हिमपात र वर्षाले उडान प्रभावित
डोल्पा : माघ महिना लागेसँगै निरन्तरको हिमपात र वर्षाले डोल्पाको जनजीवन प्रभावित भएको छ। बुधबार बिहानदेखिको निरन्तरको वर्षा र हिमपातले जनजीवन कष्टकर भएको हो।
माघ २ गते बिहान ५ बजेदेखि भएको हिमपात बिहीबार साँझसम्म पनि रोकिएको छैन। डोल्पाको माथिल्लो डोल्पा सबैभन्दा धेरै हिमपातले जनजीवन कष्टकर बनेको हो।
करिब ४८ घण्टा भन्दा धेरै परेको निरन्तरको हिउँले डोल्पा पुरै छोपिएको छ। तल्लो डोल्पाको दुनै र त्रिपूराकोट बजार क्षेत्र बाहेक अन्य सबै क्षेत्र हिमपातले ढाकेकोले छ।
यहाँको तापक्रम माइनस १० सम्म पुगेको छ। अघिल्लो पटकसम्म हिउँ नजमेको माथिल्लो डोल्पामा यस पटक भने दुई फिटसम्म जमेको स्थानीयले बताएको स्थानीय आङबहादुर लामाले जानकारी दिए।
हिमपात र वर्षाले वन क्षेत्र ढाकेपछि पशु गोठमा थुनिएका छन् । अझै केही दिन हिमपात भए कृषकका वस्तुसमेत भोकभोकै हुने चन्द्रबहादुर थापाले चिन्ता व्यक्त गरे।
हिमपातकै कारण डोल्पाको जुफाल विमानस्थलसमेत दुई दिनदेखि बन्द अवस्थामा छ। मौसममा आएको खराबीका कारण जहाजले उडान नभर्दा यात्रु मर्कामा परेको जुफाल विमानस्थल कार्यालय जानकारी दिएको छ।
विद्युत सेवासमेत बुधाबार रातिदेखि अवरुद्ध छ। विद्युत, फोन र इन्टरनेट नहुँदा डोल्पामा रहेका बैंकको सेवा ठप्प छ।