प्रशासनमा व्यावसायिकताको प्रश्‍न

प्रशासनमा व्यावसायिकताको प्रश्‍न

विगत केही समययता नेपालमा उच्चस्तरीय राजनीतिक नेतृत्वबाट प्रशासनले आफूलाई सहयोग नगरेको मात्र होइन कि शासकीय प्रणालीका मूलभूत मुद्दाको जानकारी नै नराखेको जस्ता गुनासा अभिव्यक्त भएका छन्। यो चिन्ताको विषय हो। राजनीतिक नेतृत्व र सार्वजनिक प्रशासनको व्यावसायिकता (प्रोफेसनालिज्म) का बीच बलियो तादात्म्य रहेन भने विकासको कार्यसूची कुण्ठित हुन जान्छ।

सार्वजनिक प्रशासनको असहयोगको चर्चा चलेको प्रसंगमा एकजना बेलायती प्रधानमन्त्री (हेरोल्ड विल्सन) को स्मरण हुन्छ। सन् १९६० को दशकको अन्त्यतिर दुईदुईपटक बेलायतका प्रधानमन्त्री भएका विल्सनलाई प्रशासनको र खासगरी सुरक्षा संयन्त्रको सहयोग नभएको अनुभव गरिएको थियो। तर उनी आफैंले भने यसलाई बाहिर ल्याएनन्। यद्यपि आफ्नो दोस्रो कार्यकालमा स्वास्थ्यको कारण देखाई उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए। यसले के देखाउँछ भने नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नो सहयोगका लागि तर्जुमा गरिएका संस्थाबाट सहयोग पाएन भनेर सार्वजनिक अभिव्यक्ति दिनु राजनीतिक परिपक्वता होइन।

यहाँनेर सहजै बुझ्न सकिने विषय विशुद्ध व्यावसायिकता र राजनीतिक कार्यशैलीका बीच यदाकदा टकराव हुन्छ नै। एउटा विशेषज्ञ चिकित्सकलाई आफ्नो बिरामीको शल्यक्रिया छिटो गर वा यो तरिकाबाट गर भनी उनको राजनीतिक सुपरिवेक्षकले भन्न मिल्दैन। किनभने शल्यक्रियाको प्राविधिक पक्षको जिम्मेवारी सम्पूर्णरूपमा चिकित्सकको हुन्छ। सार्वजनिक प्रशासनमा काम गर्ने व्यावसायिक विशेषज्ञलाई पनि यस्तै अर्थमा हेर्नुपर्ने हुन्छ। यद्यपि यस क्षेत्रको व्यावसायिकता र चिकित्सा विज्ञानका क्षेत्रमा देखिने व्यावसायिकताबीच फरक छ। सार्वजनिक प्रशासनमा व्यावसायिकताको बहस झन्डै ५० वर्ष पुरानो छ।

नेतृत्व सम्हाल्ने व्यक्तिले आफ्नो सहयोगका लागि तर्जुमा गरिएका संस्थाबाट सहयोग पाएन भनेर सार्वजनिक अभिव्यक्ति दिनु राजनीतिक परिपक्वता होइन

पहिले-पहिले प्रशासन चलाउन सामान्य ज्ञान भएको जोसुकैले पनि सक्छ भन्ने मान्यता थियो। सार्वजनिक प्रशासनले समेट्नुपर्ने विकासका मुद्दाको जटिलता बढ्दै गएका बेला यस क्षेत्रमा पनि व्यावसायिकता आवश्यक पर्न थालेको हो। यसै क्रममा सार्वजनिक प्रशासन क्षेत्रमा महत्‍वपूर्ण बौद्धिक नेतृत्व प्रदान गर्ने ‘ड्वाइट वाल्डो’ जस्ता अमेरिकी विद्वानले त ‘प्रशासनिक राज्य’ को परिकल्पनासमेत गरेका छन्। अर्थात् राज्यप्रणालीमा प्रशासनले केन्द्रीय भूमिका खेल्छ भन्ने विषयमा उनीहरूले जोड दिएका छन्।

यसै प्रसंगमा एक पाइलो अघि सरेर अर्का विद्वान् फ्रेडरिक मोसरले त सम्पूर्ण राज्यप्रणालीलाई नै एक व्यावसायिक संस्थाका रूपमा हेरिनुपर्ने मान्यता राखेका छन्। त्यसो त हालैका वर्षमा राजनीतिक नेतृत्वमा व्यावसायिक प्रशासनप्रति गुनासो गर्ने प्रचलन अन्य मुलुकमा पनि देखिन्छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईए, एफबीआईजस्ता व्यावसायिक अर्थमा उत्कृष्ट ठहरिएका संस्थाहरूको खुलेरै विरोध गर्नुले उक्त कुराको पुष्टि हुन्छ। इटाली, अस्ट्रिया, निदरल्यान्डस् र भारतमा हालै सम्पन्न निर्वाचनले पनि सार्वजनिक प्रशासनको व्यावसायिकतालाई प्रत्यक्ष वा परोक्ष रूपमा चुनौती दिएका छन्।

