मनका छाउघर कहिले भत्काउने ?

मनका छाउघर कहिले भत्काउने ?

सुदूर पश्चिमका विभिन्न जिल्लामा १८ सयभन्दा बढी छाउघर भत्किसकेका छन्। सरकारले छाउघरमा बस्ने महिलालाई समेत कारबाही गर्ने चेतावनी पनि दिइरहेको छ। सबै छाउघर हटेमा अकालमा छाउघरमा मृत्युवरण गर्नेको संख्यामा कमी आउनेछ। तर प्रश्न उठ्छ- के छाउघर नबस्दैमा महिलाहरू पुरुषसरह स्वतन्त्र हुन पाउँछन् त?

पहिलोपटक महिनावारी हुँदा भविष्यमा आमा हुन सक्ने सम्भावनालाई खुसीका रूपमा मनाउनुपर्ने समयमा तल्लो स्तरको घृणित काम गरेजस्तै भान्छाघर, पूजाकोठा, मठमन्दिर, धामीझाँक्री तथा घरका पुरुषबाट भागीभागी हिँड्नुपर्ने मान्यता पनि के छाउघरसँगै हट्ला? छाती, पेट, खुट्टालगायत सिंगो शरीर दुखिरहेका बेलामा र मीठो बोलीसँगै सान्त्वनाका दुई शब्द आफन्तबाट सुन्नुपर्ने बेलामा दिनभर घाम नदेख्ने गरी एक्लै कोठामा बस्नुपर्ने किशोरीहरूका पीडा पनि के छाउघरसँगै भत्केलान्? न त दाह्रीजुँगा आउँदा न पहिलो स्वप्नदोषमा नै कुनै पनि बेला पुरुषलाई केही गर्न, कतै जान, केहि खान कुनै प्रकारको रोकावट हुँदैन। तर महिलालाई भने प्रत्येक महिना कम्तीमा पाँच दिनसम्म दूध, दही, मही, घिउ, मासुलगायतका पौष्टिक खानेकुरा खान, मठमन्दिर, बिहेभोजमा जानबाट बन्देज लगाउने प्रवृत्ति हट्ला?

घरमा खाना पकाउने, पानी दिने मान्छे नहुँदा कहिलेकाहीं लामो समयसम्म खाना, पानी नपिई बस्नुपर्ने बाध्यता छाउ भएकी महिलालाई मात्र पर्छ। तर राम्रोसँग खान नपाएर शरीर कमजोर भए पनि ओखलमा धान कुट्ने, खेतमा डल्ला फुटाउने, जंगल गएर दाउराको भारी ल्याउने, घाँस काट्ने, गाईवस्तुको मल ओसार्नेजस्ता शारीरिक परि श्रम बढी चाहिने काम गर्न भने महिनावारी भएकी महिलालाई छुट्ट्याइएका हुन्छन्।

रुढिवादी र अन्धविश्वासलाई निरन्तरता दिइरहनु आवश्यक छैन। बाहिरी छाउघरसँगसँगै मनका छाउघर पश्चिम नेपालका महिलाले भत्काउनै पर्छ।

फलफूलका बोटबिरुवाका लागि मल बोक्न हुने तर त्यही मलमा उत्पादन भएका फलफूल खान नहुने, भाँडा सुक्खा बनाएर एक दुनो गाईभैंसीबाट दूध दुहुन मिल्ने र त्यही दूध घरका सम्पूर्ण सदस्य, गाउँका धामीझाँक्रीले खान मिल्ने, मन्दिरमा चढाउन मिल्ने तर आफूले भने खान नमिल्ने! आफूले जति पनि खान मिल्ने भनेको त्यतिखेर गाईको गहुँत हो। चारदेखि आठ दिनसम्म जति पिउन सक्यो त्यति नै राम्रो हुने, चोखिने भन्दै नाक थुन्दै गहुँत पिउनुपर्ने किशोरीका बाध्यता!

