कुम्भेश्वरको त्यो खून

कुम्भेश्वरको त्यो खून

२००३ वैशाख २१ गतेको ‘गोरखापत्र’मा एउटा समाचार छापिएको छ, ‘एकै रातमा चार खून’ शीर्षकमा। उक्त घटना वैशाख १६ गते राति भएको थियो। ललितपुरको कुम्भेश्वर मन्दिर नजिकको ढकाढल (पोडेटोल र कसाईटोलको बीच)मा भएको उक्त खूनबारे भनिएको छ, ‘पराले छाना भएको एक्लो घरमा जम्मा ४ जवान निर्दयतासंग कर्तव्य परी मरिरहेको १७ गते बिहान फेला परे।’ सो घटनामा दिलबहादुर कार्की, उसकी श्रीमती र दुई जना छोराछोरीसमेत मारिएका रहेछन्। दिलबहादुर सदर भन्सारमा भारी बोक्ने कुल्ली भएको र निकै बलियो भनेर कहलिएको पनि रहेछ। उसकी श्रीमती दुई-जीउकी भएको संवाददाता नौसिन्दा कृष्णलालले पठाएको सो समाचारमा जनाइएको छ।

सोही दिन गोरखापत्रले आफ्नो दोस्रो पातोमा छापिने सम्पादकीयमा पनि यो विषय उठाएको छ। उसले पाठक र साधारणजनलाई ‘धर्म गर्नुहोस्’ भन्दै हत्यारा पत्ता लगाउनमा सहयोग गर्न भनेको छ। ‘ज्यादै नै जंगली उपाय (? )ले स्वास्नीमानिस र अबोध बालखहरूको समेत’ हत्या भएकाले ‘यस्तो कुरामा प्रशस्त विज्ञ इन्सपेक्टर र पुलिसहरूबाट तहिककात होइहाल्ला नि’ भनेर जनतालाई हात बाँधेर नबस्न आग्रह गरिएको छ। पत्रिकामा लेखिएको छ, ‘यस्ता किसिमका ‘घोर काण्डहरूमा जनताको सहयोग नभैकन बिचरा पुलिसहरूबाट मात्र’ छिटो काम हुन सक्दैन। पुलिसलाई सहायता गर्न अघि सर्दा त्यसले अड्डा अदालत धाउने झञ्झट त हुन्छ, ‘तर धर्मका निम्तिको सहायतामा परिआएको दुस्ख तपस्या हो !’

वैशाखमा भएको यो जघन्य घटना असारमा गएर पटाक्षेप हुन्छ। असार ४ गतेको ‘गोरखापत्र’को चौथो पृष्ठमा ‘कुम्भेश्वरको खून पत्ता लाग्यो’ शीर्षकमा समाचार छापिएको छ। समाचारले किन, कसरी, कसले जस्ता प्रश्नको जवाफ त दिन्छ नै। साथै, तात्कालिक समयको हाम्रो प्रहरीको ल्याकत, कानुनी भाषा र तहकिकात गर्ने तरिका (खारखेर)बारे पनि थोरबहुत बताउँछ। सो समाचार पढौं :

‘दलबहादुर कार्की पहाडबाट नेपालमा आएर ललितपुर कुम्भेश्वर नजिकको जग्गा दर्ता गरी बसेको रहेछ। यही गत वैशाख १६ गतेको राति निज दलबहादुर अन्दाजी वर्ष ६२ को निजकी नेवारनी स्वास्नी वर्ष ३५ की, वर्ष ८ को छोरो, वर्ष १ को छोरी लगाएत ४ जनाहरूलाई एकै बारदातमा कर्तव्य गरी मारेछन्। खून गर्नेको सुराक पत्ता लगाउँदा सोही घरमा बस्ने पूर्व १ नं. चौताराको काजीमान भोटेलाई पुलिसले पक्रिल्याए। निज काजीमान भोटेलाई खारखेर गर्दा कर्तव्य खुल्न आयो, बारदात भएका ठाउँमा काजीमान भोटेलाई लगी खुनवाला चिनाउँदा जीतबहादुर कसाही लगाएत २८ जवानहरू चिनायो। पक्राउ भैआएकाहरूबाट अरू ४ जना समेत खुल्न आई जम्मा ३२ जना भए। यो सबैलाई खारखेर गर्दा दलबहादुर बसेको घर उठाई सन्नि सर्पन खुलाउनको निम्ति बांगेचा ज्यापू १, छ्याकचा ज्यापू १, संमरुचा कसाही १, बांगेचा कसाही १, लाखेचा कसाही १, कृष्णलाल सूनार १ समेत ६ जनाले कर्तव्य गरी मारेका हौं भनी साबित भै मुख्य देखिन आए। खून मुद्दाका मुख्य जीतबहादुर कसाही र साहिलो पोडे सबैलाई इनकारभै नेल ठोकी कोतवालीबाट प्रमाण पुगेको खून मुद्दा कारबाई हुन लागेको छ।’

