राजदूतको जुँगासँग क्रुद्ध कोरिया

राजदूतको जुँगासँग क्रुद्ध कोरिया

दक्षिण कोरियाका लागि अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा कोरियाली जनताका लागि असह्य बनेको छ । उनीहरूले ह्यारिसको जुँगाको विरोधमा जुलुस पनि निकालेका छन् । 

अमेरिका र दक्षिण कोरियाको सम्बन्ध हालैका दिनमा चिसिँदै गएको छ । यस्तो परिस्थितिमा राजदूत ह्यारिसको जुँगाले नयाँ विवाद खडा गरेको छ । पूर्वनौसेनाध्यक्ष ह्यारिस सन् २०१८ मा दक्षिण कोरियाका लागि अमेरिकी राजदूत नियुक्त भएका थिए । त्यतिबेलादेखि नै उनी विवादमा आइरहेका छन् । 

केही दक्षिण कोरियालीका लागि ह्यारिसको जुँगाले जापानी उपनिवेशकालीन शासनको झल्को दिएको छ । जापानले यस देशमा सन् १९१० देखि १९४५ सम्म उपनिवेश कायम गरेको थियो । 

ह्यारिसको जुँगा–विरोधी नागरिकको मत छ– उनको जुँगा औपनिवेशिक कालमा दक्षिण कोरियाका शासक जापानी गभर्नर जनरलहरूको जस्तो छ । 

अमेरिकी पिता र जापानी माताका सन्तान ह्यारिस आफ्नो आलोचना जापानी विरासतले गर्दा भएको हो भन्ने ठान्छन् । गत बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो जुँगाबारे अहिले दक्षिण कोरियामा बहस चलिरहेको छ । सामाजिक सञ्जालमा मेरो विरोध भइरहेको छ । किनभने, म जापानी–अमेरिकी हुँ ।’ 

ह्यारिस, ६३, दक्षिण कोरिया र जापानबीच उच्च तनावको अवस्था रहेको बेला अमेरिकी राजदूत भएका थिए । सन् २०१८ को नोभेम्बरमा दक्षिण कोरियाली अदालतले दोस्रो विश्वयुद्धताका कोरियाली नागरिकलाई जबर्जस्ती काममा लगाउने जापानी कम्पनीहरूलाई क्षतिपूर्ति दिन आदेश जारी गरेपछि दुई देशको सम्बन्ध थप कटुतापूर्ण भएको थियो । त्यसपछि सन् २०१९ को अगस्टमा जापानले दक्षिण कोरियालाई आफ्नो प्रिय व्यापार साझेदारको हैसियतबाट हटाएपछि दुई देशको सम्बन्ध झन् बिग्रिएको थियो । यी विवादका पृष्ठभूमिमा राजदूत ह्यारिसको जुँगा थप विवादास्पद बनेको हो । 

दक्षिण कोरियाको अखबार ‘द कोरिया टाइम्स’ले गत महिना लेखेको थियो, ‘राजदूत ह्यारिसको जुँगा अमेरिकाको नवीनतम छविसँग गाँसिएको छ । अमेरिका अहिले दक्षिण कोरियासँग अपमानपूर्ण व्यवहार गरिरहेको छ । ह्यारिस राजदूतजस्ता छैनन् । उनी त जापानी उपनिवेशकालका गभर्नर जनरलजस्ता छन् ।’ अखबारले कोरियाली जनताको भावनालाई आवाज दिएको बताइन्छ ।  

दोस्रो विश्वयुद्धताका जापानी सैन्य नेतृत्वले यस्तो जुँगा पाल्ने गरेको युनिभर्सिटी अफ सेन्ट्रल लंकासायरका प्राध्यापक निकी एल्र्सफोर्डले ब्रिटिस समाचार संस्था ‘बीबीसी’लाई बताए । ‘राजदूत ह्यारिसको जापानी विरासतका कारण पनि उनको जुँगाका कारण हंगामा भएको हो,’ उनले भने । 

ह्यारिस आफू जापान र दक्षिण कोरियाको ऐतिहासिक वैमनस्यबारे जानकार रहेको तर उक्त इतिहासमा आफ्नो जन्मको संयोगलाई मिसाउनु गलत भएको बताउँछन् । उनी पहिले जुँगा पाल्दैनथे । सफाचट अनुहार राख्थे । सामाजिक सञ्जालमा दक्षिण कोरियाली जनता उनलाई सोधिरहेका छन्, ‘अहिले आएर उपनिवेशकालीन जुँगा पाल्नुको अर्थ र औचित्य के हो ?’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.