कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद र सुमित्रा विजयी
सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन्। रिक्त दुई जना सदस्यका लागि बिहीबार भएको निर्वाचनमा नेकपाका मायाप्रसाद शर्माले तीन हजार ६ सय १८ र सुमित्रा विसीले तीन हजार ६ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन्।
सार्वजनिक मत परिणामअनुसार प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवारले पाएको कुल मतमध्ये मायाप्रसाद शर्माले पाएको दुई मत बदर भएको छ।
निर्वाचनका लागि नेकपा र नेपाली कांग्रेसबाट चार जनाको उम्मेदवारी परेको थियो। निर्वाचनमा ९८.४८ प्रतिशत मत खसेको थियो। एक सय ९८ जना कुल मतदातामध्ये एक सय ९५ जनाले मतदान गरेका थिए। कुल मतदातामध्ये कर्णाली प्रदेश सभाका ४० जना सांसद र ७९ वटा स्थानीय तहका एक सय ५८ जना जनप्रतिनिधि रहेका थिए।
निर्वाचनमा कुल मतदातामध्ये तीन जना मतदाता अनुपस्थित भएका थिए। जसमा कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाको नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङ अनुपस्थित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि मायाप्रसाद शर्माले कर्णालीको समृद्धिका लागि पहल गर्ने बताइन्। ‘राज्यबाट कर्णाली अझैँ उपेक्षित छ, धेरै सम्भावना भएपनि यहाँको स्रोत साधानको सहि सदुपयोग हुन सकेको छैन’ उनले भने, ‘समृद्ध कर्णाली निर्माणका लागि केन्द्र सरकारलाई घचघच्याउने छु।’
यस्तै नवनिर्वाचित राष्ट्रियसभा सदस्य सुमित्रा विसीले कर्णालीको गरिबी अन्त्यका भुमिका खेल्ने बताइन्। उनले भनिन्, ‘विकासको पर्खाइमा रहेको कर्णाली गरिबी, अशिक्षा र बेरोजगारी समस्याले थलिएको छ, अब यस्ता समस्या अन्त्यका लागि मेरो निरन्तर पहल रहनेछ।’