बम यात्रा
‘गाउँतिर एउटा भनाइ थियो, छोरीले पढ्नु र बालुवामा पिसाब फेर्नु एकै हो। काम लाग्दैन।’ तर, उनले पढेरै काम पाएकी थिइन्। विद्यालयमा पढाउँथिन्। त्यो दिन पनि उनी विद्यालयमै थिइन्। छेउमै बजिरहेको रेडियोको प्रत्येक शब्द नबिराई सुनिन्। रोल्न नं. ‘९८६२ एच’। जसै सुनिन्, उनले बजिरहेको रेडियो बन्द गरिन्। एक्कासि छटपटी भयो। खुसी अभिव्यक्त गर्ने कुनै नियम छैन र त एसएलसी पास हुँदा उनी छटपटाइन्। नछटपटाऊन् पनि किन ? रोल्पाको माटोमा एउटा नाम जो कोरिएको थियो, पहिलो एसएलसी पास गर्ने महिला बमकुमारी बुढा।
जीवन कतिन्जेल बाँचेपछि उत्तराद्र्धतर्फ लागेको ठानिन्छ ? नेपालीको औसत आयु लगभग बाँचिसकेकी बुढाले भर्खरै समाजशास्त्रमा स्नातकोत्तरको शोधपत्र बुझाइन्— ‘रोल्पा कोर्चाबाङ घापाका मगरहरूको सामाजिक-भाषिक-सांस्कृतिक अवस्था ः एक समाजशास्त्रीय अध्ययन’। शोधपत्र लेख्दालेख्दै मोटो भएपछि छोट्याउनुको सकसबाट गुज्रिइन्, उनी। एउटा सिंगो इतिहास बोकेर बाँचेको मान्छेलाई किन यति बेला समाजशास्त्रमा रुचि लागेर आयो ? ‘विदेशीले बसमा, गार्डेनमा बस्दा पनि पढ्छन्। हामीमा पठन संस्कृतिको अभाव छ। सर्टिफिकेटकै लागि त पढेकी हैन, तर यसकै लागि पढ्दा पनि नयाँ शब्द-सिद्धान्त त सिकेँ नि,’ उनी भन्छिन्। स्नातकोत्तरको एउटा विषयमा अपेक्षाकृत नम्बर कम आएपछि रिटोटलिङ गर्दैछिन्। नम्बर थप हुँदैन, किन गर्नुहुन्छ भन्ने जवाफ पनि आउँछ। तर, उनी भन्छिन्, ‘भिक्षा मागेको होइन। मेरो नम्बर चोरेर अर्कैले मेडल पो लग्यो कि ? आफ्नो अधिकार उपयोग गरेको हो।’ त्रिविको गोल्ड मेडलको सुक्रिबिक्रीबीच उनलाई कम नम्बर दिए जस्तै लाग्छ !
अध्ययनदेखि अध्यापनसम्म
रोल्पामा २००७ सालमा जन्मिएकी बमकुमारी बुढा आफ्नो जीवन कृषि र ह्यान्डिक्राफ्टबाट सुरु भएको बताउँछिन्। ‘आमाको रहरले पढेकी हुँ’, भन्छिन्। बुवा घाबुदा पोस्टमा र दाइ बैदार भएकाले उनको घर मान्छेहरूको सम्पर्क स्थानका रूपमा थियो। २०१८ सालको गाउँ पञ्चायतको पहिलो गठनमा आमा वडा सदस्य थिइन्। परिवारको यस्तो माहोलले गर्दा उनको मस्तिष्कमा पनि सामाजिक तथा राजनीतिक चेतनाले ससाना डेरा बनाउन थालेको थियो। सुरुआती कक्षाहरू गाउँकै स्कुलबाट उत्तीर्ण गरिन्। नौ र दस कक्षा दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माविमा पढेर त्यहीँबाट एसएलसी पास गरिन् र रोल्पाको पहिलो एसएलसी पास गर्ने महिला बनिन्।
