ल्यान्ड पुलिङबाट सहर
काठमाडौं : काठमाडौं उपत्यकामा निर्माण हुने नयाँ सहर (स्मार्ट सिटी)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। काठ क्षेत्रका चार स्थानको एक लाख ३० हजार रोपनी जग्गामा नयाँ सहर बनाउन काठमाडौं उपत्यका विस्तार प्रधिकरणले डीपीआर तयार गरेको हो। प्राधिकरणका सहरी योजना विद् भागवत खोखालीले नयाँ सहरको डीपीआर तयार भएको जानकारी दिएका हुन्।
चार स्थानमा नयाँ सहर बनाउन प्राधिकरणले २०७४ मा डीपीआर तयार गर्न आशयपत्र माग गरेको थियो। यसको करिब ढेड वर्षपछि डीपीआर तयार भएको हो। नयाँ सहर निर्माण प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्ले डीपीआर स्वीकृति गर्नुपर्ने हुन्छ। भौतिक विकास समितिको अध्यक्ष सहरी विकासमन्त्री हुने प्रावधान छ। मन्त्री नहुँदा समितिले डीपीआर अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउन सकिरहेको छैन। मन्त्री नियुक्त भएपछि नयाँ सहर निर्माण प्रक्रियाले तीव्रता पाउने प्राधिकरणले विश्वास लिएको छ।
नयाँ सहर काठमाडौं र भक्तपुरको पूर्व–उत्तर क्षेत्रको एक लाख रोपनी तथा भक्तपुरको पूर्व–दक्षिण क्षेत्र, काठमाडौंको उत्तर क्षेत्र र ललितपुरको दक्षिण पश्चिम क्षेत्रको १०/१० हजार रोपनी जग्गामा नयाँ सहर बनाइनेछ।
डीपीआरअनुसार यी नयाँ चार सहर निर्माण गर्न करिब करिब चार खर्ब ५५ रुपैयाँ लाग्ने अनुमान छ। काठमाडौं र भक्तपुरको पूर्व–उत्तर क्षेत्रको एक लाख रोपनीमा चार खर्ब, भक्तपुरको पूर्व–दक्षिण क्षेत्र र ललितपुरको दक्षिण पश्चिम क्षेत्रमा २० अर्ब र काठमाडौंको उत्तर क्षेत्रमा १५ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणले जानकारी दिएको छ।
एक लाख रोपनी जग्गाको डीपीआर फिनल्यान्डको हेलेन एन्ड को–आर्किटेक जेभीले तयार गरेको हो। अन्य स्थानको डीपीआर स्वदेशी परामर्शदाताले तयार परेका हुन्। ललितपुर र भक्तपुरको ईआरएमसी–एईएसटी–एडीए जेभी र काठमाडौंको टेक फुल ब्राइटले तयार गरेको हो।
व्यवस्थित सहर
योजना विद् खोखालीका अनुसार उपत्यकाको खुला क्षेत्रमा व्यवस्थित सहर निर्माण गर्न नयाँ सहरको अवधारणा अघि सारिएको हो। व्यवस्थित र सुरक्षित सहरका लागि आवश्यक पूर्वाधार विकास गरी नयाँ सहर बनाइनेछ। ‘उपत्यकामा सहरका लागि आवश्यक न्यूनतम् सुविधा बिना बस्ती बनेका छन्। साँघुरा बस्तीमा एम्बुलेस, दमल गुड्न योग्य सडक छैन’, खोखाली भने, ‘प्राकृति प्रकोपसँग जुध्ने पूर्वाधार छैन। भवन नै भवनले भरिएका बस्ती मात्र छन्।’ प्राधिकरणले मानिस बस्नयोग्य बस्ती बसाल्न नयाँ सहरको अवधारण ल्याइएको हो। उपत्यकाको भित्री सहर कंक्रिटको जंगल भइसकेको छ। यहाँ सुरक्षित सहर बसाल्न आर्थिक तथा प्राविधिक रूपमा सम्भव छैन। उपत्यकाका काँठ क्षेत्रमा पर्याप्त खुला जग्गा छ। अहिले सुरुवात नगरिए निकट भविष्यमा खाली जग्गा भेट्न मुस्किल हुन्छ। काठमाडौंका भित्री स्थानमा खुला जमिन छैन। काठ क्षेत्रमा पनि बस्ती बढ्दो क्रममा छ। बस्तीका लागि आवश्यक पर्ने शैक्षिक संस्था, हस्पिटल, बजार, चौडा सडक, खानेपानी, ढल तथा मनोरञ्जनका लागि खुला मैदान, खेल मैदान, चलचित्र हललगायत संरचनासहित नयाँ सहर हुनेछ।
सम्पदा बस्ती
काठमाडौं उपत्यकामा साँस्कृतिक तथा धार्मिक विविधता छ। बढ्दो सहरीकरणसँगै मौलिक संस्कृति लोप हुने क्रममा छ। नयाँ सहरका बस्ती परम्परागत संस्कृति झल्किने गरी निर्माण गरिने विद् खोखालीको भनाइ छ। अन्तर्राष्ट्रिय शैलीमा बस्ती विकास गर्दा स्थानीय संस्कृति नास हुन सक्छ। भौतिक संरचना निर्माणको नाममा संस्कृति र पराम्परा मास्नु हुँदैन’, उनले भने, ‘नयाँ सहर बन्ने स्थानमा साना/सान मन्दिर छन्। सम्पदा जोगाउनु पर्छ। सम्पदा र साँस्कृतिक विविधता नै नेपालको पहिचान हो। त्यस्ता संरचना बचाएर नयाँ सहरमा पर्यटन प्रवद्धर्न गर्न सकिने उनले औंल्याए।
जग्गा विकासबाट नयाँ सहर
प्राधिकरणले जग्गा विकास (ल्यान्ड पुलिङ) को अवधारणामा नयाँ सहर बनाउन लागेको हो। यो अवधारणामा नयाँ सहर बन्ने क्षेत्रको सम्पूर्ण जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याउँछ। उक्त जग्गामा बस्ती बस्नयोग्य पूर्वाधार तयार गरिन्छ। पूर्वाधार निर्माण गर्न लागेको खर्चबापत सरकारले केही जग्गा आफैं राखेर धनीलाई फिर्ता गर्छ। डीपीआरअनुसार नयाँ सहरको खर्च निकाल्न ३० देखि ३५ प्रतिशत जग्गा सरकारले लिनुपर्ने हुन्छ। सरकारसँग भएको जग्गा लिलाम बिक्रीबाट खर्च निकालिन्छ।
