१८१ केजीको बोका
सन्धिखर्क : बोकाको तौल सामान्यतया ३०÷४० किलो हुन्छ। तर, अर्घाखाचीमा भने १ सय ८१ किलोको बोका छ। बोयर जातको यो बोका हेर्न दैनिक घुइँचो नै लाग्ने गरेको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्नाका किसान गोपाल बस्यालले पालेको बोकाको तौल १ सय ८१ किलो पुगेको हो।
बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने र पाल्न पनि सजिलो हुने भएकाले यस क्षेत्रमा बोयर बाख्राको माग बढी रहेको छ। अस्ट्रेलियाबाट ल्याएर अर्घाखाँचीसहितका जिल्लामा बोयर जातको बाख्रा स्रोत केन्द्रको रूपमा पालन हुँदै आएको छ। छिटो तौल वृद्धि हुने बोयर जातको बाख्रामा अरु जातभन्दा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको पशुचिकित्सक बताउँछन्।
बोयर जातको उत्पादन केन्द्र भएपछि व्यावसायिक बाख्रापालक किसानको संख्या बढेको छ। सन्धिखर्क नगरपालिका ११ डिभर्नाकी गीता भुसालको घरमा दुईवटा मात्र माउ वाख्रा छन्। तिनै दुइ माउ बाख्राका पाठापाठी बेचेर वार्षिक तीन लाख आम्दानी हुने उनी बताउँछिन्। ‘धेरै पाल्नु पनि पर्दैन। दुःख पनि छैन २ बाख्रालाई स्याहार गरेकी छु, तीन लाख कमाए, उनले भनिन, ‘दुई लाखका पाठापाठी तयार छन्।’
पाठापाठी बिक्री तौलका आधारमा हुन्छ। एक किलोको एक हजार रुपैयाँ पर्छ। २५ किलोभन्दा माथिका पाठापाठी बिक्री हुँदै आएका छन्। पाठापाठी बेच्ने किसानको संख्या बढ्दै गएको छ। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम अन्र्तगत जालकाँडा बाख्रापालन समूह किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।
तीन बर्षअघि अस्ट्रेलियाबाट प्रतिबोका ३ लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा वृद्धि भएको हो। यसका कारण बोयर बाख्रामा आकर्षण बढेको हो। परम्परागत रूपमा पालिदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजिसम्मको मासु उत्पादन हुन थालेपछि अहिले बाख्रा पालन व्यवासाय झनै फस्टाउँदै गएको छ।
सन्धिखर्क नगरपालिका ११ का किसान बोयर जातको क्रस गरेर जन्माएका बोका बिक्रीबाट मात्र डेढ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष गोपाल बस्यालले बताए।
किसानका लागि उन्नत बिउविजन कार्यक्रम अन्र्तगत डिर्भनामा १५ वटा बोयर जातको बोका वितरण गरिएको हो। गाउँका १ सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १५ सय वाख्रापालन गर्दै आएका छन। बोयर जातको बोका आएपछि उत्पादनमा तेब्बर वृद्धि भएको छ।
तीन महिनामा नै ३० किलो र वार्षिक एक क्विन्टलभन्दा बढी मासु हुने बोयर बोकाको माग बढ्दो छ। अर्घाखाचीबाहिर सल्यान, रुकुम, प्युठान, स्याङजा, पाल्पा, गुल्मीसहितका १५ जिल्लामा पाँच सयभन्दा बढी बोका र बाख्रा पठाइएको छ।
एउटा पाठा वा पाठी जन्मदा नै ४ देखि ५ किलोको हुन्छ। पहिलेको काठे बाख्रापालनमा १ वर्षमा २५ किलो हुन्थ्यो। बोयर जातको बाख्राले ३÷४ वटा पाठापाठी पाउँछ। बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दाहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। अहिले सबैघरधुरीमा कम्तीमा तीनदेखि पैतिस वटासम्म बाख्रा रहेका छन्।
पाणिनी गाउँपालिकालाई बोयर हवका रूपमा विकास गर्ने अभियान नै चलेको छ। गाउँपालिका भित्रका किसानलाई व्यावसायिक पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बोयर बोका र बाख्रा वितरण गरिएको हो।
अस्ट्रेलियाबाट ८० लाखको लागतमा १६ पाठी र ८ वटा बोका खरिद गरेर ल्याइ शतप्रतिशत बोयर बोका र बाख्रा कृषकलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। बोयर बाख्रा हस्तान्तरण गर्दै गाउँपालिका गौतमले अबको ५ वर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए।