घोडाको आँखामा पट्टी बाँधेजस्ता जनप्रतिनिधि : पूर्वराष्ट्रपति यादव
चुरे संरक्षणमा तीनै तहका सरकार गम्भीर नभएको बताउँछन् पूर्वराष्ट्रपति डा. रामवरण यादव। देशैभर चुरे दोहन गरेर सडक निर्माण भइरहेको प्रति उनी चिन्तित देखिन्छन्। त्यसो त चुरेलाई सरकारले संवेदनशील क्षेत्र घोषणा गरे पनि दोहन रोकिन सकेको छैन। त्यसैले चुरे संरक्षण गर्न भनेरै २० बर्से गुरुयोजनासहित ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ लागू गरिएको थियो। सरकारकै दोधारे नीतिका कारण अन्नको भण्डार मानिने तराईमधेस संकटमा पर्दै गएको छ। सडक निर्माणका कारण बढ्दै गएको वनविनास, चुरे दोहन र पर्यावरण संकटको समाधानबारे पूर्वराष्ट्रपति डा. यादवसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :
चुरेप्रति किन निरन्तर चिन्ता व्यक्त गरिरहनुभएको हो ?
राष्ट्रपति भइसकेपछि मेरो मुख्य कार्यभार संविधान बनाउने थियो। जनआन्दोलनको म्यान्डेट भनेकै मुलुकको अखण्डता जोगाएर सामाजिक सद्भाव कायम राख्नु थियो। सरकार, राजनीतिक दल र संविधानसभालाई संविधान निर्माणमा कसरी सघाउने भन्ने संवैधानिक दायित्व पनि सँगसँगै निर्वाह गर्नुपर्ने। त्यहीबेला चुरे, वन, जंगल र प्राकृतिक स्रोत संरक्षणको कुरा उठ्यो। माधवकुमार नेपालजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई मैले चुरे संरक्षणमा ‘कन्भिन्स’ गराएँ। तराईमा १७ प्रतिशत भूमि छ। मुलुकको कुल क्षेत्रफलको करिब ३० प्रतिशत भूमि चुरेमा पर्छ। तराईमा ५१ प्रतिशत जनसंख्या छ। त्यस क्षेत्रमा ६० प्रतिशत जनसंख्याको बसोबास भएकाले चुरे जोगाउनुपर्छ भनेरै मैले संरक्षणमा जोड दिँदै आएको हुँ।
सरकारबाट चुरे संरक्षणमा केही पहल भएको छ ?
विगत ५०/५५ वर्षदेखि देख्दै-भोग्दै आएको छु, तराईमा धेरै वनजंगल नास भएको छ। विभिन्न कालखण्डमा धेरै जंगल काटियो। पञ्चायत कमजोर भएकैले राजा महेन्द्रले २०१७ सालमा राष्ट्रघाती कदम उठायो। उनले पूरै जंगल काटेर राजमार्ग बनाए। सडक विस्तारसँगै त्यहाँ बजारीकरण भयो। केही मानिस जंगल कटाएर निकासी गर्ने काममा लागे। २०२८/३० ताका पञ्चायत झन् कमजोर हुँदै गयो। २०३७ सालमा चुनावको बहानामा निर्दललाई जिताउन जंगल फ्रि गरियो। २०५२ अघिको ५-६ वर्षका अवधिमा जंगल कटानी र फँडानी रोकिएको हो। सशस्त्र संघर्षका नाममा माओवादीले फँडानी गरे। २०६२/०६३ देखि ०७६ सम्म आइपुग्दा जंगल कटानी थोरबहुत कम भएको छ।
चुरेको अवस्था कस्तो छ अहिले ?
