चिलाउने समस्याले हैरान
भाइबहिनी हो, तिमीहरूलाई शरीरका विभिन्न भागमा चिलाएपछि कन्याउन हैरानी त भएको छैन ? शरीरमा चिलाउने समस्या छ भने आमाबुवालाई भन्नुपर्छ है। समयमै उपचार नगर्ने हो भने छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ नि।
नुहाउन तिमीहरूलाई कत्तिको अल्छी लाग्छ ? सामान्य सरसफाइमा पनि ध्यान नदिने व्यक्तिलाई छालासम्बन्धी विभिन्न समस्याले सताउँछ। त्यसैले नुहाउने र सफा लुगा लगाउने गर्नुपर्छ। फोहोरमैला भएको ठाउँमा खेल्न जानु हुँदैन।
चिलाउने समस्यामध्ये दाद र लुतो मुख्य रूपमा पर्छन्। फोहोर ठाउँमा खेल्ने, सरसफाइमा ध्यान नदिने र पसिना निस्किरहने व्यक्तिलाई दादले सताउँछ। छालारोग विशेषज्ञ डा. रीता श्रेष्ठका अनुसार ‘फंगस’का कारण छालामा दाद देखा पर्छ।
दादलाई दुई किसिमबाट विभाजन गर्न सकिन्छ। भित्री दाद गिजा र मुखभित्र देखा पर्छ। बाहिरी दाद छालाको बाहिरी भागमा देख्न सकिन्छ। दाद पनि चिलाउने र नचिलाउने हुन्छ। औंलाको काप र शरीरको कपडाले ढाक्ने भागमा आएको दाद चिलाउने प्रकृतिको हुने डा. श्रेष्ठको भनाइ छ। हातखुट्टामा आएको दाद बढी चिलाउँछ। सुक्खा भागमा आउने दाद नचिलाउन पनि सक्छ। दाद टाउकोमा पनि आउन सक्छ। टाउकोमा दाद आएको अवस्थामा कपाल झर्ने समस्या देखिन्छ। शरीरमा प्रतिरक्षा शक्ति कम भएका व्यक्तिमा दाद देखिन्छ। दाद सरुवा रोग भएकाले अरूलाई पनि सर्छ।
लुतोका कारण पनि चिलाउने समस्या देखिन्छ। दादभन्दा लुतोले सताएको बेला बढी चिलाउने डा. श्रेष्ठ बताउँछिन्। लुतो दिउसोभन्दा राति बढी चिलाउँछ। ‘सारकोप्टस स्क्याबी’ नामक किटाणुका कारण शरीरमा लुतो आउँछ। दादभन्दा लुतो छिटो र सजिलै सर्छ। काखी, कुहिनो, यौनांग लगायतका शरीरका विभिन्न भागमा लुतो आउन सक्छ। जुनसुकै उमेरका व्यक्तिलाई लुतो हुन सक्छ। शरीरको एक ठाउँमा आएको लुतो अन्य ठाउँमा पनि फैलँदै जान्छ।
लुतो भएको व्यक्तिलाई छुँदा, उसको लुगा लगाउँदा लुतो सर्छ। लुतो भएको साथीको घरमा गएर एउटै बिछ्यौनामा सुतेपछि पनि लुतो सर्न सक्छ। लुतो शरीरको बाहिरी भागमा मात्र देखा पर्ने समस्या हो। पिपसहितको फोका उठ्ने र पानी भएको फोका उठ्ने गरी लुतो दुई किसिमको हुन्छ।
उपचारपछि निको हुन्छ
उपचार गरेपछि दाद र लुतो दुवै निको हुन्छ। शरीर चिलाउने समस्याबाट मुक्त हुने हो भने दाद र लुतो हुन पाउँदैन। त्यसका लागि सरसफाइमा ध्यान दिनुपर्छ। नुहाउन अल्छी गर्नु हुँदैन। सकेसम्म सुतीको लुगा लगाउनुपर्छ। छालासम्बन्धी समस्या देखिनासाथ सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक छ।