कालिञ्चोकमा स्की च्याम्पियनसिप
चरिकोट : पर्यटकीयस्थल कालिञ्चोकमा कुरी स्की तथा स्नोबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। कालिञ्चोकको हिमपातको उपयोग गर्दै स्की तथा स्नोबोर्ड प्रतिष्ठानले बिहिबारबाट पहिलोपटक कालिञ्चोक गाउँपालिकाको प्रथम कुरी स्की/स्नोबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरेको हो।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा स्की खेलप्रति रुची राख्ने स्वदेशी/विदेशी तथा कालिञ्चोक घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी प्रतियोगिता सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए।
कालिञ्चोक क्षेत्रमा बिहीबार र शुक्रबार आधारभूत स्की तालिम गरिने र शनिबार प्रतियोगिताको फाइनल खेल खेलाइने अध्यक्ष पाठकले बताए। प्रतियोगितामा सहभागी हुने ४० जनालाई तालिम दिन सुरु गरिएको छ।
स्की र स्नोबोर्ड गरी दुई विधामा आयोजना गरिने च्याम्पियनसिप ट्रायल राउण्ड, क्वालिफाइङ राउण्ड र फाइनल राउण्ड गरी तीन चरणमा सञ्चालन हुने इभेण्ट म्यानेजर सौगात थापाले जानकारी दिए। प्रतियोगिता स्की तथा स्नोकोर्डिङको स्लालम रेसको नियमअनुसार खेलाइने छ। ट्रायल राउण्डबाट छनोट भएकामध्ये टाइमिङको आधारमा खेलाइने क्वालिफाइङ राउण्डमा खेलाडीहरुले पार गरेको दुरी र औसत समयअनुसार उत्कृष्ट ४ खेलाडी फाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ।
तालिममा सहभागी खेलाडी।
उत्कृष्ठ तीनलाई नेपाल स्की एशोसिएसनको सहयोगमा राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागी गराइने थापाले बताए। साहसिक खेलको विकास तथा पर्यटन प्रवर्द्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ।
खेलको माध्यमबाट पनि जिल्लाको पर्यटन व्यवसायमा थप मद्दत पुगोस् भन्ने उद्देश्यका साथ स्की च्याम्पियनसिप आयोजना गरिएको हो। स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनाउने पाठकले बताए।
प्रतिष्ठानले दोलखाको रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखुम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए।
क्याप्सन्