देशमा प्रजातन्त्र उदय भएको निकै समय भइसकेको थियो। तर, प्रजातन्त्रका किरणहरू रोल्पासम्म पुग्नै पाएनन्। सहरतिर र हुनेखानेको धुरीबाटै हराएर गए। हातका औंलामा गन्न सकिने पढेका पुरुषहरू हुने समयमा उनकी आमाको सहयोगबाट यो सम्भव भएको थियो। ‘छोरी एक्लै हुन्छे भनेर एसएलसी नसकुन्जेल मसँगै आमा दुई वर्ष दाङ बस्नुभयो।’
विकट रोल्पाको पहराबाट निरन्तर झरिरहने झरनाको आवाज हुन्, बमकुमारी बुढा। उनलाई सुनिरहँदा सयौं जिन्दगी गुञ्जिरहन्छन्।
आमाले दाङको थारू गाउँमा भेडाको ऊन खुर्किन्थिन्। उनलाई बेलाबेलामा भन्ने गर्थिन् ‘तँलाई दाङका थारू र कोटका मगरले पढाएका हुन्।’ आमाले भांग्रो, कम्बल र डोको बुन्थिन्। थाङ्का थारूले अन्नमा साट्थे। मगरले च्युरीका बिजौलासँग साट्थे। त्यसरी उनको पढाइखर्च जुटाउँथिन्।
स्कुल पढ्दा पढाइमा सधैं अब्बल नै थिइन् उनी। केटाहरूसँग लड्न पनि पछाडि पर्दैन थिइन्। केटाहरू उनीसँग डराउँथे। तर, कक्षामा भित्र-बाहिर गर्दा भने ‘बम पडयो’ भनेर जिस्क्याउँथे। केही समय त चुप लागेर बसिन्। केटाहरूले बम भन्दा कताकता घोचेजस्तो हुन्थ्यो। एक दिन कवितामार्फत केटाहरूलाई जवाफ दिइन् ः
म होइन कसिंगर आँखालाई कमजोर गराइदिने
म होइन मदिरा मानिसलाई पागल बनाइदिने
म होइन ह्वेल सानालाई खर्लप्पै निलिदिने
म होइन त्यो बम वीर पुरुषको नाश गराइदिने
०००
‘एसएलसी सकेपछि आमाले अब तँलाई यत्ति भए पुग्छ भन्नुभयो र हामी रोल्पा फर्कियौं’, उनी भन्छिन्। रोल्पा फर्किएपछि लिबाङमा अध्यापन गर्न सुरु गरिन्। त्यहाँ कृष्णबहादुर महरा पनि उनीसँगै अध्यापन गर्थे। उति बेलाका महरालाई सम्झिँदै उनी भन्छिन्, ‘अहिलेको घटना सुन्दा दुःख र अचम्म लाग्यो। हामी सँगै काम गर्दा त्यस्तो स्वभाव भएजस्तो लाग्दैनथ्यो। वैचारिक रूपमा हामी भिन्न थियौं। तर, हामीबीच ठूलो विवाद भएको मलाई याद छैन।’ पछि माओवादी जनयुद्धमा महराले उनलाई सँगै आन्दोलनमा जाऊँ पनि भनेका थिए।
रापस सदस्यदेखि स्वतन्त्रतासम्म
उनलाई राष्ट्रिय पञ्चायतको सदस्य हुने मौका मिल्यो। आफ्नो मगर समुदाय र भूगोलका लागि केही गर्न सक्छु कि भनेर पद स्वीकारेको बताउँछिन् उनी। २०३६ सालको जनमतसंग्रहमा पञ्चायती व्यवस्थाको वकालत गरिन्। व्यवस्थाको समर्थनमा रोल्पाली, त्यसमा पनि जनजाति अझ महिलाले ‘चाकडी’ गरेपछि (दरबारलाई देखाउन यस्ता पात्र चाहिन्थ्यो) जे पुरस्कार मिल्थ्यो, त्यही भयो।
