कर लगाउनेलाई कुनै  किताब सिफारिस गर्दिनँ

कर लगाउनेलाई कुनै  किताब सिफारिस गर्दिनँ

‘‘द वायर’ अनलाइन पत्रिका र रट्लेज बुक्समा सम्पादकीय टीममा रहेर काम गरेका दिनेश काफ्ले हाल नयाँ दिल्लीमा बस्छन् । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेका काफ्ले ‘द काठमान्डु पोस्ट’मा स्तम्भ लेख्छन्। उनी सिर्जनात्मक-आलोचनात्मक लेखन त गर्छन् नै, तर उनको मूल पहिचान बनेको छ- अनुवादकको। बेन्यामिनको ‘गोट डेज’ उपन्यासलाई ‘खबुज’ नाममा नेपाली रूपान्तरण गरेका काफ्ले नेपाल आएका बेला उनको फुर्सदमा फुर्सदका पाठकका लागि गरिएको फुर्सद-वार्ता :

कत्तिको फुर्सदमा हुनुहुन्छ ?

 कामको चापाचाप छ । तर १०-५ को नोकरी नभएकाले चाहिएको बेला फुर्सद निस्कन्छ ।

चापाचाप भन्नुभयो, के-केमा व्यस्त हुनुहुन्छ र ?

 अनुवाद, सम्पादन, स्तम्भलेखन, यस्तै-यस्तै ।

फुर्सदमा के गर्नुहुन्छ नि ?

 नेटफ्लिक्स र अमेजन प्राइममा ‘क्राइम सिरिज’ र

‘स्ट्यान्ड अप कमेडी’ हेर्छु । युट्युबमा नयाँ नयाँ रेसिपी हेर्दै खाना पकाउन सिक्छु । फुर्सदमा किताब भने पढ्दिनँ । किनभने, कामकै सिलसिलामा राम्रा-नराम्रा किताब पढ्दा पढ्दै आजित भइसकेको हुन्छु ।

पछिल्लो पटक कुन किताब पढ्नुभयो ?

 नयनतारा सेघलको उपन्यासिका ‘द फेट अफ द बटरफ्लाइज’ पढेँ ।

मन पर्‍यो ?

 परेन ।

किन त ?

 सुस्त कथानक र कमजोर पात्र निर्माण । वर्तमान भारतमा भइरहेका हत्या, हिंसा, बलात्कार, धार्मिक द्वन्द्व आदिमा आधारित कथावस्तु समसामयिक त छ, तर यी कुरा समाचारमै पढिराखिएको छ । समाचारमा पनि त्यही कुरा, उपन्यासमा पनि त्यही कुरा कसरी पढ्नु ? आजको समयको सही औपन्यासिक चित्रण अबको दश वर्षपछि मात्र आउला, जब यो समयतर्फ फर्की हेरेर ‘पूरा कथा’ भन्न सकिएला । पत्रकारिताको भाषामा ‘डेवलपिङ स्टोरी’ भनिने तात्तातो विषयमाथि लेखिएको उपन्यास अपूरो जस्तो लाग्यो ।

समय खेर फाले जस्तो लाग्यो ?

 लागेन । मन पर्ने किसिमका किताब मात्र पढिन्छ भन्ने होइन ।

तपाईंको सिरानीमा किताब ?

 हिन्दी÷उर्दू कविता सङ्ग्रह छन् । मलाई बेला-बेला मुक्तिबोधको ‘चाँद का मुँह टेढा है’ र फैजको ‘और भी दुख है जमाने में मोहब्बत के सिवा’ कविता पढिराख्नु पर्छ ।

हातमा भएको किताब ?

जेम्स वुडको ‘द फन स्टफ एन्ड अदर एसेज’ । पुस्तक समीक्षा र व्यक्तिचित्रहरूको सँगालो हो । वुडका समीक्षाहरू ‘द न्यु योर्कर’मा पढिरहेकै हुन्छु, तर यसमा अलि पुराना र अन्तै प्रकाशित प्रबन्धहरू पनि संकलित रहेछन् ।

थाती राखेको किताब ?

 पढ्दापढ्दै यत्तिकै छोडेका किताब धेरै छन् । कतिपय उपन्यासका अन्तिम दस-बीस पन्ना नपढी छाडिदिन्छु ताकि कथानक अपूरै रहिरहोस् । सलमान रुस्दीको ‘मिडनाइटस चिल्ड्रेन’ र अरुन्धती रोयको ‘द गड अफ स्मल थिङ्स’ यसरी नै थाती राखेको छु ।

धेरै पल्ट पढेको किताब ?

