दिव्याको बाल क्लब
समाजसेवी बाबुको छोरी भएकाले दिव्यालाई आफूले पनि केही गर्नुपर्छ भन्ने छाप सानैदेखि परेको थियो। आजकल संख्याका हिसाबले बढ्दै गएका नाम मात्रैका समाजसेवीभन्दा उनको बाबा फरक हुनुहुन्थ्यो। औंलामा गन्न सकिने राम्रा समाजसेवीहरूमा उहाँ पनि एक हुनुहुन्थ्यो। ‘ठूलो भएपछि के बन्छौ ? ’ भनेर कसैले सोधे उनको जवाफ हुन्थ्यो, ‘बाबा जस्तो बन्छु।’
यसले बाबाले गरेको कामको सकारात्मक प्रभाव उनीमा परेको प्रष्ट पाथ्र्यो। उनको आमा पनि फुर्सदको समयमा बाबाको काममा सहयोग गर्नुहुन्थ्यो। घरको वातावरण राम्रो भएकाले उनी पढाइमा पनि अब्बल थिइन्। उनको पढाइप्रतिको लगन र अनुशासनको शिक्षकशिक्षिकाहरूले पनि खुबै प्रशंसा गर्नुहुन्थ्यो। पढाइलेखाइबाट बचेको समयमा केही गर्नुपर्छ भन्ने उनलाई लागेको थियो। तर कताबाट सुरु गर्ने भन्नेमा उनी दोधारमा थिइन्।
शनिबारको एकदिन उनी घरको छतबाट आफ्नो टोललाई नियाल्दै थिइन्। यत्तिकैमा टोलका आफूजस्तै सानासाना साथीहरू खेलिरहेको ठाउँ उनी नियाल्न थालिन्। खेल सुरु हुनुपुर्व सबै बालबालिका मिलिजुली बसेको उनले देखेकी थिइन्। तर एक्कासि खेलबाट बाहिरिनु परेको निहुँमा त्यहाँका बालबालिकामा झगडा पर्न थालेको उनले देखिन्। त्यसपछि ती बालबालिका बाबुआमाले गाली गर्दै आफ्ना बच्चालाई घरतर्फ लगेको देखिन्। त्यसमा पनि एउटा छिमेकी आन्टीले, ‘बाबा आएपछि तँलाई के गर्नुहुन्छ ? ’ भनेर तर्साउँदै आफ्नो छोरालाई घरतिर लग्दै गरेको देखिन्। छिमेकको वातावरण राम्रो नभएको थाहा पाएपछि अब भने आफ्नो प्रयास अगाडि बढाउने सोच उनमा आयो। उनले आफैंसँग भनिन्, ‘अब यो टोलमा बाल क्लब गठन गर्नुपर्छ।’ यसको बारेमा उनले आफ्नो बाबासँग पनि सल्लाह गरिन्। बाबाले पनि उनलाई हौसला प्रदान गर्नुभयो।
अब दिव्या अर्को शनिबार छिमेकमा रहेका सबै आफूजस्ता साथीहरूलाई भेला गरी बाल क्लब दर्ता गर्ने सोचमा पुगिन्। बिदाको सदुपयोग यही बाल क्लबको माध्यमबाट गर्ने निर्णय गरिन्। छिमेकका साथीहरूलाई खबर गर्न उनीहरूकै घरमा गइन्। छिमेकमा पनि उनलाई असल बालिकाको रूपमा चिन्ने गर्थे। आफ्ना छोराछोरीको व्यवहारले दिक्क भएका केही आमाहरूले उनको जस्तै असल व्यवहार सिकाइदिन आग्रह गरे। उनले त्यसकै लागि बाल क्लब गठन गर्न लागेको भनिन्। उनले गर्न लागेको कामले आफ्ना छोराछोरीहरूको पनि कल्याण हुने सोची उनलाई राम्रो काम गर्नको लागि शुभकामना दिए।