राजनीतिक नेतृत्वमा मात्र होइन, सर्वसाधारण नागरिकमा पनि ‘विशेषज्ञ’ हरूप्रति गहिरो असन्तुष्टि देखिन थालेको छ। उनीहरूको गुनासो केमा केन्द्रित छ भने निर्वाचन प्रक्रियाबाट नआएका र जनउत्तरदायित्व निर्वाह गर्नुपर्ने बाध्यता नरहेका विशेषज्ञहरूले राज्य सञ्चालन प्रक्रियामा निर्णायक भूमिका खेल्ने गरेका छन्। अमेरिकामा अर्थतन्त्रको मेरुदण्ड भनेर बुझिने ‘वाल स्ट्रिट’ कब्जा गर भन्ने अभियान त्यहाँ मात्र सीमित छैन, अन्य विकसित र औद्योगिक मुलुकमा पनि यसको असर देखियो। अर्थात् विशेषज्ञहरूलाई तह लगाउनुपर्छ भन्ने आन्दोलनमा धेरै नागरिक समुदायको समर्थन रहेको देखिएको छ। ड्वाइट वाल्डोले भने झैं प्रशासनिक राज्यको अवशान हुन थालेको त होइन? तर यसले मात्र व्यावसायिक प्रशासनको मान्यतालाई चुनौती दिन सक्दैन।

व्यावसायिक प्रशासनलाई मुख्यतः दुई अर्थमा बुझ्न सकिन्छ। एकातिर यसलाई प्रशासनिक कार्यसम्पादन बढाउने माध्यमका रूपमा र अर्कातिर निष्ठा र मूल्यहरूमा समर्पित रहने प्रतिबद्धताका अर्थमा बुझ्न सकिन्छ। यसो हो भने राजनीतिक नेतृत्वले प्रशासनको व्यावसायिकतालाई लिएर खासै चिन्ता लिनु पर्दैन। वस्तुतः राजनीतिक नेतृत्वले लिएका निर्णय कार्यान्वयन गर्दा व्यावसायिक प्रशासनले एक कोरियोग्राफरको भूमिका मात्र निर्वाह गर्ने हो। दर्शकका अगाडि नाच देखाउने त राजनीतिक नेतृत्वले नै हो।

यहाँनेर खासमा व्यावसायिकता भनेको के हो त भनेर हेर्नुपर्ने हुन्छ। कुनै एउटा संस्था वा व्यक्तिको व्यावसायिकता तीनवटा आधारमा परीक्षण गरिन्छ- विषयवस्तुको गहिरो ज्ञान, संस्थागत पहिचान र पेसागत आचरण।

विषयवस्तुको गहिरो ज्ञानका सन्दर्भको अध्ययन गर्दा के बुझिन्छ भने ज्ञानको क्षेत्र र उपक्षेत्रहरूको विकास भइरहेको छ। चिकित्सा विज्ञानको उदाहरण लिएर भन्ने हो भने अत्यन्त साँघुरो क्षेत्रमा असाध्य गहिरो ज्ञानको आवश्यकता पर्ने प्रवृत्ति बढ्दो छ। यही कुरा अन्य क्षेत्रमा पनि लागु हुन्छ। यसो हो भने सार्वजनिक प्रशासनसँग आबद्ध विशेषज्ञहरूले पनि आफ्नो विशेषज्ञता क्षेत्रलाई निरन्तर विकास गरिरहनुपर्ने हुन्छ। विशेषज्ञताको प्रयोगको एउटा अर्थ के हो भने यसले आवेग, संवेग र भावुकता अस्वीकार गर्छ। यस अर्थमा प्रशासनले पनि आफ्ना सेवाग्राहीप्रति समानुभूति प्रदर्शन नगर्ने हो कि भन्ने आशंका रहन सक्छ। स्पष्ट छ- सार्वजनिक प्रशासनका विशेषज्ञले यी दुइटा असजिला परिस्थितिमा सन्तुलन कायम गर्न सक्नुपर्छ।

कुनै पनि क्षेत्रका विशेषज्ञले आफूलाई एउटा छुट्टै टापुमा राखेर काम गर्न सक्दैन, यसो हुनु पनि हुँदैन। आफ्नो विषय क्षेत्रसँग सम्बन्धित अरू विशेषज्ञहरूसँग बारम्बार अन्तरसंवाद, सहयोग र परामर्श नगरी विशेषज्ञताको विकास वा प्रयोग हुन सक्दैन। त्यस्तो आपसी सहकार्य संस्थागत प्रक्रियाद्वारा स्थापित र विकसित हुन सक्छ। त्यसैले व्यावसायिक आबद्धता विशेषज्ञका लागि नभइनहुने वस्तु हो र सार्वजनिक प्रशासनमा पनि यो उत्तिकै महत्‍वपूर्ण हुन्छ।