 ‘शिरीषको फूल’ । पुरानो प्रेम पत्रजस्तै छ यो किताब- जति पटक पढे पनि नयाँ-नयाँ अर्थ खुल्दै जाने ।

पहिलो (बच्चाको) किताब ?

 बच्चामा त गुच्चा मात्र खेलियो नि ! रामायण र महाभारतका कथा भने बुवाबाट सानैमा सुनेँ । कक्षा ६ मा हुँदा विद्यालयको पुस्तकालयबाट अर्नेस्ट हेमिङेको ‘द ओल्ड म्यान एन्ड द सी’ लगेर पढेको थिएँ, केही बुझेको भए मरिजाऊँ । पाठ्यक्रम बाहिरको किताब ध्यान दिएर, बुझेर पढ्न थालेको त क्याम्पस गएपछि मात्र हो ।

धेरैपल्ट उपहार दिएको किताब ?

 तखतामा बुद्धिसागरको ‘कर्नाली ब्लुज’का छ-सात प्रति थिए । एउटै किताबको धेरै प्रति देखेपछि साथीभाइले एक-एक प्रति उठाएर ‘तपाईंको तर्फबाट उपहार भयो है’ भन्दै लगे ।

 त्यही मेसोमा लेखकको हस्ताक्षरसहितको प्रति कुन चाहिँले लगेछ, लगेछ ।

धेरैपल्ट उपहार पाएको किताब ?

 दोहोर्‍याएर किताब उपहार खासै पाएको छैन । हामीकहाँ किताब उपहार दिने उस्तो चलन नै कहाँ छ र ! कसैकसैले चाहिँ समीक्षाका लागि एउटै किताब बारम्बार पठाइरहन्छन् ।

पढ्न मन लागेर नपाएको किताब ?

 एडवर्ड सइदको ‘ह्युमनिज्म एन्ड डेमोक्र्याटिक क्रिटिसिज्म’ केही समयदेखि पढ्न खोजिरहेको छु । खोजेको बेला पुस्तकालयमा भेटिँदैन, आफैँ किन्नलाई गच्छेले भ्याएको छैन ।

पुस्तक प्रायः कहाँ किन्नुहुन्छ ?

 पहिले-पहिले दिल्लीको दरियागंजमा आइतबारे हाटमा पाँच भारुमा डिटेक्टिव क्राइम उपन्यास र दस भारुमा क्लासिक उपन्यास किन्थें । अहिले सुरक्षा र ट्राफिक जामको हवाला दिएर त्यो बजार अन्तै सारिएको छ । पायक नपर्ने हुनाले म त्यता गएको छैन । दिल्लीका कतिपय पुराना किताब पसल पनि बजारको प्रकृति फेरिएसँगै बन्द भएसके । अहिले किताब अमेजन डट कमबाट मगाउँछु ।

कुन समय धेरै किताब पढ्नुभयो ?

 विश्वविद्यालयमा छँदा धेरै किताब सर्सर्ती पाना पल्टाउँदै ‘कर्सरी रिडिङ’ गरें । हिजोआज आफ्नो रुचिको किताब अलि गहन रूपले दोहोर्‍याई-तेहर्‍याई पढ्छु । बुझाइका हिसाबले आजभोलिको पढाइ कम भए पनि धेरै मान्नुपर्ला ।

मन परेको पुस्तकालय ?

 जेएनयूको केन्द्रीय पुस्तकालय आफ्नो घर जस्तै प्रिय लाग्छ । त्यो पुस्तकालय चौबिसै घण्टा खुल्छ । त्यहाँ विद्यार्थीहरू रात-बिरात पढिरहेका, चिया पिइरहेका, सैद्धान्तिक बहसमा भिडिरहेका, प्रेमिल गफ गरिरहेका भेटिन्छन् । त्यस पुस्तकालयको एक फरक ‘लय’ छ । विश्वविद्यालय छोडेपछि मैले सबैभन्दा ‘मिस’ गर्ने त्यही पुस्तकालय हो । नेपाल आउँदा प्रायः पढ्न, गफ सुन्न जाने ठाउँ चाहिँ मार्टिन चौतारी हो । त्यहाँ मिडिया र समाजविज्ञानका किताबको राम्रो संग्रह छ ।

पढिसकेपछि प्रतिक्रिया लेख्न मन लाग्छ ?

 कहिलेकाहीँ मन परेको किताबको समीक्षा लेख्छु । मन नपरेको किताब अरूले देख्ने गरी मिल्काइदिन्छु, त्यसमा आफ्नो शब्द खर्च गर्दिनँ ।

समीक्षा पढ्दा कस्तो लाग्छ ?