घटना, अभियुक्त र कार्यकारणबारे यो विवरणिका सार्वजनिक गरेको सरकारी मुखपत्रले त्यसको डेढ महिनापछि (साउन २२ गते) अभियुक्तहरूलाई दिन लागिएको सजायबारे ‘ललितपुर कुम्भेश्वरको ज्यान मुद्दा’ शीर्षकमा सम्पादकीय छापेको छ। सम्पादकीयमा को-कसले के-कस्तो दण्ड-सजाय पाउन लागेका हुन् भन्ने जानकारी दिँदै सो सजायलाई आवश्यक र उपयुक्त भनिएको छ।

गोरखापत्रका अनुसार एउटा धनी कसाई (जितबहादुर)ले दिलबहादुर ‘कार्कीलाई मार्ने पूर्व संकल्प गरी एउटा दल नै खडा गरी सारै निर्दयताको साथ’ कार्की र उसका सकल परिवारको हत्या गरेको थियो। सो घटनापछि पुलिसले ‘तहकिकात र कारवाई गरी त्यस पैशाचिक हत्याकाण्डमा सरीक हुने सबै अभियुक्तहरूलाई पक्राउ’ ग‍र्‍यो। यो हत्याकाण्डका खास गरी मुख्य अभियुक्तहरूलाई कस्तो दण्ड-सजाय दिने भन्नेबारे ठूलै छलफल भएको देखिन्छ। तत्कालीन सरकारप्रमुख पद्मशम्शेरकहाँ सो मुद्दाउपर निर्णय लिन तीन पटकसम्म ‘सज्जनवर्गको भारादारी समेत’ भएको थियो।

दण्ड-सजायबारे निर्णय लिन सकस हुनुका एउटा मुख्य कारण भीमशम्शेरको पालादेखि राजकाज मुद्दाबाहेक मृत्युदण्डमा नेपालले रोक लगाउनु थियो। भीमशम्शेरको प्रधानमन्त्रीत्व कालमा प्रारम्भमा ‘अनुभवका निम्ति’ पाँच वर्षका लागि भनेर ‘ज्यानसजाय खारिज’ गरिएको थियो। जतिखेर नेपालमा मृत्युदण्ड स्थगन गरिएको थियो त्यतिखेर यस्तो निर्णय लिने मुलुक अन्यत्र विश्वमा पनि एकाध मात्रै थिए। भीमपछि प्रधानमन्त्री बनेका जुद्धशम्शेरले पनि सोही निर्णयलाई निरन्तरता दिए। यद्यपि, उनको पालामा एक त चार सामाजिक-राजनीतिक कार्यकर्ता-धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ-लाई मृत्युदण्ड दिइएको थियो। दोस्रो, उनैको पालामा नै अर्को कर्तव्यज्यान मुद्दामा भक्तपुरका चारजना अभियुक्तहरूलाई पनि फाँसीको सजाय दिइएको थियो।

पुरानो नजिर इत्यादि भए पनि ज्यानै लिने कुरामा सम्भवतः पद्मको उत्सुकता नभएकाले उनले पटकपटक भारदारी बोलाएको जस्तो देखिन्छ। सो भारदारीमा राणा जनरलहरू, जंगी र निजामती अफिसर, पण्डित र साहू महाजन इत्यादि थिए। ती ‘सबैको रायमा यी राक्षसहरूलाई ज्यान सजाय नै गर्नुपर्छ भन्ने ठहर्‍यो।’ र ‘अन्त्यमा न्यायप्रिय श्री ३ पद्म प्रभुबाट पनि ‘लौ म भाइ भारदारहरूको राय काट्न चाहन्न’ हुकूम हुँदै सभाको निर्णयलाई’ नै सदर गरियो। गोरखापत्रका अनुसार पद्मको ‘प्रसिद्ध दयालु स्वभावले गर्दा बहुतै कमले मात्र ज्यान सजायँ’ पाएका हुन्।

