मानव तस्करीको नयाँ रूट : उड्छन् बाकु, पुग्छन् दुबई

मानव तस्करीको नयाँ रूट : उड्छन् बाकु, पुग्छन् दुबई

काठमाडौं : मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ।

एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए। तीमध्ये १ सय ३६ महिला थिए। अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरू यूएई ट्रान्जिटमै हराएको स्रोतले बतायो।

फस्ने÷दुःख पाउने घटना धेरै भए पनि यूएई र कुवेत घरेलु कामदारलाई फकाउन सजिला देश हुन्। घरेलु कामदारका लागि सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले हरेक हत्कन्डा प्रयोग गरेर त्यहाँ लैजाने धन्दा रोकिएको छैन। वैदेशिक रोजगार कार्यालय ताहाचलले अजरबैजानका भिजिट भिसालाई सेटिङमा श्रम स्वीकृति दिएको खुलेको छ। त्यसका लागि कम्प्युटर सफ्टवेयरमार्फत विवरण फेरिएको देखिन्छ।

भिसामा भ्रमणको प्रयोजनमा ‘वर्क’ (काम) लेखिएको छ। तर, बस्ने अवधिमा ३० दिन मात्र छ। ‘सच्याउँदा भ्रमणको प्रयोजन मात्र मिलाउन ध्यान पुगेको हुन सक्छ’, उक्त कार्यालयका कर्मचारीले भने, ‘देखेका भए अवधि पनि दुई वा तीन वर्ष बनाउन सक्थे।’

यूएईमा मानव तस्करी बढेपछि सरकारले त्यहाँको भिजिट भिसामा समेत कडाइ गर्दै आएको छ। अजरबैजानमा भिजिट भिसा पाउन सजिलो छ। २० डलर तिरेमा अनलाइन भिसा मिल्छ। त्यही भएर मानव तस्करीका लागि यो ‘सूत्र’ प्रयोग हुन थालेको हो।

पछिल्लोपटक यहाँबाट उडाइएका अधिकांश महिलाले क्लिनर पदका लागि ताहाचलबाट स्वीकृति लिएका छन्। स्रोतका अनुसार वैदेशिक रोजगार कार्यालय ताहाचल, त्रिभुवन विमानस्थल र एयरलाइन्ससँगको मिलेमतोमा मानव तस्करले यसलाई सम्भव तुल्याउँदै आएका छन्।

डिसेम्बर १७ देखि जनवरी १३ सम्म गएका १ सय ४१ जना एयर अरेबिया र फ्लाई दुबईबाट उडेका थिए। सारजाह र दुबई हँुदै अजरबैजानको बाकु पुग्नुपर्नेमा उनीहरू ट्रान्जिटमै हराएका हुन्।

वैदेशिक रोजगार विभागका अनुसार अजरबैजान नेपाली कामदारका लागि खुला भएको मुलुक हो। तर, सुविधा र अन्य हिसाबले त्यहाँ जानेको संख्या नगन्य छ। केही अघिसम्म माल्दिभ्समार्फत् मानव तस्करी हुँदै आएको थियो। माल्दिभ्समा कडाइ गर्नासाथ रुट अजरबैजान मोडिएको हो।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले अजरबैजानका नामबाट मानव तस्करी भएको आशंकामा ताहाचल कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको बताए। ‘कागजात पेस गरेकाले भिसा अनलाइन चेक गरेर पठाएका छौं भन्ने साथीहरूको भनाइ छ,’ उनले भने, ‘यसबारे थप अध्ययन गर्दै छौं।’ अजरबैजानको भिसा खुकुलो भएकाले मानव तस्करले त्यो बाटो रोजेको हुन सक्ने उनले पनि आशंका गरे।

वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले अजरबैजानको कागजात देखाएकाले श्रम स्वीकृति दिइएको बताए। ‘सम्बन्धित देशमा पुगे÷नपुगेको हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘ श्रम स्वीकृति पाएकाले त्यहीं जान्छ भन्ने विश्वास हुन्छ।’

पछिल्ला दुई वर्षमा अवैध रुपमा वैदेशिक रोजगारमा गएका ८ सय महिलाको उद्धार गरिएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो अध्ययनअनुसार बेचबिखनमा पर्नेमध्ये करिब ९० प्रतिशत महिला हुने गरेका छन्। १८-२९ वर्ष उमेर समूहका महिला बेचबिखनमा बढी पर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.