बाघ बखान
बाघ फेलिडी परिवारको प्यान्थरा वर्गअन्तर्गत पर्छ। यो ठूलो बिरालो समूहको सबैभन्दा ठूलो र शक्तिशाली जंगली जनावर हो। बाघ अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशमा पाइन्छ। करिब ३.३ मिटर लामो शरीर, तीन सय किलोग्राम तौल र चार इन्चसम्म लामा तिखा दाँत हुन्छन्। बाघ एक भयानक हिंस्रक मांशाहारी जनावर हो।
बाघको छाला आकर्षक हुने हुनाले सजावटका लागि घरमा पनि राख्ने चलन छ। अहिले विश्वमा बंगाली बाघ सबैभन्दा बढी संख्यामा पाइन्छन् भने सबैभन्दा ठूलो आकारमा पाइने बाघ साइबेरियन बाघ हो। जंगली अवस्थामा रहेका बाघहरू १० देखि १५ वर्षसम्म बाँच्छन्। त्यस्तै घरमा थुनेर राखिएका बाघहरू २० वर्षसम्म बाँच्ने गर्छन्। यो जनावर साइबेरियाको चिसो वातावरणदेखि खुला घाँसेमैदान र उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छ।
नेपालमा पाँच सय ३५ वटा बाघ छन्। सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छन्। विश्वमा सबैभन्दा बढी बाघ भारतमा पाइन्छ। नेपालमा बाघ घरेलु जनावरको रूपमा पाल्न पाइँदैन। बाघको छाला महँगोमा बिक्ने हुनाले बाघ खतरामा परेका छन्। सदर चिडियाखानामा रहेका बाघलाई हेर्न दैनिक धेरै सर्वसाधारण त्यहाँ पुग्ने गरेका छन्। त्यहाँ पुगेर बाघलाई खाना खुवाउनाले ग्रह दशा कट्छ भन्ने जनविश्वास रही आएको छ।
बाघ साधारणतया एक्लै बस्न रुचाउने जनावर हो। पृथ्वीमा पाइने जनावरमध्ये बाघ प्रसिद्ध र परिचित जंगली जनावर हो। प्राचीन धर्मग्रन्ध र लोककथामा बाघको प्रसंग प्रशस्तै पाइन्छ। धेरै देशका झन्डाहरूमा, राष्ट्रिय चिह्न र खेलकुदका मस्कटमा बाघ राष्ट्रिय जनावरको रूपमा परिचित छन्। यिनीहरूका गाढा सुन्तला रङको रौंमा काला पट्टीहरू हुन्छन्। यिनीहरूको आँखा नीलो वा हरियो हुन्छन्।
अहिले बाघका ६ प्रजातिहरू पाइन्छन्। ती हुन्:
बंगाली बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस हो। यो मूलतः भारत र बंगलादेशमा पाइन्छ। यी बाघहरू उष्ण तथा समशीतोष्ण सदाबहार जंगलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमि आसपासका पतझर वन, सुक्खा झाडी र ओसिला दलदलमा समेत बाघले आफ्नो बासस्थान बनाएको पाइन्छ।
इन्डोचिनियाँ बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस कर्बेटी हो। यी बाघहरू कम्बोडिया, चीन, लाओस, म्यानमार, थाइल्यान्ड र भियतनाममा पाइन्छन्। बाघहरू जंगली बाघभन्दा केही साना र गाढा रङका हुन्छन्।
मलेसियन बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस ज्याकसोनी हो। यी बाघहरू माले प्रायद्धिपको दक्षिणी भूभागमा पाइन्छन्। भर्खरैको गणना अनुसार ६ सय देखि आठ सयको संख्यामा अस्तित्वमा रहेका छन्।
सुमात्रा बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस सुमात्राई हो। इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छन्। हालसम्म अस्तित्वमा रहेका बाघमध्ये सबैभन्दा साना बाघहरू हुन्। यी बाघहरू अत्यन्तै लोप हुने अवस्थामा छन्।
साइबेरियन बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस अल्टाइका हो। यो बाघ पृथ्वीको सबैभन्दा उत्तरी क्षेत्रमा पाइन्छ। पृथ्वीमा पाइने बाघहरूमध्ये सबैभन्दा ठूलो आकारमा पाइन्छन्।
दक्षिण चिनियाँ बाघ: यसको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस एमोइन्सिस हो। अत्यधिक खतरामा रहेका १० जनावरको सूचीका यो बाघलाई सूचीकृत गरिएको छ।