मन स्वस्थ राख्न योग

मन स्वस्थ राख्न योग

धेरै मानिसलाई लाग्छ म शारीरिक रूपमा स्वस्थ छु, मानसिक रूपमा पनि स्वस्थ छु अनि समय पनि छैन भने योग किन आवश्यक भयो र ! हामीले सोचेजति शरीर र मानसिक अवस्था स्वस्थ छ भनेर दाबी गरे पनि आन्तरिक रूपमा मन भड्किरहेको हुन्छ। मनमा क्षणमै दुःख त क्षणमै सुख अनि क्षणमै तनाव त क्षणमै उत्तेजनाको अनुभूति हुनेगर्छ। यी सुख, दुःख, उत्तेजना र तनावभन्दा माथि आनन्दित रहने गुण पनि मानिसलाई प्राप्त छ र त्यही आनन्द स्वरूपलाई जान्न योग आवश्यक छ। आनन्द स्वरूप अनुभूति शारीरिक भोग, सांसारिक भोग र संसारिक सफलताबाट प्राप्त नहुन सक्छ। योगको अर्थ नै जोड भन्ने बुझिन्छ जसले सांसारिक क्रियाकलाप र आध्यात्मिक स्वभावलाई जोड्ने काम गर्छ र मानिसको जीवनलाई आनन्दसहित पूर्णता दिने काम गर्छ। योगको विकसित रूप अर्थात् शरीर र मनस्थितिको माध्यमबाट परम आनन्दको, परम वि श्रामको अनुभूति भने ध्यान हुँदै समाधिसम्मको अनुभूति हो। त्यसैले योग शारीरिक रूपमा तन्दुरुस्त, सुन्दर र स्वस्थ देखिने माध्यम र अभ्यास मात्र नभएर गहन आत्मिक शान्तिमा जाने माध्यम पनि हो।

नेपालमा वि.सं २०७२ देखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको छ। योग भूमि, शिव भूमि, बुद्ध भूमिका हामी नेपाली योग र योगाभ्यासको बारेमा अनभिज्ञ रह्यौं भने योग दिवस सुरुवात गर्दैमा सार्थकता नमिल्न सक्छ त्यसैले योगको मर्म र महत्त्वबाट हामी टाढा हुनुहुँदैन। योग र ध्यानको बारेमा प्रष्ट र व्यावहारिक वक्तव्य दिँदै आफ्ना अनुभूतिको आधारमा ओशो भन्नुहुन्छ, ‘के तिमी ध्यान गर्न चाहन्छौ ? तिम्रो वास्तविक चाहना हो भने ध्यान राख, ध्यानमा तिम्रो सामुन्ने केही आउनेवाला छैन र ध्यानको पछाडि पनि केही आउनेवाला छैन। ध्यान त अतीतलाई मेटिन दिने र भविष्यको चिन्ता, कल्पना र स्मृतिमा पनि नजिउने केवल वर्तमानमा रहने कला प्राप्त गर्नेछौ। कल्पनातीत र धारणारहित भएर केवल शून्य, शान्त, आनन्दको अनुभूतिमा रहन सक्छौ। निर्विचार, मनभन्दा पर, मौन र मन्द खुसीको अवस्था ध्यान हो। आफ्नो कर्म र पुरुषार्थसँगै यो सम्यक खुसी र आनन्दको अनुभूति तिमीमा घटित भयो भने जान तिमी ध्यान मग्न छौ, स्वस्थ छौ र मस्त छौ।’

आजका मानिसको दौडधूपरूपी जीवनयापनको शैली देख्दा लाग्छ मानिस कामको चापमा, सम्बन्धको अविश्वासमा, कर्मको नतिजाको प्रतिकूलताप्रति असहमति, असहज जीवनशैलीमा बाँच्न बाध्य छ र त्यसको मुक्तिका लागि योग र ध्यानको विकल्प नै छैन। मनको एकाग्रता, कर्मप्रतिको सम्यकता, जागरूकता र सहनशक्तिको विकासका लागि ध्यान र योग अति नै महत्त्वपूर्ण छ। योग र ध्यानमय जीवनका फाइदा गणितीय रूपमा खोज्न थालियो भने नभेटिन सकिन्छ त्यसैले योग एवं ध्यान कुनै दर्शन, धर्म र तर्कसँग सम्बन्धित नभएर जीवनको अनुभूतिमा आधारित हुन्छ। योग र ध्यानको माध्यमबाट प्राप्त हुने यही सकारात्मक अनुभूति र अभ्यासकै कारण मानिसका शारीरिक रोग त कम हुँदै जान्छन् नै मानसिक र आत्मिक रूपमा पनि मानिसले शान्त, करुणामूलक र प्रसन्न जीवन बाँच्ने सूत्रहरू प्राप्त गर्छन्। योग र ध्यानले शरीरलाई फूर्तिलो, लचिलो, मजबुत राख्छ र शरीरका प्रत्येक अंगलाई व्यायाम मिल्छ। नियमित बिहानको समय ३० मिनेटदेखि लिएर १ घण्टासम्मको समय योग र ध्यान अर्थात् आफ्ना लागि छुट्टयाउन सक्यो भने रक्तसञ्चार ठीक गर्न, हृदयलाई फराकिलो बनाउन र आफ्ना कर्मलाई सकारात्मक बनाउन धेरै मद्दत मिल्छ। योग र ध्यान गर्ने व्यक्ति संसारको आपधापीबाट टाढा रहेर प्रकृतिको तादात्म्यता महसुस गर्न सक्ने हुन्छ।

