बलिदानी दिवस : सहिद परिवारको विच्चली
विराटनगर : मोरङ डाइनियाका शिवु माझी भारतको पञ्जावमा मजदुरी गरेर परिवार पाल्दै आएका थिए। पाँच जनाको परिवार उनकै कमाइमा आश्रित थियो। केही समयको विदा लिएर शिवु घर आएका थिए। त्यतिबेला नै संघीय संरचनाको सिमांकन विरोधमा मधेशीकेन्द्रित दलले आन्दोलन चक्राएको थियो। आन्दोलनमा प्रहरीले चलाएको गोली लागरेर शिवुको मृत्यु भयो।
उनको मृत्युपछि परिवार अभिभावकविहीन भयो। पतिको मृत्युपछि बालबच्चा हुर्काउन र परिवारको खर्च धान्नै मुस्किल भएको शिवुकी पत्नी शिखा माझीले बताइन्। ‘सुरुमा सबैले सहयोग गर्ने आश्वासन दिए। अहिले कोही सोध्न पनि आउँदैनन्,’ उनले गुनासो गरिन्, ‘ठूला भएका बालबच्चालाई शिक्षादीक्षा कसरी दिने भन्ने चिन्ताले सताउँछ।’
कटहरि–५ का सहिद निर्मल राजवंशीका पिता राजकुमार राजवंशीले मधेसवादी दल नै सहिद परिवारप्रति उदार नभएको बताए। ‘छोराले मधेसको अधिकार स्थापित गर्न आफ्नो ज्यान नै बलिदानी दियो। तर हामीले हाम्रो घरको खम्बा नै गुमायौं। घरको मजबुत खम्बा नै ढल्दा घर कमजोर हुनेरहेछ’, उनले भने। सुरुमा आफ्नो स्वार्थ पूर्ति हुँदा विभिन्न सुविधा उपलब्ध गराउने आश देखाएका मधेसी दलका नेताहरूले नै मुख फेर्न थालेको उनी बताउँछन्।
मधेश आन्दोलनका क्रममा २०६३ माघ २४ गते निर्मलले सहादत प्राप्त गरेका थिए। कृषि पेसा गर्दै आएका राजवंशीका सन्तान पढेका भए पनि सहिद परिवारकै सदस्य भनेर कसैले रोजगारीमा प्राथमिकता नदिएको उनको गुनासो छ। चार सन्तानमध्ये कान्छा छोरा बिमलले सीएमए (आयुर्वेद), छोरी कविताले जेटीए र जेठी छोरी पवित्रालाई स्नाकतसम्म पढेकी छन्।
अध्ययन पूरा गरेका छोराछोरीले रोजगारी नपाएको उनको गुनासो छ। सहिद परिवारका सदस्यलाई राज्यले सहज रूपमा रोजगारी उपलब्ध गराउनुपर्ने उनको माग छ। सहिद सदानन्द यादवको १३ वर्षपछि विराटनगर १४ स्थित खयरवानामा स्मारक बनाइएको छ।
‘समग्र मधेस, एक प्रदेश’ स्थापनाका लागि भएको आन्दोलन र त्यसपछि थरुहट मधेस आन्दोलनका लागि सहादत प्राप्त गरेका सहिद परिवारलाई राज्यले नहेर्दा परिवारको विचल्ली भएको छ। प्रदेश नम्बर १ को मोरङ र सुनसरीमा भएको मधेश आन्दोलनको क्रममा भएका सहिद परिवारलाई प्रदेश सरकारसँगै आन्दोलनको अगुवा गर्ने दलका नेताले पनि वेवास्ता गरेको सहिद परिवारको गुनासो छ।
एक दशकको अन्तरालमा भएको तीन मधेश आन्दोलनका क्रममा सहिद भएकाका आफन्तहरूलाई प्रदेश नं २ को सरकारले रोजगारी दिने निर्णय गरे पनि १ नम्बर सरकारले उदासिनता देखाएको छ। पहिलो मधेस आन्दोलनमा मोरङमा ६ जना, इनरुवामा २ जना, रामगञ्ज बेलगछियमा एक जना सहिद भएका थिए। दोस्रो मधेस आन्दोलनको क्रममा दुहवीमा एकजना सहिद भएका थिए। पछिल्लो पटक प्रदेशको सीमांकनमा केन्द्रित भएर गरिएको ६ महिने मधेस आन्दोलमा मोरङका तीन जना सहिद भएका थिए।
प्रदेश नम्बर १ बाट मधेश आन्दोलनमा सहिदका आफन्तले सरकारको तर्फबाट प्रदान गरिएको १० लाख बाहेकका अन्य सुविधा नपाएको बताउँछन्। संघीयता ल्याउन महत्पूर्ण भूमिका मधेश आन्दोलन भएता पनि प्रदेशपछि हुने गरेको फरक व्यवहारले आफू अपमानित महसुस गरेको सहिद परिवारले बताएका छन्।
‘आन्दोलनको एजेन्डा र मुद्दा संविधानमा संस्थागत पनि भएन,’ सहिद द्रौपदी चौधरीका पति जयनाथप्रसाद चौधरीले भने, ‘राज्यले केही सहयोग पनि गरेन।’ उनले आन्दोलनमा पत्नी सहिद भएपछि परिवार नै विच्चलीमा परेको बताए। राजपाका केन्द्रीय प्रवक्ता दिनेश मेहताले मधेस आन्दोलनका सहिद परिवारप्रति प्रदेश सरकार अनुदार भएको आरोप लगाए। ‘आन्दोलनले स्थापित भएका दलहरू सरकारमा गएपछि नचिन्ने र बाहिर आउँदा भोटका लागि आश्वासन दिनेमात्र काम भएको छ’, उनले भने।