२०३८ जेठ १३ गते बिहान रेडियो सुन्दै थिइन्। रेडियोले श्रीमती बमकुमारी बुढाथोकी मध्यपश्चिमबाट रापसमा मनोनीत भएको समाचार सुनायो। मानिसहरू उनलाई बधाई दिन ओइरो लागे। उनी भने म नै हुँ कि अरू कोही हो भनेर दोधारमा परिन्। उनी भन्छिन्, ‘म न विवाहित हुँ, न बुढाथोकी।’ अन्ततः नाम सच्याएर सु श्री बमकुमारी बुढा भनेर आयो।
२०४३ सालमा राष्ट्रिय पञ्चायतका लागि निर्वाचन घोषणा भयो। रोल्पाबाट उनी उम्मेदवार बनिन्। निर्वाचन पनि भयो। तर, नतिजा भने उनको पक्षमा आएन। उनलाई उक्त चुनाव हारेको नभई हराइएको भन्ने लाग्यो। मत परिणाम पुनःगणनाको केस फाइल गरिन्। तीन वर्षसम्म केस चलिरह्यो। तर, यथेष्ट प्रमाण नपुगेको भनी ०४६ वैशाख ३० गते केस बदर भयो। उनलाई लाग्यो, ‘चुनाव भनेको पैसा र शक्तिको खेल रहेछ।’ राजनीतिमा आफ्नै टिमबाट अन्तरघात हुन्छ भनेर चित्त बुझाइन्। पञ्चायत इतरसँग लागेको भए एउटा धार तयार गर्न सक्ने सामथ्र्य बनाइसकेकी थिइन्। तर, उनलाई पञ्चायत नै प्यारो लाग्यो। पञ्चायत छाड्न सकिनन्। न्याय र अन्याय देख्न नसक्नेसँग शासित भएर बस्नुभन्दा पार्टी नै छाड्नु उनलाई ठीक लाग्यो। उनलाई पार्टीमा फर्काउन लोकेन्द्रबहादुर चन्द, बालाराम घर्तीमगरले कोसिस गरे। तर, उनी फर्किनन्। ०५१ सालको मध्यावधिमा उनलाई संसद्वादी कि विरोधी भनेर प्रश्न पनि नतेर्सिएका होइनन्।
अस्वीकृत भत्ता र ऐच्छिक विवाह
२०४५ सालमा मरीचमान सिंह प्रधानमन्त्री हुँदा पूर्व रापस सदस्यका लागि राज्यले एक हजार रुपियाँको भत्ता घोषणा गर्यो। फर्म भर्न उनलाई पनि सूचना आयो। चुनाव जित्ने मान्छेले त्यो फर्म भर्ने होइन। आफ्नो पद पो बहाली हुनुपर्छ। राज्यको सम्पत्ति दोहन गर्न किन भत्ता लिने भन्ने उनलाई लाग्यो। उनी भन्छिन्, ‘त्यो भत्ता लिएको भए गलत ठाउँमा उभिएको आफूलाई लाग्थ्यो। म हारेकी थिइनँ। हराइएकी थिएँ। त्यसैले अस्वीकार गरेँ।’
सम्झौताले यात्रा टुंग्याउँछ। संघर्षले बाटो निर्माण गर्छ। विवाह पनि उनलाई सम्झौताजस्तै लाग्यो। उनको जीवन आजपर्यन्त संघर्षरत छ। कहिले व्यवस्था त कहिले समाजसँग, कहिले आफैंसँग उनको संघर्ष निरन्तर छ। यी संघर्षबीच विवाहबारे सोच्ने फुर्सद नै भएन। उनी भन्छिन्, ‘खासमा पुरुषसँग लगावभन्दा पनि प्रतिस्पर्धा नै बढी थियो। समाजमा अब्बल भनेका पुरुष नै हुन्थे। तर, मेरो ध्येय ती अब्बल भनिएकालाई कसरी हराउने भन्नेमा हुन्थ्यो।’ यिनै संघर्षका बीच विवाहको थुँगो कति बेला फुल्यो र कति बेला ओइलियो पत्तै पाइनन्। जीवनका लागि विवाहको अनिवार्यता उनलाई स्वीकार्य छैन।
के हो रोल्पा ?
