कैलालीमा क्षयरोग अनुसन्धान केन्द्र
धनगढी : कैलाली गोदावरी नगरपालिका ६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ। स्थानीय दानदाता, नेपाल सरकार र क्षयरोग अनुसन्धान केन्द्र दामियन फाउन्डेसनको आर्थिक सहयोगमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश व्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो।
अनुसन्धान केन्द्रका लागि दुई तला भएको भवन तयार पारी सञ्चालमा ल्याएको छ। भवन विभिन्न सामग्री सहित ५ करोड बढी लागत लागी सकेको मानव संशोधन विकास प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तले जानकारी दिए ।
अनुसन्धान केन्दको उद्घाटन वेल्जियमकी राजकुमारी एस्ट्रिड र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन कार्यक्रमा मन्त्री ढकालले क्षयरोगीहरुका सहजै उपचार पाउन सुदूरपश्चिम प्रदेशमा यस प्रकारको निःशुल्क क्षयरोग उपचार केन्द्र खोल्न पहल भएको बताए ।'सरकार जनतालाई कुनै पनि उपचार बाट बञ्चित नहुने गरी अस्पताल स्थापना गर्ने गृहकार्यमा लागेको छ,' उनले भने । 'सुदूरपश्चिमका कैलाली र कञ्चनपुर क्षयरोग उच्च जोखिममा रहेकाले पहिलो चरणमा यस प्रकारको अस्पताल अगाडि सारिएको हो ।' उनले स्थानीयको पहलमा भएको पवित्र कार्यले अरु प्रदेशको लागि पनि पाठ सिकाइ हुने विश्वास व्यक्त गरे ।
वेल्जियमकी राजकुमारी एस्ट्रिड वेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको मानार्थ अध्यक्ष हुन् । दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र मानव संसाधन विकास प्रतिष्ठानले भौतिक पूर्वाधारमा सहयोग रहेको दामियन फाउन्डेसन नेपालका प्रमुख शुशिल कोइरालाले जानकारी दिए । 'क्षयरोगीको सहजै उपचार गर्ने उदेश्यका साथ अनुसन्धान केन्द्र स्थापना गरिएको छ, उनले भने, 'सरकारसँग हातेमालो गरी अगाडि बढ्ने छौँ ।'
सामाजिक कार्य गर्ने उदेश्यका साथ २०६६ सालमा धनगढी इन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडि बढाउँदै महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट संकलित रकम एक करोड ८० लाख रुपैयाँ पनि क्षयरोग तथा उपचार केन्द्रमा लगानी गरेको छ ।
इन्टरनेशनल कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको मानव संशोधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशीले जानकारी दिए । प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।
धनगढीको लक्ष्मीनारायण मन्दिरले ३ विघा जमिन दान गरेपछि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अगाडि बढेको महासचिव जोशीको भनाइ छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ३ हजार १ सय ६९ जना क्षयरोगीको संख्या रहेको छ । ३५ बेड भएको अनुसन्धान केन्द्र विस्तार अन्य रोगीहरुको पनि सेवा विस्तार हुने छ ।
अनुसन्धान केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार हुने छ । स्वास्थ्य निर्देशानालय डोटीका अनुसार कैलाली कंचनपुर क्षयरोगको दृष्टिकोणले उच्च जोखिममा रहेका जिल्ला हुन् । अहिले अनुसन्धान केन्द्रमा ८ जना उपचार्थ रहेका छन् ।