योग शारीरिक रूपमा तन्दुरुस्त, सुन्दर र स्वस्थ देखिने माध्यम र अभ्यास मात्र नभएर गहन आत्मिक शान्तिमा जाने माध्यम पनि हो।

नियमित योग र ध्यान गर्ने व्यक्तिको शारीरिक, मानसिक र भावनात्मक भावदशा र सोचाइ पनि सन्तुलनमा रहन्छ जसले गर्दा तनावबाट मुक्ति मिल्छ। नियमित योग र ध्यान गर्ने व्यक्तिको जीवनमा सिर्जनात्मकता बढ्दै जान्छ र बुद्धि विकासका साथै आत्म नियन्त्रणको शक्तिमा पनि वृद्धि हुन्छ। अनुहारमा चमक, प्रसन्नता, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, आन्तरिक रूपमा सशक्त, भयमुक्त, पाचनक्रिया सही, गहिरो निद्रा र हाडजोर्नीको समस्याबाट समेत मुक्त हुने उपाय पनि ध्यान र योगकै अभ्यासबाट प्राप्त हुन्छ। संयमित, इमानदारी, परोपकारी, प्रफुल्ल र प्रसन्नता जस्ता आन्तरिक गुण वृद्धिका लागि पनि ध्यान र योग नै आवश्यक छ। योग र ध्यान ती व्यक्तिका लागि महत्त्वपूर्ण हुन्छ जो व्यक्ति वास्तवमै आफूलाई आन्तरिक रूपमा परिवर्तन गरी प्रेमपूर्ण बाँच्न चाहन्छन्।

अनुभव बाहिरको विषय वस्तुसँग सम्बन्धित हुन्छ भने ध्यान विषयवस्तुरहित चेतना हो। जतिबेला बुद्धिले हार खान्छ, मन थकित हुन्छ तब ध्यान घटित हुन्छ। बुद्धि र मन सँगै ध्यान हुन सक्दैन। ध्यान हाम्रो आन्तरिक स्वभाव हो जहाँ बुद्धि र मनले कुनै भूमिका खेल्न पाउँदैन। हामीसँग अझै मन र बुद्धिले तर्क गर्ने अवसर पाएको छ भने जान्नुपर्छ कि हामीलाई ध्यान लागेको छैन।

जसको अधिनमा बस्नुपर्छ त्यो हाम्रो स्वभाव होइन। जसको मालिक हुन सकिन्छ त्यो हाम्रो स्वभाव हो त्यसैले ध्यान हाम्रो स्वभाव हो। प्रायजसो मानिसको प्रश्न हुने गर्छ ध्यान कसरी गर्ने ? ध्यान गर्ने कुरा होइन। सबै भावदशा र मनका वृत्तिहरूबाट खाली भएको अवस्था ध्यानस्थ अवस्था हो। ध्यान कसरी गर्ने भन्ने प्रश्नको अलावा दिनमा कम्तिमा एक घण्टा केही नगरी कसरी बस्ने भन्ने जान्न खोज्यो भने सार्थक हुनेछ। हामी मानिस कर्मयोगी हौं २४ घण्टा समय केही न केही नगरी हामी बस्नै सक्दैनौं र बस्न हुँदैन पनि। तर २४ घण्टामध्ये एक घण्टा आफ्ना लागि छुट्ट्याएर केही नगरी बस्नु ध्यानमा उपलब्ध हुनु हो। केही नगर्नु, वि श्रामपूर्ण बस्नु र हाम्रो आन्तरिक ऊर्जालाई प्रस्फुटन हुन दिनु ध्यान हो। बाह्य ऊर्जाले व्यस्त बनाउँछ भने आन्तरिक ऊर्जाले मस्त बनाउँछ। बाहिरका कर्मले बाहिरी आनन्द प्रदान गर्छन् भने भित्री जागरणले भित्रबाट आनन्दित बनाउँछ। मानिस यस्तो प्राणी छ कि उसलाई बाहिरी संसारमै संघर्ष गर्न र रमाउन मन लाग्छ। आफ्नोभित्रको संसारमा प्रवेश गर्न सकिन्छ भन्ने हेक्का नै छैन। आफ्नो नाभी केन्द्रलाई हेरेका छौं हामीले यसको संवेदना कस्तो छ ? यसले कतातिर इंगित गरेको हुन्छ। आफ्नो तेस्रो नेत्रलाई हेर्ने कोसिस गरेका छौं हामीले ? बाहिर जे छ सपना छ, भित्र जे अनुभूति हुन्छ त्यही असली अनुभूति हो।

सुरुसुरुमा भित्र हेर्ने कला गाह्रो हुन्छ। अन्धकार, त्यहाँ पनि विचार चलिरहे जस्तो हुन्छ तर विस्तारै विस्तारै विचार पनि शून्य भएर एक गहन शान्तिको अवस्था सिर्जना हुन्छ, यही नै आन्तरिक स्वभाव हो। अन्तर्मुखी हुने कला हतारमा सम्भव छैन। यसको कुनै छोटो मार्ग पनि छैन। बरु यसलाई जति धैर्य भएर हेर्ने प्रयास गर्‍यो त्यति नै छिट्टो अन्तर हृदयमा डुब्ने कला प्राप्त हुन्छ। बाहिर बत्ती जलाएर मात्र प्रकाशको अनुभूति गर्न सकिन्छ भने भित्रको प्रकाश बिना स्रोत अनुभूति हुन्छ। त्यही स्रोत बिनाको प्रकाश हाम्रो स्वभाव हो। द्रष्टा र दृश्य विलिन भएर बाँकी रहेको प्रकाश आफ्नो स्वभाव हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.