अतिथि देवो भवः
दुनियाँ एउटा किताब हो। जो यात्रा गर्दैन, ऊ त्यो किताबको एउटा मात्र पाना पढेर बसिरहन्छ भन्ने कथन पश्चिमा संसारमा निकै लोकप्रिय छ। हो, प्रागैतिहासिक कालदेखि आचरण, प्रकृति, उत्सुकताका कारणले मानिस उत्कृष्ट प्राणी भयो। मानवशास्त्रीका निष्कर्षअनुसार एसिया, युरोप, अमेरिका र अफ्रिका महाद्वीपहरूमा मानवको उत्पत्ति करिब–करिब एउटै समयमा भएको छ। यी मानिस आफ्नो उत्सुकता र जीवनयापनका लागि घुमन्ते–फिरन्ते हुन थाले। विश्वका हरेक कुनामा पुग्न थाले र नयाँ–नयाँ आविष्कार गर्दै गए। सारा विश्वलाई मानिसको घर बनाए।
आदिम युगमा उत्सुकताले यात्रा गरायो, बाँच्नका लागि यात्रा गरायो। आधुनिक युगको इन्टरनेट र टेलिभिजनले पनि उत्सुकतालाई मार्न सकेको छैन। अहिले पनि यात्रापछाडिको कारण उत्सुकता हो; सोख हो; मनोरञ्जन हो र पुनर्ताजगी हो। यो नै त पर्यटन वा पर्यटक उद्योगको आधार हो।
विश्व पर्यटन इतिहास हेर्ने हो भने प्रथम पर्यटकका रूपमा स्पेनका फर्डिनान्ड मेगेलन विश्व भ्रमणमा सन् १५१९ मा निस्केका थिए। भ्रमणकै क्रममा सन् १९२२ मा उनको मृत्यु भएको थियो। नेपालको सन्र्दभमा कुरा गर्ने हो भने यकिन तथ्य नभए पनि छिमेकी भारतका केही सहरमा मोटरबाटो सन् १९५० पछि जोडिएपछि पश्चिमा पर्यटक आउन थाले। तर त्यसअघि पनि भारत र चीनबाट अनेक यात्रुले नेपाल घुमेका थिए। केही पश्चिमा पनि आएका थिए।
पर्यटन व्यवस्थापन एवं व्यापार करिब दुई हजार वर्षदेखि सुरु भएका तथ्य छन्। यो व्यवसाय प्राचीन रोमबाट सुरु भयो। अंग्रेजी शब्द होली र डे मिलेर होलिडे भयो। आफ्नो छुट्टी मनाउने क्रममा रोमनहरूले होली अर्थात् पवित्र तीर्थस्थलहरूमा गएर डे अर्थात् दिन बिताउँथे। यसैगरी मानिसहरू रात बिताउने गरी आफ्नो घरभन्दा टाढासम्म प्रायजसो समुद्री किनारामा छालसँग रमाउँदै बालुवामाथि सूर्यको तापसँग रमाउन थाले। यसरी युरोपमा मानिस विस्तारै पर्यटकका रूपमा घुम्न थालेपश्चात् व्यावसायिक रूपमा आंशिक काम गर्न थालेपछि यसलाई पूर्णरूपमा व्यवसायीकरण गरियो।
हामै दुई छिमेकी राष्ट्र चीन र भारतबाट पनि धेरै कुरा सिक्न सकिन्छ, जसबाट देशलाई आन्तरिक पर्यटन विकासमा सहयोग पुगोस्।
युरोपमै पर्यटन उद्योगले व्यवसायीकरण प्राप्त गरेपश्चात् सन् १९६० ताका व्यक्ति मात्र होइन, मुलुककै आर्थिक अवस्थामा कायापलट हुन थाल्यो। पर्यटक ठूलो समूहमा विश्का धेरै देशहरूबाट युरोपियन देशहरूमा अझ विशेषगरी स्पेनमा बढीभन्दा बढी जान थाले। व्यापकरूपमा पर्यटक स्पेन जान थाले र पर्यटकको रुचिलाई ध्यानमा राखेर विभिन्न किसिमका सुविधा, होटेलका साथसाथै पार्क, वि श्रामस्थल र मनोरञ्जनका लागि विभिन्न प्रकारका क्लब बन्न थाले र ठूलो आर्थिक लाभ हुन थाल्यो।
द्रूतगतिमा विकास भइरहेको पर्यटन उद्योग विश्वका धेरै देशहरूको आर्थिकको आर्जन क्षेत्र भइसकेको छ। सन् २००६ मा पर्यटकको गन्तव्यमा फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका परेको थियो, जहाँ १८ करोड ८७ लाख पर्यटकले यात्रा गरे र १७९.७ विलियन डलर खर्च गरेका थिए। अबको विश्व भनेको हिजोको जस्तो कोसँग बढी सैनिक र हतियार छ वा कुन देश बढी धनी छ वा कुन देश बढी विकसित छ भन्ने रहेन। खेलकुद क्षेत्रमा कुन देशले बढी पदक जित्यो भन्ने पनि रहेन। अहिलेको विश्व हेर्ने हो भने बढीभन्दा बढी पर्यटकले कुन देश भ्रमण गरे, विश्वमा कुन देशको पहिचान बढी छ त्यो प्रमुख हो। उदाहरणका लागि थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया र दक्षिण अफ्रिकालाई लिन सकिन्छ, जहाँ विश्वभरका मानिस एकपटक जान चाहन्छन्। के यी देश सबै सम्पन्न छन् त ?
