के-के भएका थिए इतिहासमा यो साता ?

के-के भएका थिए इतिहासमा यो साता ?

जनवरी १६

सन् १९१४ को जनवरी १६ मा रुसी साहित्यकार म्याक्सिम गोर्की प्रवासबाट आफ्नो मुलुक फिर्ता भए। रुसी जारले उनलाई आममाफी दिएको घोषणा गरेपछि उनी रुस फर्किएका थिए। रुस फर्किनुअघि उनी इटालीमा थिए। गोर्की निकै अघिदेखि रुसको राजशाहीविरुद्ध हुने गतिविधिमा सरिक रहँदै आएका थिए। यस क्रममा उनी पटक–पटक पक्राउ पनि परेका थिए। यस्तोमा सन् १९०६ मा उनी गैरकानुनी ढंगले रुस छोडेर अमेरिकातिर लागे। रुसमा जारशाहीविरुद्ध गरिने क्रान्तिकारी क्रियाकलापका निम्ति चन्दा संकलन गर्न उनी अमेरिका पुगेका थिए। त्यसै क्रममा उनले आफ्नो प्रसिद्ध उपन्यास ‘आमा’ लेखे। उपन्यासले उनलाई चर्चित बनायो। तर, रुसको जारशाहीको आँखामा उनी कसिंगर बन्न पुगे। उनलाई राजद्रोही करार गरियो। अन्ततः उनलाई आममाफी दिने घोषणा भएपछि उनी रुस फर्किए।

जनवरी १७

सन् १९४१ मा चीनमा पुनः गृहयुद्ध सुरु भयो। त्यतिबेला चीनको वैधानिक सरकारको नेतृत्व चाङ काई सेकले गरेका थिए। उनको सरकारलाई पश्चिमी मुलुकको समर्थनसमेत प्राप्त थियो। जनताको ठूलो हिस्सा चाहिँ चीनका कम्युनिस्टहरूको पक्षमा थियो। चिनियाँ नेता माओत्से तुङ नेतृत्वको कम्युनिस्ट समूहले औपनिवेशिक दासत्वबाट चीनलाई मुक्त गर्ने र चीनमा जनवादी क्रान्ति गर्ने दोहोरो उद्देश्य लिएको थियो। अन्ततः कम्युनिस्टहरूकै पल्ला भारी हुने भएपछि सरकारी फौजले सन् १९४१ को जनवरी १७ मा कम्युनिस्टविरुद्ध गोली प्रहार गर्‍यो। त्यतिबेला दोस्रो विश्वयुद्ध जारी थियो र चीनका विभिन्न भू–भागमाथि जापानले कब्जा जमाएको थियो। जनतालाई साथमा लिएर औपनिवेशिक शक्तिको प्रतिरोध गर्नुको सट्टा चाङ काई सेकले उल्टै स्वाधीनताको पक्षमा रहेका जनतामाथि गोली बर्साउने आदेश दिएका थिए। 

जनवरी १८

कुनै समय युरोपमा समुद्री डाँकाहरू राज्यभन्दा शक्तिशाली हुने गर्थे। त्यस्तै एक जना कुख्यात डाँका हेनरी मोर्गनले सन् १६७१ को जनवरी १८ मा स्पेनको नियन्त्रणमा रहेको पनामा शहर कब्जामा लिएका थिए। जमैकास्थित बन्दरगाहमा उनको सैन्य आधार थियो। त्यहीँबाट उनले पनामामा अन्य डाँकाहरूको सहयोग लिएर भीषण हमला गरेका थिए। त्यहाँ रहेका स्पेनी सैनिकहरूलाई लखेट्न उनी सफल भए। त्यसपछि शहरमा लुट मच्चाए। बेलायत र स्पेनबीचको कूटनीतिक सम्बन्ध बिग्रिएपछि बेलायतले उनलाई पनामा शहरमा हमला गर्न ‘ग्रिन सिग्नल’ दिएको थियो। त्यसकै आधारमा उनले पनामास्थित स्पेन उपनिवेशविरुद्ध धावा बोलेका थिए। त्यसपछि पनामा बेलायतको अधीनमा गएको थियो। स्पेनबाट खोसेर पनामा आफूहरूलाई सुम्पिएकोमा बेलायतले उनलाई सम्मान गरेको थियो। 

