हिमपात रोक्न लामा पूजा (तस्बिर)
डोल्पा : तीन दिनदेखि निरन्तर हिमपात भएपछि हिमपात रोक्न लामा पूजा गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका ९ पुग्मो गाँउमा हिउँ रोकियोस् भनेर लामा पूजा गरिएको हो ।
हिउँ कम परोस् भनेर पुग्मो बासीले श्रद्धेय धर्म गूरु गेखो रिन्छेन ग्याल्छेनको नाममा रहेको स्तुपामा लामा पूजा गरेका हुन् । पूजापश्चात हिउँ पर्न रोकिने विश्वास रहेको स्थानीय रिग्जीन बैजीले बताए ।
लगातारको हिमपातले घरबाहिर निस्कनसमेत कठिन भएपछि हिउँमा नै गूरुको स्तुपामा पूजा गरेको स्थानीय बताउँछन्। हिउँ पर्न रोकिनुका साथै हिउँ पहिरोबाट क्षति नहोस् भनेर गूरु लामाको पूजा गरेको बैजीले बताए ।
डोल्पामा करिब २ फिटभन्दा धेरै हिउँ परेको छ । बुधबार रातिदेखि परेको हिउँले डोल्पा पूरै ढाकेको छ । यस वर्ष सबैभन्दा धेरै हिउँ परेको तर जमिनमा तापक्रम बढिरहेकोले हिउँ पहिलाजस्तो नजमेको कार्यक्रमका संयोजक आङबहादुर लामाले बताए ।
हिमपात र वर्षाले जिल्लाका विभिन्न क्षेत्रको सञ्चार, विद्युत, खानेपानी, सडकलगायत अवरुद्ध भएका छन् । एक गाँउबाट अर्को गाँउमा आवत-जावत गर्नसमेत नमिल्ने जगदुल्लाका हरिबहादुर थापाले जानकारी दिए ।