अब सुर्खेतबाटै सवारी लाइसेन्स
सुर्खेत : कर्णालीवासीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन बाह्य जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अब सुर्खेतबाटै लाइसेन्स पाइने भएपछि बाँके जिल्लाको नेपालगन्ज तथा अन्य बाह्य जिल्ला धाउनुपर्ने बाध्यता हटेको हो । सोमबार एक औपचारिक कार्यक्रमबीच प्रदेश राजधानी वीरेन्द्रनगरमा लाइसेन्स वितरण प्रक्रिया शुभारम्भ गरिएपछि कर्णालीवासीले अब सुर्खेतबाटै लाइसेन्स पाउने भएका हुन् ।
यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएपछि आइतबारदेखि फर्म समेत खुला गरिएको हो । तर सुर्खेतबाटै लाइसेन्स पाइने भएपछि स्थानीयमा खुसीसँगै लाइसेन्स वितरण प्रक्रियाप्रति आशंका समेत बढेको छ । यस अघि देशभरका यातायात व्यवस्था कार्यालयबाट भएको लाइसेन्स वितरण प्रक्रियामा अनियमितताका खबर सार्वजनिक भएपछि स्थानीयले सुर्खेतको लाइसेन्स वितरण प्रक्रिया पारदर्शि बनाउन दवाब दिएका छन् ।
केहि समय कर्णालीको जुम्लाबाट लाइसेन्स वितरण भएपनि यातायात व्यवस्था कार्यालय सुर्खेतमा सारिदा वितरण प्रक्रिया रोकिएको थियो । सुर्खेतबाट लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र चुस्तदुरुस्त बनाइने कर्णाली प्रदेशका मु्ख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । लाइसेन्स वितरण प्रतिक्रियाको शुभारम्भ गर्दै उनले प्रदेश सरकारले छिट्टै यातायात व्यवस्था सम्बन्धि कानुन बनाउने बताए ।
लाइसेन्स वितरण प्रक्रियामा यातायात व्यवस्था कार्यालयका कर्मचारीले इमान्दारी भएर काम गर्नुपर्ने उनले औल्याए । 'सर्टिपिकेट लिनकै लागि कर्णालीमा बाहिरबाट पढ्न आउने चलन छ,' उनले भने, 'त्यसैले फर्म लगाएर मात्रै लाइसेन्स पाइन्छ र लिन सकिन्छ भन्ने सोच सबैले अन्त्य गरौं, लाइसेन्स वितरण जस्तो चिजमा खेलवाड हुँदैन।'
योग्य र सक्षम चालकलाई मात्र लाइसेन्स दिइने भन्दै कसैको दबाब र पावरको आधारमा कर्णालीमा लाइसेन्स नपाइने उनले बताए । डोजर पुगेको ठाउँमा बस पुग्न नसक्ने भन्दै गुणस्तरीय सडक निर्माणमा प्रदेश सरकारले जोड दिएको उनको भनाइ छ । कर्णालीमा ट्राफिक नियम उल्लंघनका कारण सवारी दुर्घटना बढदै गएका छन् । लाइसेन्स वितरणका लागि ट्राइल सेन्टरमा समेत सीसी क्यामेरा जडान गरिने छ।
सबै निकायको ध्यान लाइसेन्स वितरणमा भएकाले यातायात व्यवस्था कार्यालयले समेत कमिकमजोरी गर्न नपाउने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। 'कर्णाली जस्तो भौगोलिक विकता भएको ठाउँमा ट्राफिक नियमको पालना हुँदैन, अधिकांशले चालक अनुमति पत्रविनै सवारी चलाउँछन्, उनले भने, '२० वर्ष पुराना गाडी नियन्त्रणमा लिनुका साथै र सार्वजनिक गाडी सञ्चालनका लागि अनिवार्य रुडपरमिट समेत तोक्ने व्यवस्था लागु हुन्छ ।'
यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाइकानुसार लाइसेन्स वितरण प्रक्रिया पारदर्शी र छिटो छरितो बनाउन आवाश्यक जनशक्ति तथा पूर्वाधार निर्माण गरिँदैछ।आइतबारदेखि नयाँ लाइसेन्सका लागि फर्म खुला गरिएको उनले बताए ।अनलाइनमार्फत फर्म भर्ने व्यवस्था गरिए पनि परीक्षास्थल भने तोकिएको छैन।