गिद्धको कब्जामा रेडियो टावर

अमेरिका र मेक्सिकोको सिमानामा अवस्थित छ, ३ सय २० फिट अग्लो रेडियो टावर। यो टावर गिद्धहरूले ‘कब्जा’ गरेपछि अमेरिकी सीमा सुरक्षा फौज (सीबीपी) लाई नयाँ टाउको दुखाइ थपिएको छ। उसले त्यहाँबाट गिद्ध भगाउन ठेकेदारहरूसँग टेन्डर आह्वान गरेको छ।
टेक्सास राज्यस्थित किंग्सभिलमा रहेको रेडियो टावरमा अहिले तीन सयभन्दा बढी गिद्ध बस्छन्। त्यहाँ उनीहरूले गुँड लगाएका छन्।
सीबीपीले गिद्धका कारण रेडियो टावरका कर्मचारीलाई सास्ती भएको बताएको छ। ‘टावरमा थुप्रै गिद्धले गुँड लगाएका छन्,’ सञ्चारमाध्यमसँग सीबीपीका प्रवक्ताले भने, ‘टावरको संरचनाभरि गिद्ध बसिरहेका हुन्छन्। तिनका दिसा–पिसाबको गन्ध सहिनसक्नु छ। रेडियो टावरमुनि काम गर्ने कर्मचारीले निकै सास्ती भोग्नुपरेको छ।’
यसअघि पनि गिद्धका कारण टावरमा काम गर्ने कर्मचारीले सुरक्षाको जोखिम बेहोर्नुपरेको उल्लेख गरिएको छ। ‘तीन सय मिटरको उचाइबाट कहिलेकाहीँ गिद्धले आफ्नो शिकार भुइँमा खसाल्ने गरेका छन्,’ सीबीपीका प्रवक्ताले भने, ‘गिद्धको शिकार मान्छेमाथि बज्रिएका केही घटना छन्।’
गिद्धका दिसा–पिसाब र फोहोरबाट रेडियो टावरका कर्मचारीलाई स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने पनि सीबीपीले जनाएको छ। उसले अगस्टअघि नै जाली प्रणाली प्रयोग गरेर गिद्धबाट रेडियो टावरलाई मुक्त गर्नका लागि टेन्डर आह्वान गरिसकेको छ। अगस्ट गिद्धले गुँड लगाउने याम हो। सीबीपीले अगस्टअगावै समस्या हल हुने आश गरेको छ।
प्रतिक्रिया दिनुहोस !