अरूका नजरमा घिनलाग्दो काम गरेजस्तै डराइडराई झिसमिसेमै कसैले नदेख्ने गरी एक्लै टाढाका खोलामा लुगा धुन जाँदाका न जन्म दिने आमाबुवा न त दाजुभाइले नै नदेख्ने पीडा के छाउघर भत्केसँगै भत्किन सक्लान्? अलिच्छिन, अभागी रहिछे, कस्तो चाडपर्वमै छाउ हुनुपर्ने, दुई दिनपछि भए त भइहाल्थ्यो नि भनेर डस्नेहरूको मानसिकता कहिले परिवर्तन हुन सक्ला? चाडपर्वकै बेला टाढैबाट ससाना भाइबहिनीलगायत घरका सदस्यले सेलरोटी, खीर, दूध, दही, माछामासु आदि खानेकुरा औंला चाट्दै देखाइदेखाइ खाइरहँदा कसैले ‘तिम्रो नियती यो होइन, यी सबै हामीले बनाएका नचाहिने चलन हुन्, तिमी पनि खाऊ’ भन्न सक्लान्?

सानैमा पटकपटक आमाबुवालाई चुलोमा चोखो पारेर पकाइएको खाना छोइयो, कसैले थाहा पाएनन्। महिनावारी हुँदा बिर्सेर पटकपटक पूजा कोठामा पसियो, घरका भाँडाकुडाँ छोइयो, खै भगवान्ले त्यतिखेर कुनै श्राप दिएजस्तो लागेन। अहिलेसम्म स्वस्थ र सुखी जीवन बाँचेकै छु। छाउ भएको थाहा नदिएको बेला सँगसँगै एउटै बाटोमा अघिपछि गर्दै धामीझाँक्रीसँग हिँड्दा केही नहुने तर छाउ भएको भन्ने थाहा पाउँदा लसपस भयो भन्दै काम्न थाल्ने ढोंग नभएर के हो त?

देउता रिसाउँछन् भन्दै छाउ हुँदा छाउघर सुत्न जाने महिला नै छाउघरमा मृत्युवरण गर्न पुग्दा ती देउताले किन बचाउन सकेनन्? यसको जवाफ ती छाउघर सुत्न बाध्य पार्ने धामी, झाँक्री, घरका ठूलाबडा, गाउँका जान्नेसुन्नेसँग छ? साँच्चै घरमा सुत्दा देउता रिसाउने, कुनै अनिष्ट हुने भए छाउघरमा सर्पले टोकेकी महिलालाई किन ती देउताले बचाउन सकेनन्? किन छाउघरमै आगोको धुवाँले निसास्सिएर मृत्यु हुन्छ? किन आमासँग सुतेका निर्दोष बालबालिका पनि घरमा भन्दा छाउघरमै मृत्युवरण गर्न पुग्छन्? छाउघरमा सुत्दा देउता खुसी हुने भए यो सबै दुर्घटना नहुनुपर्ने होइन र? छाउघर सुत्नेहरू अरूभन्दा निरोगी, खुसी र सम्पन्न हुनुपर्ने होइन र?

मेरै माइतीघर बैतडीमा हामीले कहिल्यै छाउघरमा सुतेनौं। त्यहाँ छाउघर छँदै छैन। हामी सबै गाउँले छोरीबुहारी सधैं घरभित्र सुत्ने गर्थ्यौं। देउता कहिल्यै रिसाएनन्। तर मेरै घर अछाममा घरको आँगनमा पनि छाउ भएकी महिलाले टेक्नु हुँदैन, सुत्ने कुरा त परै जाओस्। अछाममा भने छाउ हुँदा घरमा सुत्दा देउता भयंकर रिसाउँछन् रे, अनिष्ट हुन्छ रे, घरका मान्छेलाई खाना खाएको पच्दैन रे। तर बैतडीमा यस्तो केही पनि हुँदैन।

यी त अनपढ, अशिक्षित महिलाको भावनासँग खेलेर चरम यातना दिने यस्ता कुरीतिलाई बढावा दिनेलाई तीन महिनाको जेल-सजाय र तीन हजार जरिमाना मात्र पर्याप्त छ र? अब रुढिवादी र अन्धविश्वासलाई निरन्तरता दिइरहनु आवश्यक छैन। बाहिरी छाउघरसँगसँगै मनका छाउघर पश्चिम नेपालका महिलाले भत्काउनै पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.