रोल्पाबारे बताउँदा उनी आफूले स्कुलमा पढेको नेहरुज लेटरको उदाहरण दिन्छिन्, जहाँ अवसरबाट वञ्चित हुन्छ त्यहाँ मनबाट नै केही गर्नुपर्छ भन्ने लाग्छ। समावेशीका नाममा कतिपय कोटा भर्ने चलन उनलाई मन पर्दैन। सुविधा र कोटाले महिलालाई परिजीवी बनाउने बताउँदै उनी भन्छिन्, ‘रोल्पालीहरू ढुक्कले बोल्छन्। यहाँका महिला पनि निर्भीक छन्। यहाँका हरेक युद्ध सफल हुने कारण पनि यही हो।’ उनलाई रोल्पा ऊर्जावान् लाग्छ। उनलाई अहिले पनि विभिन्न पार्टीबाट अफर र लोभ आउँछन्। तर, त्यो लोभले उनलाई तान्दैन। भन्छिन्, ‘आफू स्थिर भए मात्र मूल्य हुन्छ।’
जसरी देशले समय समयमा भिन्न भिन्न खुड्किलाहरू फेरिरह्यो, उनको जीवनमा पनि विभिन्न रंग पोतिँदै गए। हाल उनी अठार मगरात मगर प्रतिष्ठानकी अध्यक्ष छन्। पाल्पाको रिडीपूर्वका बाह्र मगरात र रिडी पश्चिमका अठार मगरात हुन्। भाषा संरक्षणसँगै सामाजिक उत्थान नै अहिले उनको मूल उद्देश्य बनेको छ। भाषा सम्पर्कका लागि मात्र नभई सामाजिक उत्थानको साधन पनि हो। माओवादी जनयुद्ध सफल हुनुमा मगर समुदायको जति भूमिका थियो, त्यसरी नै मगर भाषाको पनि ठूलो भूमिका रहेको उनलाई लाग्छ।
पञ्चायतकालीन एक भाषा एक राष्ट्रको अवधारणाविपरीत उनले सधैं मगर भाषालाई नै प्राथमिकता दिइन्। अनौपचारिक सभा समारोहमा मगर भाषाको प्रयोग गर्थिन्। तर, औपचारिक कार्यक्रममा भने पञ्चायतले त्यो छुट दिएको थिएन। राष्ट्रिय पञ्चायतभित्र पनि मगर पोसाक लगाएर जाने गरेकी उनी नयाँ पुस्ताले आफ्नो भाषा बिर्सिंदै गएकोमा गुनासो गर्छिन्।
पूर्णताभित्रको अपूर्णता
बाहिरबाट पूर्ण चन्द्रजस्तो देखिने उनको जीवनको योजना भने उनी आफैंलाई अधुरोजस्तो लाग्छ। बुन्न लागेको डोकोको बिट नमारेजस्तो। बुन्न लागेको कम्मलको तान अधुरो रहेको जस्तो। तानको किलो ठोक्न बाँकी भएको जस्तो। ठोकेको किलोलाई उखेलेर नथन्क्याए जस्तो। यस्तै यस्तै आफ्नो जिन्दगी पनि अपूरो छ जस्तो लाग्छ उनलाई। केही ससाना सपना छन् उनीसँग, जुन पूरा गर्नु छ। केही पुस्तक लेख्ने योजना छ। आँखाको ज्योति कमजोर हुँदै गएको छ। कसैले लेखिदियो भने लेखाउने धोको छ। ह्यान्डिक्राफ्टको काम पनि पूरै बाँकी छ।
मगर मातृभाषाका औपचारिक पठनपाठनका लागि एकदेखि पाँच कक्षासम्म र अनौपचारिक एक कक्षाका लागि उनैले पाठ्यपुस्तक तयार पारेकी हुन्। छ देखि आठसम्मका पाठ्यपुस्तक पनि लेख्ने योजनामा छिन्। सन् १९९४ देखि २००३ सम्म यूएनले विश्व भाषा दशकको रूपमा मनायो। तर, नेपालीमा आफ्नो भाषाप्रति सम्मान गर्न नसकेको गुनासो गर्छिन्। विकट रोल्पाको पहराबाट निरन्तर झरिरहने झरनाको आवाज हुन्, बमकुमारी बुढा। उनलाई सुनिरहँदा सयौं जिन्दगी गुञ्जिरहन्छन्।