खासगरी भारतीय उपमहाद्वीपमा परिवर्तन (शान्तिपूर्ण) को हावा चलिरहेकाले पनि पद्मशम्शेर ‘ज्यानको बदला ज्यान’ लिन हिचकिचाएको हुन सक्छ। त्यसैले, गोरखापत्रका सम्पादकीयहरू (साउन २२ र असोज १५) ले सो घटनाका अभियुक्तलाई दिन लागिएको मृत्यदण्डको सजायलाई उपयुक्त ठह‍र्याउने भरमग्दुर प्रयास गरेको देखिन्छ। गोरखापत्रले एक त मृत्युदण्डलाई अन्यत्र हुँदै आएको र सामान्य कानूनी प्रकृया जसरी व्याख्या गरेको छ। अर्को, कुम्भेश्वर हत्याकाण्डलाई अत्यन्त आततायी, क्रुर घटनाको रूपमा पेश गरेको पाइन्छ, जसको सजायँ मृत्युदण्डबाहेक अरू हुनु अन्यायपूर्ण हुन्थ्यो। गोरखापत्रले सो काण्डको मुख्य अभियुक्तलाई राक्षस, नरपिचाश, नराधम आदि उपाधि त्यो पनि पटकपटक प्रयोग गरेको छ- यो जताउन कि ऊ सामान्य अपराधी होइन, कुत्सित मनसाययुक्त भई लामो षड्यन्त्रमा सामेल भएको हो। साथै, अहिलेकै चलन जस्तो आफ्नो तर्कलाई पुट दिन गोरखापत्रले बेनामे ‘विद्वान्हरूको पनि भनाइ’ त्यस्तै रहेको दाबी गरेको छ।

गोरखापत्रले कुन कौशल लगाएर त्यस्तो ग‍र्‍यो एकपटक हेरौं :

‘अहिलेको मुद्दामा पनि अपराधीहरूले उत्तप्त रीसको आवेगमा हत्या गरेको नभई रीस इवी ली हत्या गरी फेरि आफ्नू अपराध प्रकाश हुन जाला भन्ने डरले आफ्नू अपराधका साछीहरूलाई हटाउनाको लागि षडयन्त्र गरी यस्तो निष्ठुरता साथ बाबु आमा सहित ती विचरा बालक बालिकाहरू समेत ४ जनाको तेस्तो पाशविक ढाँचासँग हत्या गरेको हुनाले तेस्ता प्रमाणबाट गिरी सकेका हत्याराहरूलाई ऐनले दिएसम्मको सबभन्दा कडा अर्थात प्राणदण्डको सजाय भएमा पनि अति भयो भनेर हामी कोही भन्न सक्दैनौ ! इनमा र हिंस्रक जनावरमा केही भेद रहेन, अझ पशुमा ता विचार शक्ति नभइदिएकोले उनलाई असल खरावको ज्ञानसम्म पनि छैन। यस हेतुले देश र समाजको स्थितिको रक्षा निमित्त यस्ता समाज विरोधीहरूलाई बाँचनाको अधिकार छैन भन्ने संसारमा कोही ठूला विद्वान्हरूको पनि भनाइ छ।’

गोरखापत्रको असोज १५ गतेको सम्पादकीयको शीर्षक ‘राक्षसहरूलाई ज्यानसजायँ’ थियो। ‘सभ्यताको उच्च शिखरमा पुगेको न्याय’ले ‘मानिसले मानिसलाई नमार’ भने पनि ‘राक्षसलाई नमार्नू’चाहिँ नभन्ने भएकाले ती अभियुक्तहरूलाई मृत्युदण्ड दिँदैमा नेपाली समाज असभ्य भएको हुँदैन भन्ने गोरखापत्रको मजबून देखिन्छ। बरु, त्यस्तो खाले ‘अहिंसावादले मुलुकलाई कमजोर’ तुल्याउने ऊ देख्तछ। ऊ भन्छ, ‘ज्यानसजाय’ले अन्य भविष्यका सम्भावित अपराधीलाई दुरुत्साह दिने काम गर्छ, जुन जेलसजायले पूरा हुँदैन। गोरखापत्रबाट हामीले अर्को कुरा के थाहा पाउँछौं भने धनीले त्यतिखेर समेत जेलभित्र आराम फर्माउन पाउँथे। ‘सर्वस्व हुने’ भनिए पनि वास्तवमा त्यो कारगर नहुने र धनीका लागि खासमा जेल जेल नभएर नजरबन्दसरह मात्र हुने गोरखापत्रको कथन थियो।

यो ‘खून’वाला घटना अरू दुई कारणले पनि रोचक छ। एक त त्यसमा मिसिएका मानिस र तिनको नाम, जात र वर्गीय कित्ताका (छुट्ट्याइएका) कारण। अर्को, जुन कार्यकारणले गर्दा हत्या भएको हो त्यसले गर्दा। गोरखापत्रमा आएको समाचारलाई विश्वास गर्ने हो भने यो हत्या खासमा मृतकको जग्गा हडप्नका लागि भएको थियो। मृतक ‘दलबहादुर कार्की पहाडबाट नेपालमा आएर ललितपुर कुम्मेश्वर नजिकको जग्गा दर्ता गरी बसेको रहेछ।’ दलबहादुर ‘बसेको घर उठाई सन्नि सर्पन खुलाउनको निम्ति’ जीतबहादुर कसाईले कार्की र परिवारलाई सिध्याउने षड्यन्त्र रचेको देखिन्छ। यद्यपि, जीतबहादुर स्वयंले भने सो आरोपलाई निरन्तर अस्वीकार गरेको थियो। त्यसबाहेक, जीतबहादुर धनी भएको घरिघरि बताइएको छ। ‘धनी अपराधीलाई अपराध अनुसार सजायँ नदिए अरूलाई जिउधन जोगाउन गाह्रो हुन्छ’ भन्ने पद्मसम्शेरको भनाइ रहेको बताउँदै गोरखापत्रले लेखेको छ, ‘आफ्ना रैतीहरूउपर सरकारको त्यो समभावको प्रशंसा हामीले जतिसुकै गरे पनि थोरै नै हुन्छ।’

