कैलालीमा नमुना च्याउ उद्योग
धनगढी : धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँका कमल घर्तिमगर नमुना च्याउखेती गर्न सफल भएका छन्। धनगढी बजारभन्दा झण्डै ७ किलोमिटर टाडा पर्ने जुगेडामा उनले सुदूरपश्चिमको पहिलो च्याउखेती उद्योग सञ्चालनमा ल्याएका छन्। सुरुमा तरकारीखेती गरेका कमलले हाल च्याउ प्रशोधन केन्द्र खोलेका हुन्। २०६५ सालदेखि च्याउ खेती सुरु गरेका उनले २०७१ सालमा २० लाख लगानीमा कमलले जुगेडामै ओम केदार च्याउ तथा तरकारी फर्म सञ्चालनमा ल्याएका हुन्।
लगानी बढाउँदै उनले २०७३ सालमा एसियाली विकास बैंकको सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिज्मएफपी) र आफ्नो गरी १ करोड ८ लाख लगानीमा प्रशोधन केन्द्र सञ्चालमा ल्याएका हुन्। उनको च्याउमा अहिले दुई करोडभन्दा बढी लगानी पुगिसकेको छ। उनले कन्ये र गोब्रे दुवै च्याउको खेती गरेका छन्। यस वर्ष ३५ वटा टहारमा उनले च्याउखेती गरेका छन्।
विभिन्न आधुनिक प्रविधिसहित व्यवसाय थालेका उनी गोब्रे च्याउको क्यानिङ अर्थात् प्याकेजिङ गरी २ वर्षसम्म खान सकिने प्रविधिको विकास र च्याउको पाउडर निर्माण मुलुकमै पहिलो पटक भइरहेको दाबी कमलले दाबी गरे। ‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको गोबे्र च्याउ आयात हुँदै आएको छ। हालसम्म हाम्रो यहाँबाहेक मुलुकको अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन। हाम्रो प्रतिस्पर्धा भारत र चाइनासँग मात्रै हो’, उनी भन्छन्।
उद्योगको प्रतिघण्टा साढे २ क्विन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्विन्टल गोबे्र च्याउ क्यानिङ गर्न सक्ने क्षमता छ। २ बिघा क्षेत्रफलमा फैलिएको उद्योग तथा च्याउखेतीले ग्राहकको माग पुर्याउन मुस्किल भएको छ।
कन्ये च्याउको बीउ राख्दै कामदार।
च्याउको बजार पनि अति नै राम्रो छ। पछिल्लो समय च्याउ मानव स्वास्थ्यका लागि लाभदायिक रहेको चेतना सर्वसाधारणमा जाग्दै जान थालेपछि बजार पनि बढ्दै गएको कमल बताउँछन्। उत्पादित च्याउ धनगढी, अत्तरिया, पुनर्वास, बैतडी, डडेल्धुरा, नेपालगञ्ज काठमाडौंसमेत आपूर्ति हुँदै आएको छ।
डेढ सय रुपैयाँ सापट लिएर माटोमै सुन फलाउने लक्ष्यका साथ २०५७ सालमा कृषि पेसामा लागेका कमलले सुदूरपश्चिममा च्याउखेतीमा कमाल नै गरेका छन्।
दृढ इच्छा शक्ति भए व्यवसाय गर्न सर्टिफिकेट नै नचाहिने उनले प्रमाणित गरेका छन्। नेपालमा औपचारिक शिक्षा कक्षा ७ सम्मको मात्रै हासिल गरेका कमलले भारतका ३ वटा प्रख्यात कृषि विश्वविद्यालयबाट प्राविधिक ज्ञान लिएका हुन्। च्याउखेतीबाट उनले ८ जनाको परिवार सहजै पालेका छन्। ४५ जनाभन्दा धेरैलाई रोजगारी दिएका छन्।
उनले वार्षिक ४० देखि ५० लाख आम्दानी गर्न सफल भएका छन्। ‘च्याउ प्रशोधन उद्योगको परीक्षण गरिरहेको छु’, कमलले भने, ‘कैलालीको जुगेडालाई च्याउ पकेट क्षेत्र बनाउने योजना छ। अन्य छिमेकी पनि च्याउ खेतीमा आकर्षित भएका छन्। यो पनि एक सकारात्मक कदम मान्नुपर्छ।’ उनको च्याउ फार्म यस क्षेत्रको अध्ययन केन्द्र बनेको छ।