सुदूरपश्चिम सरकारको बजेट खर्च १० प्रतिशत
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा १० प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलनमा पुस मसान्तसम्म १० दशमलव १८ प्रतिशत खर्च गरेको जानकारी दिएको हो।
प्रदेश सरकारको चालु आर्थिक वर्ष ०७६÷७७ को कुल बजेट २८ अर्ब १६ करोड २० लाख ३५ हजार छ। सरकारले त्यसमध्ये जम्मा २ अर्ब ८६ करोड ८२ लाख ७५ हजार मात्र खर्च गरेको छ। बजेट खर्च निकै सुस्त रहे पनि मन्त्रालयले खर्चको दर विगतभन्दा बढी रहेको दाबी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले यस वर्ष खर्च गर्ने दर बढाएको दाबी गरे। यसअघिको तुलनामा यस वर्ष खर्चमा २ सय ३९ प्रतिशत वृद्धि भएको उनको भनाइ छ।
‘चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्ब १६ करोड २० लाख ३५ हजार बजेटमध्ये पुस मसान्तसम्म २ अर्ब ८६ करोड ८२ लाख ७५ हजार बजेट खर्च भएको छ,’ मन्त्री बोहराले भने, ‘यो कुल बजेटको १० दशमलव १८ प्रतिशत हो। जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४ दशमलव ९५ प्रतिशत बजेट मात्र खर्च भएको थियो।’ उनले सत्प्रतिशत बजेट कार्यान्वयन गर्नेतर्फ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयसँग आवश्यक समन्वय थालेको र सरकार अत्यन्त सजग भएर बजेट खर्च र विकास निर्माणमा लागिपरेको दाबीसमेत गरे।
उनले प्रदेशको राजस्व संकलनमा समेत सुधार भएको बताए। चालु आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाखमध्ये हालसम्म ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजस्व संकलन भइसकेको उनले जानकारी दिए।
कुल विनियोजनमध्ये पूँजीगततर्फ १ अर्ब ३४ करोड ५२ लाख ९३ हजार खर्च अर्थात् १० दशमलव ३० प्रतिशत खर्च भएको छ। जबकि गत आर्थिक वर्षमा १ दशमलव ४१ प्रतिशत मात्र खर्च भएको थियो।