स्निकर्स चकलेटको लम्बाइः १२ फिट, तौलः दुई टन
चकलेटप्रेमीका लागि स्निकर्स परिचित नाम हो । विश्वभरि बर्सेनि अर्बौं डलरको स्निकर्स बिक्री हुने गर्छ । अमेरिकी कम्पनी मार्स रिग्लीले स्निकर्स उत्पादन गर्छ ।
गएको जनवरी १६ मा मार्सले यति विशाल स्निकर्स बार प्रदर्शन गर्यो कि दुनियाँ आश्चर्यचकित भयो । यो चकलेटलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले हालसम्मको सबैभन्दा ठूलो चकलेट नट बारका रूपमा मान्यता दियो । टेक्सस राज्यको वाको शहरमा स्थित स्निकर्सको प्लान्टले यो विशाल चकलेट बनाएको हो । चकलेटको लम्बाइ १२ फिट, चौडाइ २ फिट २ इन्च र उचाइ दुई फिट छ । यसको तौल छ– २१ सय ४४ केजी । यो भनेको सामान्यतया दुइटा घोडाको वजन हो । प्रायः उपभोग गरिने स्निकर्सका ४१ हजार वटा बार बराबर यो एउटा मेगा–बार हुन्छ ।
गिनिज बुकका निर्णायक माइकल इम्प्रिक भन्छन्, ‘यति विशाल चकलेट बनाउनु आफैँमा चुनौतीपूर्ण त छँदै छ, कालिगढीका हिसाबले पनि यो अब्बल छ ।’
आउँदो फेब्रुअरी ३ देखि सुरु हुने अमेरिकन फुटबल लिग ‘सुपर बाउल’ प्रतियोगिता अवधिभर यस मेगा–बार स्निकर्सको विज्ञापन टेलिभिजनमा प्रसारण गरिनेछ ।
भीमकाय स्निकर्स बारलाई दुई हप्ता लगाएर बनाइएको थियो । ‘टेक्ससमा जे पनि ठूलो हुन्छ भन्ने धारणा छ,’ स्निकर्सका भ्यालू म्यानेजर रुड इंगबर्सले भने, ‘यो विशाल स्निकर्स त्यही धारणाको उपज हो ।’
यति ठूलो चकलेटलाई अब के गरिन्छ त ? निःसन्देह खाइन्छ । अमेरिकामा रहेका मार्सका विभिन्न प्लान्टका कर्मचारीलाई यो विशाल चकलेटका टुक्रा बाँडिनेछन् ।