मुहान सुक्दा दूषित पानी पिउन बाध्य
बैतडी : हमरा समस्या भन्नौं, जनमाण्या रीस।
मुखइनी महाकाली बग्दी, हम पानीकी तीस।।
बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका पशुपति बुडालले देउडामा भनिन्, ‘आँखाअगाडि महाकाली बग्छ तर हामीलाई पानीको तिर्खा छ।’ उनको गाउँमा खानेपानीको समस्या हुँदा स्थानीयलाई सकस भएको छ।
गाउँमा आउने खानेपानीको मुहान सुकेपछि अहिले नदीकै दूषित पानी प्रयोग गर्न बाध्य भएको उनले बताइन्। भनिन्, ‘गाउँमा तीन वर्षअगाडिसम्म पानी आउँथ्यो। पछिल्ला वर्षमा हिउँद लाग्नेबित्तिकै सुख्खायामभरि पानीको मुहान सुक्छ। गाउँमा खानेपानीको हाहाकार भएको छ।’
गाउँभन्दा ५ किमि टाढाको बडीपातल मुहानबाट खानेपानी आउने भएपनि पछिल्लो दुई वर्ष यता सुख्खायाममा मुहान सुक्ने गरेको स्थानीय शान्ति बुडालले बताइन्। उनले भनिन् ‘हामी सदरमुकाम नजिकका मानिसलाई खानेपानीकै चिन्ता छ। महाकाली नदीकै पानी प्रयोग गर्छौं।’
हिउँदमा मुहान सुकेर गाउँमा खानेपानी पुग्दैन भने वर्षातको समयमा ठाउँ–ठाउँमा भत्किएर खानेपानी पुग्दैन। ‘हाम्रो गाउँमा बाह्रैमहिना खानेपानीको समस्या छ। वर्षातको भेल होस् वा हिउँद हामीले महाकालीकै पानी प्रयोग गर्नुपर्ने बाध्यता छ’, स्थानीय धनसिंह बुडालले भने, ‘खानेपानी समस्या समाधानका लागि कसैले सहयोग गरेन। चुनावका बेला सबैले गाउँमा खानेपानीको व्यवस्था गर्छौं भन्छन् तर फर्केर हेर्दैनन्।’
गाउँमा खानेपानीको समस्याले आफूहरूले गाउँ छाड्नुपर्ने स्थिति आएको स्थानीयले बताए। कतिपयले गाउँबाट बसाइँ सराइ गरिसकेको स्थानीय करन बुडालले बताए। उनले भने, ‘हामी सीमा नजिकका मान्छे। पारिपट्टि भारतीय गाउँमा सबै सुविधा छ तर हाम्रो गाउँमा केही पनि छैन। त्यसैले आयस्रोत भएकाहरू बसाइँ सरेका छन्।’
महाकालीको पानीमा अम्लीयपना
दशरथचन्द नगरपालिकाको तिरखडेनी बासिन्दाले प्रयोग गर्दै आएको महाकाली नदीको पानी अम्लीयपना रहेको पाइएको छ। अम्लीयपना भएको पानी प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन।
रुडेस नामक संस्थाले स्थानीयले प्रयोग गर्दै आएको पानी परीक्षण गर्दा अम्लीयपना देखिएको हो। ‘हामीले सीमा क्षेत्रका बासिन्दाको खानेपानीको अवस्थाका विषयमा जाँच गर्दा उनीहरूले प्रयोग गर्ने पानीमा अम्लीयपना देखिएको छ’, रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले भने। ‘पानीको धमिलोपना मापन गर्दा ७ पिएच आए पानी पिउनयोग्य हुन्छ। ७ पिएचभन्दा माथि आए क्षारीयपना र ७ पिएचभन्दा कम आए अम्लीयपना हुन्छ। तर, त्यस गाउँमा ४ पिएच पाइयो। यस्तो पानी प्रयोग गर्नु स्वास्थ्यका लागि खतरा हुन्छ।’
रुडेसका कार्यक्रम संयोजक तेजराम लोहारले महाकाली नदीको २–३ ठाउँमा पानीको गुणस्तर मापन गरिसकेको बताए। ‘स्थानीयले प्रयोग गर्ने पानी दूषित छ। यस विषयमा हामीले नगरपालिकालाई समेत जानकारी गराउँछौं।’
जमिनमा प्रयोग गरिने रासायनिक मल बगेर नदीमा पुग्दा नदीको पानी दूषित हुँदै गएको जोशीले बताए। ढलहरू नदीमा मिसाउँदा पनि पानी दूषित भएको उनको भनाइ छ। अम्लीयपना तथा क्षारीयपना देखिएका ठाउँमा खानेपानीको वैकल्पिक व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरिएको जोशीले बताए।