नदी र खोला दोहन अनियन्त्रित

नदी र खोला दोहन अनियन्त्रित

हेटौंडा/धादिङ : अवैध क्रसर उद्योगले धादिङका नदी तथा खोलामा अवैध दोहन गरिरहेका छन्। नियमतः प्राकृतिक स्रोतको अवैध दोहन गर्नेगरी खोला तथा नदीमा डोजर लगाएर बालुवा, रोडा, ढुंगा निकाल्न पाइँदैन। तर, धादिङको त्रिशूली नदी, मलेखु खोला र दरियाँल खोलामा बालुवा तस्कर र क्रसर व्यवसायीले खोला दोहन गरी नदीको धार नै परिवर्तन गरेका छन्। कतिपय ठाउँमा खोला नै भासिएको छ।

खोलामा पाइने जलचरप्राणीको नामोनिशाना भेटिँदैन भने ५ देखि १० मिटरसम्म्मको गहिराइमा खोला भासिइसकेको छ। खोलाछेउमै र बगरमै क्रसर उद्योग सञ्चालन गरेका ती उद्योगले प्रशासनको आँखा छलेर रातसाँझको समयमा जथाभावी डोजर प्रयोग गरी अवैध उत्खनन गरिरहेका छन्।

दरियाँल खोलाबाट बाँध बाँधेर पुस्तौंदेखि खेतमा सिँचाइ गर्दै आएका स्थानीय विष्णुप्रसाद रेग्मीले भने, ‘हामीले नियमित पानी लाउने बाँधको नामोनिशाना छैन, खोला गहिरो भएको छ, गएको सिजन मैले खेत रोप्नै पाइनँ। बालुवा निकाल्नेको विरोध गरौं भने डोजरले पेलिदिउँलाझैं गर्छन्।’ नियमतः क्रसर उद्योग दर्ता गर्नका लागि उद्योग स्थापना गर्नुपूर्व नियम मिचे-नमिचेको हेरेर स्थानीय सरकारले सिफासिर गर्न पाउँछ। तर, स्थानीय तहले आफ्नो क्षेत्राधिकारबाहिर गएर क्रसर उद्योग नै दर्ता गरिदिएका छन्।

एक साताअघि मलेखु खोलाको स्थलगत अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अटेर गरे कडा कारबाही गर्न उपकरण जफत गरिने बताए।

प्रत्येक घरमा टिपर र ट्र्याक्टर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बजार आसपासका प्रायः घरअगाडि टिपर र ट्र्याक्टरको लाइन देखिन्छ।

जिल्लाभित्र ट्र्याक्टर र टिपरको सदरमुकाम भनेर पनि चिनिने मनहरीमा बढ्दो नदी दोहनले मनहरी बजार, आसपासका गाउँ र खेतीयोग्य जमिन कटान बढ्दो छ। गिट्टी बालुवा निकाल्न बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर ३ वर्षयता मात्र ६ जनाको ज्यान गइसकेको इलाका प्रहरी कार्यालय मनहरीको तथ्यांक छ।

चालु आवमा भने १४ करोड ३१ लाख रुपैयाँमा गिट्टी बालुवा उत्खनन र बिक्रीबापतको ठेक्का लागे पनि उत्खननको काम सुरु भएको छैन। तर, यहाँ लुकिछिपी उत्खनन भने वर्षभर जारी रहने मनहरी–७ का स्थानीय जगत लामाले बताए। ‘कसले कसको विरोध गर्ने, समाज नै चोरीमा लागेपछि एक-दुई जनाले भनेर केही नहुने रहेछ’, उनले दुखेसो पोखे।

मनहरीमा रहेको एक दर्जन अवैध क्रसर तथा स्थानीयसँग मात्र करिब ४ सय वटा ट्र्याक्टर र डेढ सयभन्दा बढी टिपर रहेको ट्र्याक्टर व्यवसायी संघ पश्चिमी क्षेत्रको अनुमान छ। यहाँ हुने अवैध उत्खननप्रति स्थानीय जनप्रतिनिधि र प्रशासन पनि मुकदर्शक बन्न बाध्य छन्। ‘यहाँ १० वटा ट्र्याक्टर र टिपर समायो भने दुई सय वटा गाडी राजमार्गमा राखेर जाम गर्छन्’, इलाका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘हामीले देखेर पनि कतिपय समयमा नदेखेझैं गरी बस्नुपर्छ।’

तर, यो समस्या पहिलाको भन्दा कम हुँदै गएको मनहरी गाउँपालिका–७ का वडाध्यक्ष ठाकुर तितुङको दाबी छ। ‘खेतमा पानी लैजान बनाएको कुलो र खोला उत्खनन हुन्थ्यो, आजभोलि भने अलि कम भएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.