस्तीका क्रममा प्रहरीले गत वर्ष कात्तिकदेखि हालसम्म १ लाख ७० हजार ३ सय ९५ जनाको उद्धार र सहायता गरेको छ। आईजी खनाल भन्छन्, ‘पहिला सूचना लुक्थे, अहिले प्रहरीसम्म आइपुग्छ। हाम्रो सहयागी प्रहरी पनि हो है भन्ने चेतना अहिले समुदाय–प्रहरी साझेदारी अवधारणाले विकास गरेको छ।’
अवधारणा लागू भएपछि सर्वसाधारणकै सूचनाका आधारमा १ लाख २० हजार ४ सय ८ जना पक्राउ गरिएको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए। पक्राउमध्ये केही फरार अपराधी थिए भने अधिकांश सूचना महिलामाथि हिंसा, झैझगडा, कुटपीट र अवरोधका थिए। प्रहरी र स्थानीय तहको सहयोगमा २ हजार ९ सय ८६ सीसी क्यामेरा जडान भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै ६ करोड रुपैयाँ सीसी क्यामेरा जडानकै लागि छुट्याएका थिए।
प्रहरी र स्थानीय तहको संयुक्त समितिले हालसम्म सामुदायिक गस्ती, सामुदायिक कार्यक्रम, विद्यालय कार्यक्रम र श्रव्यदृश्य कार्यक्रममार्फत ९८ लाख १० हजार ५ सय ६७ जनालाई अवधारणा र यसको औचित्यबारे चेतना अभिवृद्धि गराएको प्रवक्ता क्षेत्रीले बताए। अवधारणा लागू गर्न सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको थियो। राष्ट्रिय योजना आयोगले समेत यो अवधारणालाई ‘गेम चेन्जर प्रोजेक्ट’ को रुपमा लिएको छ।
अवधारणा लागू हुनुअघि प्रहरीको नम्बर १०० मा दैनिक ३ देखि ४ सय कल आउने गरेकोमा अहिले ८ देखि ९ सय कल आउने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। आईजी खनालले भने, ‘जहाँ प्रहरीको तत्कालै पहुँच हुँदैन त्यहाँ सूचनाको आवश्यकता पर्छ। त्यो सूचना अब यो अवधारणाले विकास गर्छ।’