देशैभर चुरेको दोहन गरिएको छ। मोटरबाटो लैजान भन्दै जथाभावी सडक खनिएको छ। प्रदेश नम्बर २, ४, ५ र ७ को तलतिरको चुरे पहाड खनिएको छ। १ नम्बर प्रदेशमा अलि कम छ। अवैधानिक रूपमा नदीको दोहन छ। डोजर, स्काइभेटरबालाले सरकारी नियमकानुन पालना गर्दैन। संघीय, प्रदेश र स्थानीय सरकारले चुरे संरक्षणमा ध्यानै नदिएकैले चुरे ध्वस्त भइरहेको छ।
देशभरको वनजंगलको अवस्था कस्तो पाउनु भएको छ ?
जडिबुटी पर्याप्त छ। महाभारतमा घना ‘पपुलेसन’ छ। घना पपुलेसनभित्र वनजंगल, नदीनाला, तालतलैया र उब्जनी हुने फाँट छन्। यसले मुलुकलाई नै हराभरा बनाएको छ। कतिपय ठाउँमा जनताले नै पहिरो जान्छ भनेर प्लान्ट लगाएका छन्। सामुदायिक वन जोगाउने ‘कन्सेप्ट’ पहाडमा सफल छ तर तराईतिर असफल। किनकि तराई सामुदायिक वनसँग कहीँ न कहीँ अवैध सम्बन्ध छ। त्यसैले असफल भनेको हुँ। मुलुकमा ४० प्रतिशत वनजंगल छ भनिन्छ तर त्यति छैन। पहाड मिलाएर ३०/३५ प्रतिशत होला। तलतिर बुट्ट्यान मात्रै छ। सेटेलाइटबाट फोटो लिएर झाडीलाई पनि जंगलै भनिएको छ।
चुरेको खास विशेषता के हो ?
प्रदेश नम्बर २ मा ४.३ प्रतिशत मात्रै जंगल छ, धेरैजसो सखाप भइसकेको छ। महाभारत र तराईको बीचमा चुरे छ। एउटा ब्याण्ड छ, हिल (पहाड) को। कम उचाइको सानो पहाड छ। ‘टपिक र सबटपिकल जोन’ मा पर्छ। चुरे घना वनजंगलमा फैलिएकाले, चराचरुंगी, पशुपन्छी र विभिन्न प्रकारका जानवरको बासस्थान नै हो। बहुमूल्य साल (सखुवा) र अन्य धेरै प्रजातिका रूख छन्। जुन जमिन (चुरे) मा छ त्यो ‘स्पोन्ज’ जस्तो छ। बालुवा, गिटी, ढुंगा, माटोले चुरिया पहाड बनेको छ। यसको स्वरूप भुसभुसे छ।
चुरेले पानी सोस्छ। जहाँ जंगल छ, त्यहाँ पानी पर्छ। तराईमा जुन जंगल थियो, त्यहाँ ‘बफर जोन’ थियो। यसलाई चुरेको भावर क्षेत्र पनि भनिन्छ। जसले चुरेबाट भूमिगत रूपमा बगेर आएको पानी भण्डारण गर्ने गर्छ। तराईका नदीनाला, पोखरी, इनार, कलमा त्यसैबाट पानी आउँथ्यो।
मधेसमा किन पानीका मुहान सुक्नुको कारण के हो ?
इनार, पोखरी, नदीमा पानी सुक्नुको कारण पानीको सतह तल-तल गयो। चुरेको जंगल काट्छौं, चुरेको बालुवा र गिटी खोस्रिएर भावर क्षेत्रको पानी भण्डार गर्ने क्षमता कम भएर गयो। वर्षा हुन्छ, खहरेबाट पनी बगेर नदीनालामा सीधैं जान्छ। ठूलो बाढी खोलाजस्तै भएर बग्छ। त्यसैले चुरेमा पानी सोस्ने क्षमतामा ह्रास आइरहेको छ।
चुरे दोहनले तराईमा कस्तो असर पारेको छ ?
बढ्दै गएको चुरे विनासले नदी कटान, बालुवाले उर्बरभूमि पुरिएको मात्र नभई बाढीले बस्तीमा डुवानजस्ता समस्या बढेर गएका छन्। पुलपुलेसा र सडक सबै बाढीले बगाएर लैजान्छ। सरकार फेरि सडक र पुल बनाउनैमा खर्च गर्छ। ठूलो बाढी आउनुको मुख्य कारण नै चुरे विनास हो। सरकार, नागरिक र राजनीतिक दलले चुरे संरक्षणमा जोड दिनुपर्छ। नागरिक भने चुरे संरक्षणको निकै सजग, सचेत र जागरुक भएको पाएको छु।
संसदमा चुरे र प्राकृतिक स्रोत संरक्षणमा बहस भएको सुन्न भएको छ ?
मिडियाले भनिराखेकाले आउने पुस्ताले पक्कै सुन्छ। हाम्रो पुस्ताका मानिस जनताका प्रतिनिधि भएर संसद् र सरकारमा गएका छन् तर तिनीहरू घोडाको आँखामा पट्टी बाँधेजस्तै भएका छन्। विकास, विकास भनेर चिच्याइरहको छन् तर प्राकृतिले दिएका उपहार डोजरले भत्काइसकेको छ। उनीहरूलाई किन चिन्ता र चासो छैन म आश्चर्यचकित छ।
चुरेबाट कसरी फाइदा लिन सक्छौं ?
वैज्ञानिक ढंगले चुरे क्षेत्रबाट बालुवा र गिटी कति निकाल्ने भनेर अध्ययन हुनुपर्छ। नदीमा बगेर आएको बालुवा गिटी निकाल्नुपर्छ। त्यसका लागि भूअध्ययन गरिनुपर्छ। पानी, माटो र जंगलका बारेमा अध्ययन गर्ने विद्धान देशमा छन्। चुरेमै पीएचडी गरेका व्यक्ति पनि छन्।
मैले चुरे संरक्षणको विषयमा कुरा उठाएपछि सरकारले चुरेलाई संवेदनशील क्षेत्रमा राखेर समिति गठन गरी काम गर्न सुरु गरिसकेको छ। चुरे संरक्षणको परियोजनलाई सरकारले राष्ट्रिय गौरवको परियोजनामा राखेको छ। २० वर्षको मास्टर प्लान पनि पास भइसकेको छ। कानुन बन्यो भने विस्तारै चुरे व्यवस्थापन हुँदै जान्छ।
गुरुयोजना कार्यान्वयन प्रभावकारी छ कि छैन ?
गुरुयोजनामा चुरे संरक्षणमा अपनाउनुपर्ने सबै विषय समावेश छन्। संसद्बाट चुरे संरक्षणको कानुन बन्न सकेको छैन। सरकारले कानुन बनाउँदैन्, जनप्रतिनिधिले पनि कुरा उठाउँदैन। संसद्बाट कानुन बनेको भए चुरे संरक्षणमा बल पुग्थ्यो।
वन संरक्षणसम्बन्धी कानुन पनि त छ नि ?
भएको वन संरक्षण कानुनलाई पनि व्यहारमा उतार्न सक्नु पर्यो नि। त्यो पनि छैन। तीन तहको सरकारले चुरे संरक्षणमा गम्भीर भएर काम गर्नुपर्छ। कसले कति अधिकार लिएर संरक्षणमा लाग्ने भन्ने विषयमा ढिलाइ गर्नुहुन्न।
के चुरे साँच्चिकै सखाप हुँदै गएको हो ?
सडक तथा पुल बनाउन बालुवा, गिटी र ढुंगा चाहिन्छ। तर कहाँबाट खन्ने ? जथाभावी खन्यो भने भोलि पहिरो जान्छ। बस्तीका बस्ती उठिबास हुन्छ। चुरेका हजार बढी स्थान पहिरोको जोखिममा रहेको अध्ययनले देखाएका छन्। मदन भण्डारी राजमार्गले उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, दाङ, सुर्खेत, डोटी र डडेलधुराको चुरे भूभाग पूरै ध्वस्त हुन्छ भनेर विश्वविद्यालयहरूकै अध्ययनले जनाएका छन्। वातावरण पत्रकार समूहले मदन भण्डारी राजमार्ग निर्माणले चुरेमा परेको प्रभावलाई डकुमेन्ट्रीमा रूपमा देखाएको थियो। त्यो हेर्दा मेरो आँखाबाट आँसु झरे।
त्यसो भए चुरे दोहनले मधेसको जनजीवन संकटमा पर्दै गएको हो ?
हो, हिमाल र पहाडबाट निस्किने ठूला नदीको कुरै छोड्नुस् चुरेबाट बग्ने एक सय ६४ वटा नदी छन्। चुरेमा परेको पानी सोस्न त्यहाँ वनजंगल चाहियो नि। त्यो नै छैन। चुरेबाट बग्ने एउटा नदीले बर्सेनी २०/३० विघा खेतीयोग्य जग्गा कटान गरी मरुभूमि बनाएको छ। तराईको अन्न भण्डार जोगाउन पनि चुरेमा वन बढाउँदै लैजानुपर्छ।
यही अवस्था हो भने भोलि खाद्य संकट आउन सक्ने भयो त ?
हो, चुरे पानीको भण्डार हो भने तराई अन्नको भण्डार। विसं २०२४ सालसम्म नेपाल संसारकै पाँचांै धान निर्यात गर्ने राष्ट्र थियो। ०४० सालसम्म अन्न अरूलाई पठाउँथ्यौं। तर गत वर्षको अभिलेख हेर्दा एक खर्ब १३ अर्बको चामल, दलहन, तेलहनजस्ता खाद्यान्न आयात गरेका छौं। चालू आर्थिक वर्षको पाँच महिनामा ७७ अर्बको खाद्यान्न नेपालमा आयात भइसकेको छ। अब पनि चिन्ता नलिने ?
तपाईंले आफ्नो जीवनकालमा देख्नु भएको चुरे कस्तो थियो ?
तराईको जंगल र संरक्षित चुरे बरकरा थियो। पानीकै कारण अन्नको भण्डार बनेको थियो। पोखरीमा पानी थियो। माछा उत्पादन हुन्थ्यो। घाँसेमैदान प्रशस्त थिए, पशुपालन गरिन्थ्यो। तराई त स्वर्गजस्तो थियो। अहिले चाहिएको बेलामा पानी पर्दैन। बढी जाडो भएर हावा चल्न थालेपछि मान्छे मर्न थाल्छ। अहिले जस्तो शीतलहरी पहिले हुँदैनथ्यो। बिहान लागेको हुस्सु १०-११ बजेबाट सकिएर घाम लाग्थ्यो। बाहिरका मानिस पनि तराईमा गएर खेतीपाती गरी धान लिएर पहाडतिर फर्किन्थें। जाडो छल्न पहाडका मानिस तराईका आफन्तकोमा आउँथे।
अहिले मधेसमा जाडोमा शीतलहरी चल्छ भने गर्मीमा चर्को लु। १५.यस्तो अवस्था किन आयो ?
ग्लोबल वार्मिङको इफेक्ट छ। संसारभर तापक्रम बढिराखेको छ। चालीस वर्षको अन्तरालमा पेट्रोल, डिजेल, उद्योगहरूबाट कार्वनडाइअक्साइड ग्यास बढी उत्सर्जन भएको वैज्ञानिकले भनिराखेका छन्। सन् १९१० देखि २०२० सम्मको अवधिमा छिटोछिटो तापक्रम बढेको रिपोर्ट आइरहेका छ। यही गतिमा तापक्रम बढ्यो भने आउँदो तीस वर्षमा ४ डिग्री सेल्सियस तापक्रम पढ्ने वैज्ञानिकको दाबी छ।
केही दिनअघि नदी दोहनको विरोध गरेकै कारण धनुषामा युवाको हत्या भयो। वातावरण संरक्षणमा जुट्नेहरूको जीव्न खतरामा परेको हो ?
जनप्रतिनिधिमूलक संस्था छ जनताप्रति उत्तरदायी हुन नसक्नुको परिणाम हो यो। चुरे संरक्षणको विषयमा कुनै तहको सरकारमा पनि बहस हुँदैन। सरकारमा सबै पार्टीबाट निर्वाचित भएर गएका प्रतिनिधि छन्। खोइ त उपलब्धि ? मधेसका प्रतिनिधि त्यहाँ नभएको हो र ? जनप्रतिनिधिको कहीं न कहीँ संलग्नता छ।
कस्तो संलग्नता ?
शतप्रतिशत होइन केही मान्छेको चुरे दोहनमै संलग्नता छ। क्रसर उद्योग छन्। बालुवा गिटी उठाउँदा पनि नियम कानुन छ तर त्यसको पालना कसैले गरेको छैन। राजनीतिक दलमा संलग्नहरू क्रसर उद्योग खोलेर बसेका छन्। अवैध रूपले चुरेको नजिक राखेर क्रसर चलाएका छन्। त्यसकै विरोध गर्दा धनुषाका दिलीप (ओमप्रकाश) महतो मारिए। उनलाई वातावरणप्रति निकै सचेत भएको मैले सुनेको थिएँ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा यहाँको दृष्टिकोण के छ ?
विमानस्थल बनाउनुअघि वैज्ञानिकलाई राखेर पर्यावरणबारे गहिरो अध्ययन गर्न आवश्यक छ। लहैलहैमा वन काटेर विमानस्थल बनाउने अभियानमा लाग्नु हुन्न। सवा लाख रूख काटिँदैछ भनिन्छ, कहिले आठ लाख रूख त कहिले २४ लाख रुख काटिँदैछ भन्ने चर्चा चलाइन्छ, कुन पत्याउने ? यो जंगलमा संसारमा कहीं नपाउने एकसिंगे गैंडा पाइन्छ।
वन फँडानीको क्रम जारी राखेर चुरे संरक्षण हुन्छ र ?
७ नम्बर प्रदेशको राजधानी बनाउन वनै फँडानी गरिँदैछ। त्यो विषय झनै संवेदनशील छ। विडम्बना, चुरे र भावर बेल्टलाई सरकारले नै संवेदनशील क्षेत्र घोषणा गर्दै राष्ट्रिय गौरवको योजनामा राखेको छ भने अर्कोतिर सडक निर्माण गरेर चुरे ध्वस्त पारिराखेको छ। बन मासेर राजधानी बनाउनु गलत हो।
राजमार्ग चार लेनको बनिराखेको छ। त्यसको नजिकै रेल्वे विस्तार हुँदैछ। तराईमा हुलाकी राजमार्ग विस्तार भइराखेको छ। पूर्व- पश्चिम राजमार्गनजिकै २० किलोमिटरमै मध्यपहाडी राजमार्ग बनिराखेको छ। चुरे भएर मदन भण्डारी राजमार्गको जरुरी नै छैन। राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग बनाउँदा बीपी कोइरालाले भन्नुभएको थियो, ‘यो राष्ट्रघाटी कदम हो। यसले देश ५० वर्ष पछि धकेलियो।’
अन्त्यमा राजनीतिक दल, नेता र आमनागरिकलाई तपाईंको कुनै सन्देश छ ?
‘हरियो वन नेपालको धन’ भन्ने नाराको अस्तित्व जोगाऔं। भावी सन्ततीका लागि पनि गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ। चुरे मधेसको मात्रै नभएर देशकै लाइफ लाइन हो। मधेसको मात्र होइन देशकै प्राकृतिक स्रोतमाथि मेरो चिन्ता र चासो छ। हिमालको हिउँ पग्लिँदैछ। भएको वनजंगल नकाटौं। पर्यावरणमैत्री विकास गरौं।