अर्को महत्वपूर्ण कुरा दम्पतीबीचको उमेर र जातको पनि छ। दलबहादुरको उमेर अन्दाजी वर्ष ६२ को भएको देखिन्छ भने उसकी स्वास्नी मात्र वर्ष ३५ की। उनीहरूबीच अन्तर्जातीय विवाह भएको छ- लोग्ने कार्की (क्षेत्री) छ भने श्रीमती नेवार। दैनिक मजदुरी गर्ने गरिब दलबहादुरलाई एउटा समाचारमा निकै बलियो र हट्टाकट्टा जसरी प्रस्तुत गरिएको छ, यद्यपि उसको उमेर अलि बढी देखिएको छ। पहिले भोटे भनिएको काजीमानलाई पछि गएर तामाङ भनिएको छ। अनि, पछिल्लो समाचारअनुसार कार्कीको अर्को एक छोरो पनि भएको र ऊ जीवितै भएको बुझिन्छ।

२००३ साल कात्तिक ६ गतेको गोरखापत्रमा ‘कुम्भेश्वरको खूनमुद्दामा पर्नेहरू’ को नाम र दण्ड-सजायँको प्रकार दिइएको छ। सो ज्यानमुद्दामा तीनजना-जीतबहादुर कसाही, बांगेचा भन्ने पुनवीर कसाही र कृष्णलाल कामी-लाई मृत्युदण्डको सजाय तोकिएको छ। अर्का तीनजना-बांगेचा भन्ने सिंहवीर ज्यापू, छ्याकचा भन्ने सीलाल ज्यापू र साँहिला पोडे-लाई दामल गर्नु भन्ने भएको रहेछ। त्यस्तै, आठ जनालाई जनही ६÷६ वर्षका दरले कैद, चार जनालाई ३÷३ वर्षको दरले र नौ जनालाई ३÷३ महिनाका दरले कैद गर्ने फैसला भएको देखिन्छ। यो मुद्दामा २९ जनाको अंश सर्वस्व भएकोमा दामल हुने तीन जनाबाहेक अरूको सर्वस्व फिर्ता हुने भएछ। ‘भट्टीवाल कसाहिनीलाई लागेको असुल भैसकेको दण्ड मोरु. १२० निजले साँचो कुरा बयान गरेकोले निगाहाबाट फिर्ता दिनु’ पनि भन्ने भएको रहेछ।

यो मुद्दासम्बन्धी गोरखापत्रमा सम्भवतः अन्तिम सामग्री २००३ साल माघ २५ मा ‘नरराक्षसहरूलाई प्राणदण्ड’ शीर्षकमा छापिएको छ। सो सम्पादकीय (? ) को लिड थियो, ‘कुम्भेश्वरको हत्याकाण्डमा सरीक भै प्रमुख भाग लिने तीन जना नरपिचाशहरूलाई फाँसीको सजायँ भयो। यी तीनै जना पिचाशहरूले कार्कीकै घर अघिल्तिर एकै दिन एउटै खामोमा प्राणदण्ड पाए।’ जहाँ दलबहादुरको हत्या गरिएको थियो सोही स्थानमा सार्वजनिक रूपमा ती तीन जनालाई फाँसी दिइएको थियो।

फाँसी दिइएको घटना हेर्न ‘हजारौं’ दर्शकहरू ओइरेका थिए। तिनै दर्शकमाझ थियो, दलबहादुरको छोरो। गोरखापत्रका अनुसार दर्शकहरूले ‘करतलध्वनि’ गरेका थिए। गोरखापत्रको अन्तिम सामग्रीको अन्तिम वाक्य उद्धृत गर्दै यो लेखलाई पनि यहीँ बिट मारौं, ‘अन्त जे होस्, नेपाल सरकारमा त धन वा अरू कुनै कुराको आडमा कसैले यस्ता क्रूर अमानुषिक कर्म गर्छ भने उसले त्यसको उचित फल पनि तात्तातै भोग्नुपर्ने कुरो पनि निश्चितै छ है।’ @parajulilr


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.