पेसागत आचरण कायम गर्ने उद्देश्यले विभिन्न व्यावसायिक क्षेत्रमा स्कुल-कलेजदेखि नै आचरणसम्बन्धी शिक्षा प्रदान गर्ने गरिन्छ। यस प्रसंगमा सार्वजनिक प्रशासन अन्य क्षेत्रको तुलनामा केही पछाडि परेको देखिन्छ। त्यसैले नै होला यो विषय पढाउने कतिपय अमेरिकी विश्वविद्यालयहरूमा हिजोआज प्रशासनिक विशेषज्ञहरूका लागि नैतिकता र आचरणका कार्यक्रम पनि राख्न थालेका छन्।

यति हुँदाहुँदै पनि सार्वजनिक प्रशासनमा मात्र होइन, अन्य क्षेत्रहरूमा समेत व्यावसायिकताले चुनौती बेहोर्नुपरेको छ। उदाहरणका लागि सूचना प्रविधि र सामाजिक सञ्जालले व्यावसायिकताको महत्‍वलाई कमजोर पार्न थालेको छ। सामाजिक सञ्जालले हरेक विषयको तत्काल उत्तर प्रस्तुत गर्छ। यस प्रवृत्तिले व्यावसायिकताको धर्म निर्वाह गर्ने प्रसंगमा गरिनुपर्ने शोध, अनुसन्धान र अध्ययनलाई बेवास्ता गर्न सक्छ। अर्कातिर सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत प्राप्त हुने समाधानको प्रामाणिकतामा पनि प्रश्न उठ्न सक्छ। तर सर्वसाधारणको ध्यान भने तत्कालीन समाधानहरूले खिचिरहेकै हुन्छन्। यसले गर्दा व्यावसायिक दक्षता नचाहिने पो हो कि भन्ने डर हुन थालेको छ।

यसैगरी करारमा कर्मचारी राखिने संस्थागत प्रवृत्तिले पनि व्यावसायिकतालाई चुनौती दिने गर्छ। सार्वजनिक प्रशासनमा लोकप्रिय हुँदै आएको यो प्रवृत्तिको मुख्य कारण खर्च घटाउनु रहेको छ। तर यसका दीर्घकालीन परिणाम अझ खर्चिलो हुने सम्भावना छ। यस प्रवृत्तिले प्रशासनिक संस्थाहरूमा आवश्यक पर्ने निष्ठा, आचरण र अपनत्व भावलाई पनि कमजोर तुल्याउँछ। अमेरिकाले निकै असजिलोसँग हाल सामना गरिरहेको ‘विकिलिक्स’ को समस्या खडा गर्ने एउटा व्यक्ति ‘एडबर्ड स्नोडन’ यस्तै अस्थायी करारमा राखिएका कर्मचारी थिए।

नेपालमा हाल भइरहेको करारमा कर्मचारी राख्ने विषयसँग सम्बद्ध छलफलले यस्ता विषयलाई पाठका रूपमा लिन सक्छ। वस्तुतः अस्थायी करारमा कर्मचारी राख्ने प्रणालीलाई हिजोआज ‘अपरिचितहरूको प्रशासन’ भन्न थालिएको छ। यसका आफ्नै समस्या छन्। अर्कातिर सार्वजनिक प्रशासनमा काम गर्ने व्यक्तिहरूलाई विशेषज्ञता आवश्यक पर्छ तर नीतिनिर्माणको सर्वांगीण पक्षसँग पनि उनीहरू परिचित हुनैपर्छ। यसर्थमा अरू क्षेत्रभन्दा प्रशासनिक क्षेत्र निकै फरक छ। उदाहरणका लागि स्वास्थ्य क्षेत्रमा विशेषज्ञता भएको एक नीतिनिर्माताले कृषि वा वन क्षेत्रको सामान्य ज्ञान पनि राख्नैपर्ने हुन्छ। यस प्रसंगमा प्रशासनिक व्यावसायिकताकै बीचमा प्रतिस्पर्धा पनि देखिने गर्छ, जो प्रशासनिक सेवाका लागि त्यति फलदायी हुँदैन। यसले समग्रतामा देखिनुपर्ने कार्यगत समन्वयलाई कमजोर तुल्याउन सक्छ। नीतिनिर्माणको सर्वांगीण अध्ययन र अनुसन्धानले मात्र यस क्षेत्रका व्यावसायिकहरूलाई आफ्नो कार्यसम्पादन बढाउन मद्दत पुर्‍याउँछ।

