मन्दिर नै भाडामा

मन्दिर नै भाडामा

काठमाडौं : खुल्लामञ्चसँगै अस्थायी बसपार्क छ। उत्तरतर्फ छ रत्नपार्क। यी दुईबीचमा एक सानो मन्दिर छ। दुईमाजु अर्थात् तलेजु भवानीको शक्तिपीठ मानिने उक्त मन्दिरबारेमा कमैलाई थाहा छ। कारण मन्दिरभित्र लुगा कपडा पसलको लहर छ।

बसपार्क आवत जावत गर्ने कयौं यात्रु लुगा–जुत्ता किन्न मन्दिरभित्र प्रवेश गर्छन्। बदामको बोक्रा र चुरोटको ठुटा फाल्छन्। तान्त्रिक विधिबाट पूजा आरधना हुने उक्त मन्दिरको महत्व नत स्थानीय सरकारले नै बुझ्न सकेको छ न गुठीसंस्थानले नै संरक्षणमा ध्यान दिएको छ। मंसिर २ गते काठमाडौं जिल्ला अदालतले उक्त स्थानमा पसल राख्न नपाउने आदेश दिइसकेको छ।

तर अदालतको फैसलालाई कुल्चिँदै गुठीसंस्थानले निर्वाध पसल सञ्चालन गर्न व्यापारीलाई अनुमति दिएको हो। मन्दिर ढाँकेर बनाइएको अस्थायी संरचना अदालतको आदेशपछि पनि भत्काइएको छैन। काठमाडौं–२८ मा रहेको दुईमाजु गुठीको जग्गा गोरखाका भीमसेन गाउँपालिका—२ तान्द्राङकी अमृता भट्टराईलाई भाडामा पसल राख्न सम्झौता भएको थियो।

काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै धार्मिक स्थल कब्जामा परेको हो। गुठी संस्थानबाट भट्टराईले अनुमति लिएर अन्य व्यापारीलाई पसल सञ्चालन गर्न दिएकी हुन्। भट्टराइले व्यवसाय सञ्चालन गर्न संस्थानसँग ५ वर्षका लागि मन्दिर क्षेत्र भाडामा लिएकी थिइन्।

माघ १ गते मकर संक्रान्तिका दिन यस शक्तिपीठमा विशेष पूजा हुन्छ। २ गते पनि पूजाले निरन्तरता पाउँछ। मुख्यतयाः चैत्र मसान्तमा भव्य पूजा हुन्छ। देवीदेवताको खट जुधाएर स्थानीयले उल्लास मनाउँछन्। मन्दिरका मुल पूजारी उद्धव कर्माचार्यका अनुसार दुईमाजु तलेजु भवानीको पूर्णरुप हो। ‘खुल्लामञ्चसँगै रहेको उक्त शक्तिपीठलाई अन्नपूर्ण अर्थात् अन्नकी देवी मानिन्छ,’ कर्माचार्यले भने, ‘सांस्कृतिक र धार्मिक मर्म नै मारेर पसल सञ्चालन हुँदा हामी मर्कामा परेका छौं।’

०४५ सालसम्म नित्य पूजाआरधना हुँदै आएको उक्त मन्दिरमा विकास निर्माणको प्रभावसँगै पारम्पारिक विधिविधान सहितको आरधना वर्षको दुई पटकमात्र हुन थालेको छ। कर्माचार्य भन्छन्, ‘कुनै पनि देवीदेवतालाई वर्षको एकपटक जगाउनै पर्ने परम्परा छ। त्यसैले जात्रा निकालेर पूजाआरधना हुन्छ।’

मल्लकालमा आर्चायहरू यस शक्तिपीठको पूजा गर्थे। पछि तिनै आचार्य कर्माचार्यमा परिणत भए। चौधौं शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले तलेजु भवानीलाई उपत्यका प्रवेश गराएको इतिहासकार योगेन्द्रमान श्रेष्ठ बताउँछन्। तलेजु भवानी मल्ल राजाहरूको इष्टदेवी हुन्। ‘कर्नाटवंशी राजा हरिहरसिंह देवले सिम्रौनगढमा मुसलमानको आक्रमणबाट बच्न देवीसहित काठमाडौं उपत्यका प्रवेश गरेका हुन्,’ श्रेष्ठले बताए।

उपत्यकाका नेवार समुदायले भैरव, आजु र अजिमा(कुमारी) मुख्य देवीदेवताको रूपमा मान्ने गर्छन्। तलेजु अर्थात् कुमारी शक्तिको केन्द्र भएकीले भक्तपुरलगायत काठमाडौं, किर्तिपुरका विभिन्न स्थानमा प्रतिस्थापन गरिएको छ। ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वसँग जोडिएको दुईमाजुको अस्तित्व बचाउन पूजारी, स्थानीय तथा सम्पदा अभियान्ताहरू मन्दिर प्रांगणबाट अनाधिकृत भाडाको पसल हटाउन संघर्सरत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.