पर्यटन क्षेत्रको कुरा गर्दा सृष्टिको अतुलनीय वरदानमा नेपाल पर्छ। वातावरण, भौगोलिक अवस्था प्रकृतिक सौन्दर्य मनन गरेर नेपाललाई स्वर्गको टुक्राका रूपमा व्याख्या गरेका अनगिन्ती पुस्तक भेटिन्छन्। जनताका छोराछोरीलाई शिक्षा दिइयो भने आफ्नो शासन सकिन्छ भन्ने राणाहरू जस्तै तीसबर्से निरंकुश निर्दलीय पञ्चायती व्यवस्थामा पर्यटक नेपाल भिœयाउनुको सट्टा यहाँका कलात्मक हजारौं मूर्र्तिहरू विदेश पुर्याई हाम्रा कला र संस्कृति हेर्न पर्यटकलाई उतै सजिलो बनाइदिएका थिए शासकहरूले।
वर्तमान विश्व प्रतिस्पर्धाको विश्व हो। बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली उखान नै छ। नेपालले पनि सन् २०२० लाई विदेशी पर्यटकहरू भिœययाउने पर्वका रूपमा आत्मसात गर्ने र नेपालको प्रमुख आयस्रोतका रूपमा जलविद्युत् र पर्यटनमध्ये पर्यटन प्रवद्र्धन गरी आम नेपालीको मुहार परिवर्तन गर्ने निर्णय जनताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले गरेकोे छ। यस महान् कार्यलाई सफल पार्न विश्वभरि रहेका आम नेपाली र सरकारी निकाय एवं सरकारका प्रतिनिधि लागेका छन्।
यहि सिलसिलामा अस्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्यहाँ भएको प्राकृतिक विनाशप्रति दुःख प्रकट गर्दै भमण वर्षको पनि प्रसार गरे। अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको अथक् प्रयासबाट अस्ट्रेलियन सरकारसँगको समन्वय एवं त्यहाँ बसोवास गर्ने नेपालीको पूर्ण साथ, सहायता र समर्थनमा प्रवद्र्धन कार्यक्रम अस्ट्रेलियन सरकारका उच्चस्तरीय प्रतिनिधिका माझमा सफल भएको थियो। धेरै समर्थकका कारण प्रदर्शनी स्थल ओपेरा हाउसमा व्यवस्थापन गर्दा केही समय अलमलसमेत हुन पुग्यो। यसै अवसरमा दुईपक्षीय हवाई सेवा सञ्चालन गर्ने सम्झौतासमेत भयो। यो भ्रमण वर्षका लागि भ्रमण वर्षको सुरुवातमै भएको महत्त्वपूर्ण उपलब्धि थियो। त्यसैगरी चीन र बेलायतमा पनि भ्रमण वर्ष २०२० सफल पार्न कार्यक्रम गरिए। क्रिकेट खेलका क्रममा खेलाडी सन्दिप लामिछानेले गरेको नौले प्रयासले पनि सबैको मन छोयो।
यसरी भ्रमण वर्ष २०२० सबैको सरोकारको विषय बनेको छ। त्यस्तै कुनै प्रवृत्ति पर्यटन वर्ष उद्घाटनदेखि अस्ट्रेलियाको कार्यक्रमसम्मको मनगढन्ते समाचार बनाई विरोध नगरेका पनि होइनन् तर त्यस्ता प्रवृत्तिलाई स्वाभाविक मान्दै ‘हात्ती चले सवार कुत्ता भुके हजार’ भन्ने उक्तिलाई चरितार्थ पार्दै भ्रमण वर्ष सफल पार्नुपर्ने हुन्छ।
भ्रमण वर्ष २०२० सफल पार्ने मात्र नभई यस वर्षको सफलताको छाप देशभित्र तथा विश्वभर एक प्रमुख पर्यटकीय गन्तव्य नेपाल हो भन्ने कुरा सदाका लागि हुन सक्छ। निरन्तर प्रचार–प्रसार, जसरी अस्ट्रेलियाका नेपाली राजदूत सक्रिय छन् त्यसैगरी विश्वभरिका हाम्रा राजदूतहरूको सक्रियता र हरेक पर्यटन क्षेत्रको प्याकेजसहितको निजी क्षेत्रको सहभागिता आवश्यकता छ। त्यसैगरी तयारी एवं आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा र सत्कार पुर्याउन सकिएमा प्रचार–प्रसारका माध्यम पर्यटक नै हुने हँुदा आगामी वर्षहरूका लागि पर्यटन वर्ष घोषणा नै गर्नु पर्दैन। एक वर्ष पर्यटन क्षेत्रबाट कमाएको पैसा सम्पूर्ण विदेशमा विभिन्न प्याकेजसहित पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसारमा खर्च गरी हेरांै, अर्को वर्ष नतिजा।
आफ्नै देशका स्थानीय परम्परा र संस्कृति संरक्षणमा प्रोत्साहन हुने खालका कार्यक्रमका प्याकेजको प्रचार–प्रसार गरी आन्तरिक पर्यटकलाई पनि भ्रमण वर्ष २०२० ले आकर्षण गर्न सक्नुपर्छ। विश्वका धेरै राष्ट्रहरूले बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकलाई नै विशेष प्राथमिकताका साथ पर्यटन क्षेत्रलाई व्यवसायीकरण गरेका छन्। हामै दुई छिमेकी राष्ट्र चीन र भारतबाट पनि धेरै कुरा सिक्न सकिन्छ, जसबाट देशलाई आन्तरिक पर्यटन विकासमा सहयोग पुगोस्।
भ्रमण वर्ष २०२० ले नेपालको आर्थिक क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने कुरामा विश्वस्त होऔं अनि साकार हुन्छ– अतिथि देवो भवः !