दिलीप हत्या प्रकरण : हत्यारालाई फाँसी दे भन्दै स्कुले बालबालिका सडकमा
ढल्केवर : टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्न माग गर्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । मंगलबार धनुषाको ढल्केवरमा विद्यालयद्वारा आयोजित र्यालीमा हत्यारालाई फाँसी र दिलिपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै स्कुले बालबालिका प्रदर्शनमा उत्रिएका हुन्।
ढल्केवरका आधा दर्जन विद्यालयको आयोजनामा निकालिएको र्यालीमा दोषीलाई फासी दे, दिलिपलाई पर्यावरण सहिद घोषणा गर, चुरे लुट्न पाइदैन, अवैध उत्खनन् बन्द गर लगायतका नारा लगाएका थिए ।
पौष २४ गते धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला कुटपीटपछि टिपरले किचेर दिलिपको हत्या गरेको थियो। यस घटनाको देशैभर व्यापक रुपमा विरोध भइरहेको छ। देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग उठिरहेको छ ।