राजनीतिक क्षेत्रमा मौलाउँदै आएको ‘प्रियतावाद’ पनि व्यावसायिकताको स्वस्थ विकासका लागि समस्या बन्न सक्छ। किनभने एक व्यावसायिक विशेषज्ञमा हुनुपर्ने वस्तुवादिता र तटस्थताजस्ता मूल्यहरूलाई प्रियतावादले कमजोर तुल्याइदिन सक्छ। त्यसो त राजनीतिक प्रशासनको भूमिकाको बहस आजभन्दा एक सय ३० वर्षअघिदेखि भएको हो। यो बहस चलिरहेकै छ। राजनीतिक नेतृत्वले नीतिनिर्माणमा भूमिका खेल्ने र प्रशासनिक संयन्त्रले नीति कार्यान्वयनको जिम्मेवारी लिने आधारभूत मान्यता हो। तर यसलाई व्यावहारिक रूप दिन भने सकिएको छैन। यी दुवै संस्थाबीच ‘ओभरल्याप’ रहँदै आएको छ। नेपालकै सन्दर्भमा हेर्दा सुशासन ऐन २०६४ ले राजनीतिक र प्रशासनिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्ने प्रयास गरेको छ। तर व्यवहारमा भने थुपै्र उल्झन रहेका छन्। यस क्रममा एक व्यावसायिक प्रशासनले राजनीतिक नेतृत्वसँग कसरी समभाव र समन्वय राख्न सक्छ भन्ने चुनौतीपूर्ण छ।

ज्ञानको आर्जन र प्रयोग गर्ने प्रयोजनमा व्यावसायिकता आवश्यक हुन्छ नै तर कहिलेकाहीं यसमा दिइने अत्यधिक जोडले सर्वसाधारण नागरिकबाट उपलब्ध हुन सक्ने अनुभवमा आधारित ज्ञानको अवमूल्यन गर्ने जोखिम रहन्छ। प्रशासनिक कार्यसम्पादनलाई अगाडि बढाउने माध्यमका रूपमा सार्वजनिक प्रशासनमा व्यावसायिकतालाई योग्यता प्रणालीसँग पनि जोडेर हेर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनहरूले के देखाएका छन् भने योग्यता प्रणालीका अर्थमा लिइएको व्यावसायिकताले मात्र प्रशासनिक कार्यसम्पादनमा सघाउन पुर्‍याउन सकेको छैन। उदाहरणका लागि स्विडेनको गोटेनवर्ग विश्वविद्यालयको तत्वावधानमा गरिएको एक अध्ययनले नेपालको सार्वजनिक प्रशासनलाई व्यावसायिक मानेको छ, तर यसको कार्यसम्पादन निराशाजनक रहेको तथ्य पनि उठाएको छ।

सार्वजनिक प्रशासनमा व्यावसायिकतालाई राजनीतिक नेतृत्व तथा नागरिक समुदाय दुवैबीच लोकप्रिय बनाउन सक्नुपर्छ। यसका लागि पहिलो, विशेषज्ञलाई संविधान र कानुनले परिकल्पना गरेको व्यवस्थाप्रति उन्मुख गराइनुपर्छ। अर्कातिर व्यावसायिक धर्मको पालनामा प्रेरक व्यक्तित्व तथा अभ्यासहरूबाट शिक्षा लिइने परिपाटी अपनाउनुपर्छ। सार्वजनिक प्रशासनमा विशेषज्ञहरूलाई आफूले गर्नुपर्ने कामको स्पष्ट मार्गचित्र बनाउन त्यति सजिलो छैन, जति अन्य क्षेत्रका विशेषज्ञलाई छ। किनभने सार्वजनिक प्रशासनमा नागरिकहरूसँग अन्तरसंवाद गरिरहँदा तात्कालिक र अपर्झट सेवाहरू पनि दिनुपर्ने हुन्छ। सार्वजनिक प्रशासनसम्बन्धी प्रशिक्षण कार्यक्रमहरूले यस्ता विषयलाई समेट्नुपर्छ।

अन्त्यमा, विशेषज्ञताको अर्थ भावी प्रवृत्तिहरूको पहिचान गर्ने क्षमता पनि हो। प्रशासन क्षेत्रका विशेषज्ञता र व्यावसायिक क्षमतामा साँच्चै गर्व गर्ने हो भने सार्वजनिक क्षेत्रका उदीयमान प्रवृत्ति र भविष्यको रूपरेखका बारेमा पनि अभिरुचि देखाउनैपर्ने हुन्छ। यसो हुन सकेमा मात्र सार्वजनिक प्रशासनले व्यापक समर्थन प्राप्त गर्छ र यस आलेखको सुरुमा भनिएजस्तो असहयोगको अपजस लिनुपर्ने परिस्थितिको अन्त्य हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.