‘ठाकठुक पनि चालकसँगै माया पनि चालकसँगै’

‘ठाकठुक पनि चालकसँगै माया पनि चालकसँगै’

कति वर्ष भयो ट्राफिक प्रहरी भएर सेवा दिन थाल्नुभएको ? 

१३ वर्ष भयो। 

सरको घर कता पर्‍यो ? 

बैतडी। 

यता कहाँ बस्नुहुन्छ ? 
विशालबजार पछाडिको ब्यारेकमा बस्छु। 

ट्राफिक बन्नुअघि कुनै पेशामा आबद्ध हुनुहुन्थ्यो कि ? 
गाउँनजिकैको स्कुलमा पढाउँथें।

शिक्षकको जागिर छाडेर किन प्रहरीमा आइयो ?
मेरा धेरैजसो साथीभाइ फोर्समै जागिरे छन्। त्यसैले यतैतिर आइयो।
 
ट्राफिकको जागिर कस्तो चल्दै छ त ? 
धुलोधुवाँ, घामपानी, गर्मी–जाडो, हर्नको हल्लाबीच जागिर चलेकै छ। 

सीधै ट्राफिकतिर आउनुभएको हो कि सिभिलमा पनि काम गर्नुभयो ? 
दुई वर्षजति जनसेवामा काम गरेँ। 

अहिलेसम्म कहाँ–कहाँ ड्युटी गरियो ? 
उपत्यकाभित्र र बाहिर दुवैतिर काम गरियो। सात वर्ष उपत्यकामा काम गरेँ। कपिलवस्तु, रुकुम, सुर्खेत, बुटवललगायत ठाउँमा छ वर्षजति ड्युटी गरेको छु।
 
यता चाहिँ कहिलेदेखि ड्युटी गरिरहनुभएको छ ? 
यसअघि बौद्धमा थिएँ। त्यहाँ १३ महिना काम गरें। अहिलेसम्मको जागिरमा सबैभन्दा बढी धुलो र हिलो त्यहीँ देखियो। त्यसपछि यता सिफ्ट भएको हुँ।
 
ट्राफिक प्रहरीको जागिरमा अहिलेसम्मको अनुभव कस्तो रह्यो त ? 
ट्राफिक प्रहरीको आधा जीवन त सिटी फुक्दै र हात हल्लाउँदै जान्छजस्तो लाग्छ। पहिलेको तुलनामा अहिले काम गर्न अलिक गाह्रो छ। किनकि, दिन प्रतिदिन गाडीमोटरको चाप बढ्दो छ। त्यहीअनुसार ट्राफिक जाम पनि बढ्दै गएको छ। अहिलेका तन्नेरी चालकले त्यस्तै निहुँ खोज्छन्। ट्राफिक नियम मिच्छन्, हामीले नियमअनुसार कारबाही गरे रिसाउँछन्। ठूलो कुरा गर्छन्, पावर लगाएर छुट्ने धम्की दिन्छन्। 

मापसे कारबाहीमा कत्तिको पर्छन् ? 
दिनमा छ÷सात जनाजति पर्छन् नै। मापसे कारबाहीमा धेरैजसो युवा नै पर्ने गर्छन्। 

कस्तो खाले कारबाही गर्नुहुन्छ ? 
मापसेमा परेको चालकले जरिवाना तिर्नुपर्छ। उसलाई गाडी हाँक्न दिँदैनौँ। लेन मिचेको छ या अन्य गल्ती गरेको छ भने सवारी जफत गर्ने र केही दिनको ट्रेनिङ दिएर पठाउँछौँ। 

चालकसँग ठाकठुक पर्छ कि नाइँ ? 
किन नपर्नु ? उनीहरूसँग नपरे कोसँग हाम्रो ठाकठुक पर्नु ? ट्राफिक र चालकको सम्बन्ध नङ–मासुजस्तै हो। ठाकठुक पनि उनीहरूसँगै, माया पनि उनीहरूसँगै। दशैँतिहारमा सडक खाली हुँदा गाडी, चालक–सहचालकको न्यास्रो लाग्छ।

बिदामा के गरिन्छ ?
खासै बिदा हुँदैन। कामबाट थोरै समय निकालेर सरसफाइ र आराम गरिन्छ। हप्तामा छुट्टी नबस्दा कहिलेकाहीँ १० दिनजतिको लामो बिदा लिएर बस्न पाइन्छ। त्यो समयमा परिवारका सदस्यलाई समय दिने गरेको छु।
 
यो क्षेत्रका ट्राफिक समस्या के–के हुन्  ? 
सवारी चापबाहेक बाइकवालाको लापरबाहीले गर्दा दिनहुँ सानातिना समस्या आइरहन्छन्। अनधिकृत पार्किङले पनि त्यस्तै दुःख दिएको छ। व्यापारिक क्षेत्र भएकाले नगरपालिकाले कहिलेकाहीँ छड्के हान्छ तर व्यवस्थापनमा खासै ध्यान दिँदैन। यत्रतत्र गरिने पार्किङले गर्दा जाम निकै हुन्छ। जसले गर्दा पैदलयात्रीलाई समस्या हुन्छ। 

प्रस्तुतिः अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.