के हो 'ट्वेन्टी सेभेन क्लब' ?
विश्वप्रसिद्ध मनोरञ्जन पत्रिका ‘रोलिङ स्टोन’ले पहिलो पटक प्रयोग गरेको थियो–‘ट्वेन्टी सेभेन क्लब’शब्दावली । २७ वर्षको उमेरमा निधन भएका संगीतकर्मी र अभिनेताहरूको समूहलाई भनिने ट्वेन्टी सेभेन क्लबमा हालसम्म ७१ जना सदस्य आबद्ध भइसकेका छन् ।
रोलिङ स्टोनका अनुसार सन् १८९२ मा बितेका संगीतकार अलेक्सान्द्र लेभीदेखि सन् २०१८ मा निधन भएका र्यापर फ्रेडो सान्टानासम्मलाई समेट्दा २७ वर्षको उमेरमा मृत्युवरण गर्ने विश्वप्रसिद्ध कलाकारको संख्या ७१ पुगेको छ । यो क्लबमा संगीतकर्मीको आधिक्य छ ।
निर्भाना ब्यान्डका कर्ट कोबेन, रोलिङ स्टोन्सका ब्रायन जोन्स र ज्यानिस जोप्लिन, गिटारिस्ट जिमी हेन्ड्रिक्स, गायक जिम मोरिसन २७ वर्षको उमेरमा बितेका थिए ।
कोबेनको आत्महत्यापछि ट्वेन्टी सेभेन क्लबबारे चर्चा हुन थाल्यो । कलाकारको अल्पायुमै मृत्यु हुनु (खास गरी २७ वर्षको उमेरमा)का पछाडि विशेष कारण छ कि भन्ने विषयमा अध्ययन हुन थाल्यो । तर, अध्ययनहरू कुनै सैद्धान्तिक निष्कर्षमा पुग्न सकेनन् । धेरैको निक्र्योल थियो– ‘कम उमेरमा प्राप्त प्रसिद्धिलाई ह्यान्डल गर्न नसक्दा यस्तो भएको हुन सक्छ ।’
कालगतिले २७ वर्षको उमेरमा मर्ने त छँदै छन्, यही उमेरमा आत्महत्या गर्ने पनि छन् । अभिनेता जोनाथन ब्रान्डिसलगायत केहीले २७ वर्षमा जीवन समाप्त गरेका थिए ।
गायिका एमी वाइनहाउस पनि २७ वर्षको उमेरमा बितेकी थिइन् । २४ वर्षको भएपछि उनी आफ्ना साथीहरूसँग बारम्बार भन्ने गर्थिन्, ‘म त २७ वर्षमा बित्छु होला ।’ नभन्दै विषजन्य मदिराका कारण उनको यही उमेरमा मृत्यु भयो र उनी कुख्यात क्लबकी सदस्य भइन् ।