यसरी दिइन् उपसभामुखले राजीनामा
काठमाडौं : ‘मेरो के गल्ती छ ? एक जनाको दोषको म किन भागिदार बन्ने ? एकजना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने ? मैले उपसभामुख छोड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस्’ आइतबार साँझसम्म उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे नेकपा शीर्ष नेतृत्वलाई वारम्वार यही प्रश्न गरिरहेकी थिइन् ।
सकभर सभामुखमा आफैँ उम्मेदवार बन्न उनले निक्कै कोसिस पनि गरिन् । जव आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भयो, त्यसपछि उनको दौडधुप काम लागेन ।
अन्तिमसम्म पनि संघीय संसदको प्रतिनिधिसभालाई नेतृत्व विहीन अवस्थामा छोड्न आफनो पदीय जिम्मेवारीले नदिने अडानमा रहेकी उनले अन्ततः सोमबार पदबाट राजीनामा दिइन् । आफु उपसभामुख निर्वाचित उनकै ‘पार्टी’ नेकपालाई सभामुख पदमा उम्मेदवारी दिन संबैधानिक रुपमै बाटो खोलिदिइन् ।
‘सभामुख’ मा पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म पदवाट राजीनामा नदिने शर्त पार्टी नेतृत्वका सामु तेस्र्याएकी शिवमायाले आफनो अडान त जितिन्, तर आफ्नो पदीय हैसियत जोगाउन सकिनन् । ४ पुसमा शुरु संसदको हिउँदे अधिवेशन यो बीचमा तीन पटक सूचना टाँस गर्दै स्थगित भयो तर उनले सत्तारुढ दल नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन् । संसदमा समेत उनले बैठक नै राखेर आफुले राखेको अडानको वचाउ गरिन् र मात्र पदबाट राजीनामा गरिन् ।
सोमबार प्रतिनिधीसभाको पहिलो वैठकमा डा तुम्वाहाम्फेले दुई पृष्ठको लिखित मन्तब्य दिइन् । त्यसपछि बैठक दुई घण्टा स्थगित गरेर बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन् ।
राजीनामा अगाडी उनले सोमबार विहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर समेत भेटेकी थिइन् । त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा दुई अध्यक्षसँग छलफल गरेकी उनी निकट स्रोतले बतायो ।
‘पहिले संसद बैठक चलाउने, त्यहाँ आफ्ना कुरा सांसदहरुका बीचमा राख्ने र आफनो अडान संसदमा रेकर्ड गराउने, त्यसपछि पत्रकार सम्मेलन गर्ने र अर्को बैठक राखेर त्यही दिन राखेर जेष्ठ सदस्यको अध्यक्षतामा बैठक राखी सभामुख निर्वाचन प्रक्रिया थाल्ने’ उनले प्रधानमन्त्री ओली र दाहालसँग आफुले कसरी राजीनामा दिने भन्ने बारेमा वेलिविस्तार लगाइन् । उनको राजीनामाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न बिहानै प्रधानमन्त्री निवास वालुवाटार दाहाल पुगेका थिए । त्यहीँ तुम्वाहाम्फेलाई बोलाई दुई अध्यक्षले छलफल गरेका थिए ।
वालुवाटारबाट आधा घण्टा छलफल गरेर सिंहदरबार फर्केकी डा तुम्वाहाम्फेले कार्यव्यवस्था परामर्शको बैठक बोलाउने तिर नलागी कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँण र सचेतक पुष्पा भुषालसँग कुरा गरिन् । संसदमा आफुले दिने मन्तब्यको भाषाका विषयमा सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङलाई बोलाई छलफल गरिन् । आफुले तयार पारेको ड्राफ्ट पढेर सुनाइन् ।
त्यसपछि नै संसदको वैठक राखेर डा तुम्वाहाम्फेले आफनो दुईपृष्ठे लिखित मन्तब्य सोमबारको संसद बैठकको पहिलो सत्रमा दिएकी थिइन् । संसदको पहिलो सत्र सकेपछि डा तुम्वाहाम्फेले संसदको सभामुखलाई सम्वोधन गर्दै संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधीसभा नियमावली २०७५ को नियम २११ को उपनियम (१) वमोजिम उपसभामुख पदवाट राजीनामा दिएकी हुन् ।
०००
पत्रकार सम्मेलनमा उनले राजीनामा संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई बुझाएकी थिइन् । महासचिव भट्टराईले अन्नपूर्णसँग भने, ‘उहाँ(शिवमाया)ले पहिलो सत्रको संसद बैठकपछि मलाई सभामुखलाई सम्वोधन गरेर मलाई राजीनामा बुझाउनु भएको हो,’ महासचिव भट्टराईलाई राजीनामापत्र बुझाएपछि उनले वानेश्वरकै शंकर हलमा पत्रकार सम्मेलन आयोजना गरिन् ।
हलको एउटा कुनामा नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ र अर्कोसँगै रहेको कोठामा नेकपाका महिला सांसदहरुलाई राखेर पत्रकारहरुसँग शिवमायाले झण्डै आधा घण्टा कुरा गरिन् ।
उनले आफुले पद छोड्नु परे पनि वाजी भने आफैँले मारेको जिकिर गरिन् । उनले भनिन्,– ‘मैले जे बोलेँ त्यो पुर्याए, नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ । बाजी मैले नै मारें । अब मेरो कामको ट्रयाक चेन्ज भएको छ । परिवर्तन भएको छ । युटर्न भएको छ । म नयाँ लक्ष्यसहित अगाडि बढ्नेछु ।’
तुम्वाहाम्फेले सोमबारको संसदको पहिलो बैठकमै दुई पेजको मन्तब्य दइरहँदा नै कतिपय सांसदहरुलाई लागेको थियो, उनले संसदबाटै राजीनामाको घोषणा गर्ने भइन् । तर उनले त्यसो गरिनन् । उनको संसदको मन्तव्य नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल सम्वोधन भइरहँदा अघि पछि गएर केही बेर सुने ।
‘दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि सम्वैधानिक ओहोदामा बसुन्जले सम्वन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन, सम्वैधानिक र कानुनी प्रवन्ध अनुसार निर्देशित भएर क्रियाशिल हुन्छ । मैले पनि यसै अनुसार नै इमान्दिारिताका साथ कर्तब्य पूरा गर्ने प्रयास गरेकी छु’ उनले संसदमा वोल्दै भनिन्,–‘समावेशी लोकतन्त्रका माध्यमवाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा, अविचलित र अवि श्रान्त रुपमा क्रियाशिल भईनै रहने छु ।’