 कसले कसलाई भित्तामा पुग्ने गरी ठोक्यो वा कसले कसको हनुमानगिरी गर्‍यो भन्ने थाहा पाउन नेपाली पत्रिकाका शनिबारीय परिशिष्टांकमा छापिने समीक्षा पढ्छु । चिया गफका लागि यस्ता कुरा थाहा पाइराख्नु पर्छ । समीक्षाकै भरमा किताब किनी चाहिँ हाल्दिनँ ।

पढिसकेपछि राम्रो लागेको किताबबारे भन्न खसखस लाग्दैन ? के गर्नुहुन्छ ?

 त्यस्ता किताब त साथीभाइलाई उपहारै दिन्छु । ‘द पेरिस रिभ्यु’को अन्तर्वार्ताको सँगालो र गोरख पाण्डेयको कविता संग्रह पछिल्लो समय एकदमै मन परेका किताब हुन् । यसपालि काठमान्डु आउँदा एक जना नजिकको साथीलाई उपहार दिएँ ।

पढ्दै गर्दा मन परेको÷नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने बानी छ कि ?

 पहिले पहिले पहिलो पृष्ठमा हस्ताक्षर गरेर मुन्तिर मिति लेख्थेँ । अहिले त्यसो गर्दिनँ । अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने त कुरै छैन । त्यसैले मेरो तखताका किताबमध्ये कुन पढिसकेको हो र कुन पढ्न बाँकी हो भन्ने छुट्याउन सकिँदैन ।

अनि, किताबमा गाता हाल्ने बानी नि ?

 पहिलेपहिले धेरै हालियो । राजीव गान्धीको हत्याको शृंखलाबद्ध चित्रण गरिएको ‘सरस सलील’ पत्रिका बुबाले संग्रहका लागि ल्याउनुभएको थियो । क्षत-विक्षत शरीर र विध्वंसका तस्बीर र चित्रले किन आकर्षण गरेछन् कुन्नि, बीचबाट पन्ना उप्काउँदै मैले र दिदीले किताबमा गाता हालेछौं । बुबाले अझै पनि त्यो कुरा निकालिरहनुहुन्छ ।

कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?

 अफिस जाँदा-आउँदा मेट्रोमा एक-एक घण्टा पढ्थें । अहिलेत जहाँ मिल्यो त्यहीँ पढ्छु । हिउँदमा घर जाँदा चाहिँ बार्दलीमा बसेर पहार ताप्दै, सुन्तला खाँदै उपन्यास पढ्न रुचाउँछु ।

यहाँसँग भएको दुर्लभ जर्नल/पुस्तक ?

 ‘न्यू योर्कर’ पत्रिकाको सन् १९५० को दशकमा छापिएका कथाहरूको सँगालो छ, जुन मैले दिल्लीको एउटा सेकन्ड ह्यान्ड पसलमा पचास भारुमा किनेको थिएँ । एडमन्ड विल्सनको १९४८मा छापिएको प्रबन्ध संकलन ‘ट्रिपल थिंकर्स’ असी भारुमा बैंगलोरको ब्लसम्स नामको प्रख्यात सेकन्ड ह्यान्ड पसलमा किनेको थिएँ । ती दुवै किताब पुरानो संस्करणका हुन् । ती अहिले नयाँ संस्करणमा पाइन्छन्, तर क्लासिक किताबको पहिलो संस्करण संकलन गर्न पाउनुको मज्जा अर्कै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

 किताबमा कर लगाउने र करको विरोध नगर्नेहरूलाई म कुनै किताब सिफारिस गर्दिनँ ।

किनेको सबैभन्दा महँगो पुस्तक ?

 धेरै महँगो किताब किन्न सक्दिनँ । एउटै किताबमा तीन हजार रुपैयाँ भन्दा बढी खर्च गरेको पनि छैन । महँगा किताब त पुस्तकालयले किनिदिनुपर्छ । पुस्तकालयलाई राज्यले यथेष्ट स्रोत उपलब्ध गराउनुपर्छ ।

पठन रोजाइमा कुन विधा ?

 आख्यान र साहित्यिक गैर-आख्यान । प्रतिरोधका कविता सुन्न मन पर्छ, बासी विम्ब ठुसठुसाउने प्रेम कविता सुन्ने-पढ्ने धैर्य छैन ।

पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?

 हिजोआज नेपालमा छापिने आत्मकथामा मलाई कत्ति पनि रुचि छैन ।

के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?

 चोरेकै त छैन, तर किताब लिएर बेलैमा फिर्ता नगर्नेमा म पनि पर्छु ।

पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ? तपाईंका किताब त छरिएका छन् नि हैन र ?