यसरी सहर निर्माण गर्दा आयोजनाका लागि रकम जोहो हुने प्राधिकरणको भनाइ छ। ‘अहिले ती क्षेत्रमा अवस्थित जग्गा छन’, ती जग्गालाई बस्ती बस्नयोग्य बनाइन्छ’, विद् खोखालीले भने, ‘ती जग्गलाई व्यवस्थित बनाउने हो। त्यसका लागि ठूलो खर्च लाग्छ।’ विकास भएको जग्गाको हालको भन्दा ५ देखि ६ गुणा मूल्य अभिवृद्धि हुने उनको दाबी छ।
जग्गा विकासबाट नयाँ सहर बनाउने भएकाले पूर्वाधार निर्माण गर्न सरकारले लगानी गर्नुपर्ने हुन्छ। नयाँ सहर बनाउन पाँच वर्ष लाग्ने अनुमान छ। पहिलो दुई वर्ष नक्साको काम गर्नुपर्ने भएकाले धेरै खर्च लाग्दैन। पछिल्ला तीन वर्ष पूर्वाधार बनाउनुपर्ने भएकाले खर्च धेरै लाग्छ। त्यसका लागि सरकारले लगानीको सुनिश्चितता गर्नुपर्ने हुन्छ। सहर विकास भएपछि भने सरकारको स्वामित्वमा रहेको जग्गा बिक्री गरेर लगानी उठाउन सकिन्छ।
कित्ता काटमा रोक
प्राधिकरणले २०७४ गत असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरी ३ वर्षका नयाँ सहर बन्ने क्षेत्रमा कित्ताकाट र भौतिक संरचना निर्माणमा रोक लगाएको छ। २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशन हुनुपूर्व अदालतमा अंशमुद्दा परी अदालतबाट भएको निर्णय आदेश र मिलापत्र बमोजिम कित्ताकाट गर्न स्वीकृति दिने गरिएको छ। भूकम्पपीडितको हकमा ‘काठमाडौं उपत्यकाभित्रका नगरपालिका गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ र बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ बमोजिम नक्सा स्वीकृत गरी घर बनाउन स्वीकृति दिने। सम्बन्धित जिल्लाको भूमिसुधार कार्यालयको निर्णयअनुसार जग्गाधनी मोहीको जग्गा बाँडफाँट गर्न स्वीकृति दिने।
अंशबण्डा तथा खरिद बिक्रीका लागि ८ आना क्षेत्रफलमा नघट्ने गरी कित्ता काट र प्लट मिलानमा स्वीकृति दिने। बाटोको लागि कित्ताकाट गर्दा न्यूनतम चौडाइ ६ मिटर हुनुपर्नेछ।
नयाँ सहर बन्ने स्थान
(क) काठमाडौं इसान (पूर्व–उत्तर) नयाँ सहर विस्तार क्षेत्र
पूर्व: भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म।
पश्चिम: जोरपाटी क्रिकेट स्टेडियम, मूलपानी, गोठाटर हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो।
उत्तर: साँखु बजार र साँखु जाने मूल सडक।
दक्षिण: भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान–खरिपाटी, देवोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टिटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकको क्षेत्र मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने।
(ख) काठमाडौं आग्नेय: (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र।
निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोटभित्रको जग्गा।
पूर्व: अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडि वनलाई बाहिर पार्दै फेदको बाटो।
पश्चिम: खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमाना।
उत्तर: अरनिको राजमार्गको सिमाना।
दक्षिण: भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल।
(ग) काठमाडौं नैऋत्य: (दक्षिण–पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र।
निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्य बाटोबाट बस्तीतर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गा।
पूर्व: छ्यासीकोटदेखि साविक सैंबु गाविसको सिमाना हुँदै फसिडोल, वाग्मती नदीको झोलुंगे पुलसम्म।
पश्चिम: बागमती नदी सिमाना।
उत्तर: साविक सैंबु गाविसको सिमाना।
दक्षिण: वागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल।
(घ) काठमाडौं उत्तर: काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र।
पूर्व: सामाकोसी, टोखा रोड हुँदै बाइपास।
पश्चिम: काभ्रेस्थली बाइपास जाने मूल सडक।
उत्तर: सपनतीर्थ मैलुङ हुँदै काभ्रेस्थली।
दक्षिण: ग्रिनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल।