गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी
बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिकाको ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।
प्रशासन कक्षको ताल्चा फोडेर आगजनी गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । गाउँपालिकाको प्रशासन कक्षमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कक्षमा भएका कम्प्युटर, महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन्।
यस्तै गाउँपालिकाले भाडामा लिएको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । उक्त स्कारपियो नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको रहेको बुझिएको छ ।
यसका साथै डिलाशैनी गाउँपालिका ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । आगजनी कसले गरेको हो भन्ने बारेमा केही खुल्न सकेको छैन् भने बम पनि कसले राखेको हो भन्ने बिषयमा खुलेको छैन् ।
बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।राज्य पुर्नस्थापना हुँदा डिलाशैनी गाउँपालिका ७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज ३ बाट हुँदै आएका छन् । ३ मै केन्द्र सार्ने चलखेल भएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्। नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप छ ।
गाउँपालिकाको केन्द्रका विषयमा डिलाशैनीमा लामो समयदेखि विवाद रहँदै आएको थियो। अहिलेको सम्पर्क कार्यालय रहेको ठाउँ गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भनेर प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध समेत भइरहेको छ।