जनवरी १९

सन् १७८५ को जनवरी १९ मा आयरल्यान्डमा पहिलो पटक मानववाहक बेलुनले उडान भरेको थियो। त्यसअघि युरोपका अन्य भागमा मालवाहक तथा मानवबाहक बेलुनले उडान भरिसकेका थिए। त्यस दिन आयरल्यान्डमा विभिन्न मानववाहक तथा मानवरहित हाइड्रोजन बेलुनहरूले उडान भरेका थिए। तीमध्ये एउटा बेलुन हावामै पड्कियो। बेलुन पड्किँदा निस्किएको आगोले आयरल्यान्डको टुलामोर शहरमा आगलागी भयो। आगलागीमा परी एक सय जति घर जलेर खरानी भए। दुर्घटनाका कारण बेलुनमा हुने कमजोरीबारे इन्जिनियरहरू जानकार भए। उनीहरूले त्यस्ता कमजोरी हटाउने प्रयास गरे। त्यसपछिका दिनमा बेलुन उडान विश्वस्त किसिमको हुन थाल्यो। सैन्य तथा गैरसैन्य दुवै प्रयोजनमा यसको प्रयोग बढ्न थाल्यो। 

जनवरी २०

सन् १६६७ को जनवरी २० मा युद्धरत पोल्यान्ड र रुसबीच सन्धि भएको थियो। रुसको एन्ड्रुसोभो भन्ने ठाउँमा उक्त सन्धिमा हस्ताक्षर भएपछि रुस र पोल्यान्डबीच १३ वर्ष लामो युद्ध अन्त्य भएको थियो। खास गरी, युक्रेनको भू–भागलाई लिएर रुस र पोल्यान्डबीच युद्ध भएको थियो। युद्धअघि सम्पूर्ण युक्रेनमा रुसले नियन्त्रण जमाएको थियो। सन्धिपछि युक्रेनलाई विभाजित गरियो। केही भाग पोल्यान्डमा गाभियो। यसमा पोल्यान्डले चित्त बुझायो र दुई देशबीच शान्ति स्थापना भयो। तर, पनि पोल्यान्ड र रुसबीच सीमासम्बन्धी विवाद बेलाबेलामा उठी नै रहे। यो क्रम सयौँ वर्षपछि भएको दोस्रो विश्वयुद्धको समाप्तिपछि पनि जारी रह्यो। 

जनवरी २१

सन् १७९३ को जनवरी २१ मा फ्रान्सका राजा लुई सोह्रौँलाई मृत्युदण्ड दिइएको थियो। देश र जनताविरुद्ध गद्दारी गरेको आरोपमा उनलाई धारिलो हतियारले काटेर मृत्युदण्ड दिइएको थियो। फ्रान्समा राज्यक्रान्ति हुँदा लुई सोह्रौँ राजा थिए। महामारी फैलिएपछि त्यहाँ क्रान्ति उठेको थियो। क्रान्ति दमन गर्ने र जनतालाई हक–अधिकारबाट वञ्चित राख्ने काम गरेको आरोप उनीमाथि लगाइएको थियो। जनताको बृहत्तर हितको वास्तै नगरी आफ्नो दुनो मात्र सोझ्याएको आरोप पनि लगाइएको थियो। क्रान्तिकै क्रममा क्रान्तिकारीहरूले उनलाई पक्राउ गरे। क्रान्तिकारीको सरकारले उनलाई कठघरामा उभ्यायो। अन्त्यमा उनलाई दोषी करार गरियो र मृत्युदण्ड दियो। त्यसपछि फ्रान्समा गणतन्त्र आएको घोषणा गरियो। 

जनवरी २२

सन् १९३१ को जनवरी २२ मा अस्ट्रेलियामा आइज्याक आइज्याक्सलाई बेलायतले गभर्नर नियुक्त गर्‍यो। त्यतिबेला गभर्नरले बेलायतका तर्फबाट अस्ट्रेलियाका सबै मामिला सम्हाल्ने गथ्र्यो। गभर्नर बेलायतका तर्फबाट अस्ट्रेलियाको प्रमुख शासक हुन्थ्यो। त्यसअघि बेलायतमै जन्मिएका मानिसलाई मात्रै अस्ट्रेलियामा गभर्नर बनाउने गरिन्थ्यो। तर, आइज्याक्स अस्ट्रेलियामै जन्मिएका थिए। यद्यपि, उनी अस्ट्रेलियाका रैथाने चाहिँ थिएनन्। बेलायती सैनिकले अस्ट्रेलिया पत्ता लगाएपछि बेलायतले त्यहाँ कब्जा जमाएको थियो। यस क्रममा त्यहाँका लाखौँ आदिवासीको कत्लेआम गरिएको थियो। बेलायतबाट जघन्य अपराध गर्नेलाई लगेर अस्ट्रेलियामा राखिन्थ्यो। त्यसैले गभर्नर चाहिँ बेलायतमै जन्मिएकालाई मात्रै दिइन्थ्यो। आइज्याक्स गभर्नर बनेपछि यस्तो चलन अन्त्य भयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.