त्यो शनिबार दिव्या निकै प्रफुल्ल मुद्रामा थिइन्। मैले पनि समाजको भलाइका लागि केही गर्न सक्छु भन्ने उनलाई लागेको थियो। छिमेकी साथीहरू सबै उनले भनेको समयमा आइपुगे। अब उनले साथीहरूलाई बाल क्लबको महत्त्वका बारेमा केहीबेर आफ्नो धारणा प्रस्तुत गरिन्। कोही साथीहरूले ‘हामी बिदाको दिन त खेलेर बिताउने गरेका छौं त्यसैले यहाँ आउन सक्दैनौ’ पनि भने। उनले यो क्लबमा खेलका साथै अरू राम्राराम्रा कुरा रहेको बताइन्। समाजलाई सही दिशातर्फ उन्मुख गर्ने काम हामीहरूको पनि हो भन्दै उनी प्रष्ट्याउन थालिन्। त्यसका लागि हामी सही मार्गमा हिँड्नुपर्ने सुझाव उनको थियो। उनको कुरा सुनिसकेपछि साथीहरूले सहमति जनाए। अब बाल क्लबका लागि नेतृत्व लिने साथीहरूका बारेमा कुरा उठ्न थाल्यो। सबै साथीहरूले उक्त क्लबको प्रमुख नेतृत्व दिव्याले नै लिनुपर्ने माग राखे। दिव्याले आफू नेतृत्व लिन तयार रहेको तर त्यसमा सबैले साथ दिनुपर्ने सर्त राखिन्। यसलाई सबैले स्विकार गरी आवश्यक सहयोग गर्न तयार भए।
दिव्याले आफ्नो बाबासँग सल्लाह गरी पढाइलाई बाधा नपर्ने गरी क्लबलाई सही मार्गमा अघि बढाउने निर्णय गरिन्। बाबाको सल्लाहअनुसार कुनै दिन आफ्नो नैतिक शिक्षा पढाउने शिक्षकलाई बोलाएर नैतिकताका कुराहरू साथीहरूलाई सिकाइन्। नैतिक शिक्षाको प्रभावले अरू साथीहरू पनि दिन प्रतिदिन सही मार्गमा आउन थाले। उनीहरूले आफ्नो बाबुआमालाई दुःख दिन पनि छोड्दै गए। कुनै दिन खेलको आयोजना गरिन्। अब विस्तारै साथीहरूमा खेलका बेला हुने झगडाहरू पनि यो क्लबको माध्यमबाट हट्दै गयो। कुनै दिन टोलको सरसफाइमा सबै साथीहरू आफ्नो अभिभावकसहित लागिपरे। कहिले राम्रोसँग पढ्ने सूत्रहरू सिकाइन थालियो त कहिले अतिरिक्त क्रियाकलापको आयोजना गरियो। दिव्याको कारणले आफ्ना छोराछोरीले सत्मार्ग सिक्दै गएकोमा उनीहरूका अभिभावकहरू पनि दंग परी सहयोग गर्न थाले।
दिव्याको प्रयास बाबाको सुझाव अनि छिमेकी अभिभावकको सहयोगमा टोलको मुहार नै फेरियो। त्यति मात्र हैन अब त यो टोलका सबै बालबालिकाहरू पढाइमा पनि प्रगति गर्न थाले र आफूले क्लबबाट जानेका ज्ञानगुणका कुरा स्कुलका साथीहरूलाई पनि सिकाउन थाले। दिव्याको कामबाट प्रसन्न भएका टोलवासीले आफ्नो टोलको नामनै ‘दिव्य टोल’ मा परिवर्तन गरे। बाल क्लबको माध्यमबाट आफ्नो बालबच्चालाई मात्र नभई आफूहरूलाई पनि ज्ञान प्राप्त भएकोमा टोलवासीले दिव्यालाई धन्यवाद दिए। राम्रो संस्कार दिन सकियो भने एउटा बच्चाले पनि समाज परिवर्तन गर्न सक्छ भन्ने उदाहरण दिव्याले प्रस्तुत गरिन्।