 दिल्लीमा भएका धेरै किताब अस्ति भर्खरै बडो कष्ट झेलेर स्याङ्जा पुर्‍याएँ । गाउँघरतिर हिजोआज सिकर्मी पाइँदैनन्, त्यसैले तखता बनाउन नसकेर डब्बामा बन्द गरेर राखेको छु ।

किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?

 कविता भाका हालेर । अरू मनमनै ।

कुन लेखक भेट्न चाहनुहुन्छ ?

 डेविड फोस्टर वालेस र हन्टर एस थम्पसनलाई भेट्न पाएको भए कस्तो हुँदो हो जस्तो लाग्छ । तर ती दुबैजना मरिसके । उनीहरू मरिसकेका भएरै भेट्ने मन लागेको होला । मन पर्ने लेखक वोले सोयिन्कालाई दश वर्ष पहिले जयपुर लिटरेचर फेस्टिवलमा भेटेको थिएँ । भीडभाडमा खासै गफ गर्न पाइएन, हाइ-बाइ मात्र भयो । फास्स न फुस्स हुँदो रहेछ सेलिब्रिटी लेखकसँगको भेट ।

तपाईंले लेख्न चाहिरहेको पुस्तक ?

के लेख्ने भन्ने निक्र्यौल भएको भए त म त्यही किताब लेखिरहेको हुन्थें नि !

तपाईंले अनुवाद गरिरहेको पुस्तक ?

नयनराज पाण्डेको ‘उलार’ अनुवाद गरेर प्रकाशकलाई बुझाएको छु ।

उताबाट यता र यताबाट उता अनुवाद गर्न चाहिरहेको पुस्तक ?

टोनी मरिसनको ‘बिलवेड’ नेपालीमा अनुवाद गर्न मन छ । खगेन्द्र संग्रौलाका लेख पढ्दा अङ्ग्रेजीमा अनुवाद गरूँ-गरूँ लाग्छ, तर उनको भाषाको मिठास र मौलिकता उतार्न एकदम गाह्रो छ ।

आफूले पढेका दुई अनूदित पुस्तक सिफारिस गर्न सक्नुहुन्छ ?

डेविड ग्रसम्यानले हिब्रुमा लेखेको र जेसिका कोहेनले अंग्रेजीमा अनुवाद गरेको उपन्यास ‘अ हर्स वक्स इन्टु अ बार’, र सचिन कुण्डलकरले मराठीमा लेखेको र जेरी पिन्टोले अंग्रेजीमा अनुवाद गरेको उपन्यास ‘कोबल्ट ब्लु’ ।

हाम्रो अनुवादमा भइरहेको गल्ती के हो ?

अनुवाद नेपाली साहित्य र विश्व साहित्यबीचको पुल हो भनेर सिद्धान्त फलाकिरहन्छौं, तर अनुवादरूपी पुल चाहिँ पप्पु कन्स्ट्रक्सनको जस्तो बनाउँछौं । बरु थोरै बनाऔं, ढिलो बनाऔं, तर भास्सिने पुल नबनाऔं ।

किताबबारे कुनै एउटा रोचक घटना ?

करीब दश वर्ष अघि पोखराबाट काठमान्डु बस यात्रामा खालेद होसेनीको ‘द काइट रनर’ पढ्दै थिएँ । अमरसिंह चोकबाट सेतो टिसर्ट र नीलो जिन्स लगाएकी युवती चढिन् र मसँगैको सीटमा बसिन् । गगनगौंडातिर पुग्दा उनले सोधिन्, ‘कुन किताब पढ्दै ?’ मैले किताब देखाएँ । ‘राम्रो छ,’ उनले भनिन् । म बडो ‘इम्प्रेस्ड’ भएँ । अनि सुरु भयो परिचय र गफ । उनी परिछन्, स्याङ्जाली । मुग्लिन पुग्दा-नपुग्दै उनले त्यो किताब पढेकै रहिनछिन् भन्ने चाल पाइसकेको थिएँ । तरस्याङ्जाली सुन्तलाभन्दा रसिला थिए उनका गफ । काठमान्डुसम्मै गफिएँ । पचास पेजतिर पुगेर थाती राखेको त्यो किताब अझै पढिसिध्याएको छैन । अस्ति भर्खर फेसबुकमा ‘रिमेम्बर मी ?’ भनेर सन्देश पठाएकी थिइन् । किन बिर्सनु नि ! कुनै दिन भेट भयो भने त्यो अपूरो किताब उनैलाई दिएर भन्छु, ‘यसपालि चाहिँ पढेरै भनिदेऊ, यो किताब राम्रो छ कि छैन ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.