सम्झनामा तारादेवी

सम्झनामा तारादेवी

अन्य दिनभन्दा बिहीबार राष्ट्रिय सभागृहको माहोल बेग्लै थियो। कलाकार, संगीतकार, गायकगायिका र गीतकारको बाक्लो उपस्थिति थियो। सभागृहको गेटैमा स्वरकिन्नरी तारादेवी श्रेष्ठको फोटो सजाइएको थियो। कार्यक्रमका अतिथि उनको फोटोसँग आफूलाई राखेर फोटो खिचिरहेका थिए। सभागृहको हलमा उनले स्वर दिएका गीत गुञ्जिरहेका थिए। कहिले काली पारे दाइ कति राम्रो गीत बज्थ्यो त कहिले फूलको थुंगा बगेर गयो, कहिले उकाली ओरालीहरूमा, सोचेजस्तो हुन्न जीवन, शुभकामना भरि जस्ता सुमधुर गीतले कार्यक्रम स्थल गुञ्जायमान थियो।

स्वर किन्नरी तारादेवीको १४औं स्मृतिको अवसरमा काठमाडांै महानगरपालिकाको सहकार्य र तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा ‘सम्झनामा तारादेवी’ नामक कार्यक्रम सम्पन्न भयो। तारादेवीद्वारा स्वरबद्ध नौ सय खोला तरेर जाने, बिर्सने पो हौ कि बोलको गीत गुनगुनाउँदै मञ्चमा उक्लिन् संगीता थापा। निकै सुमधुर आवाजमा गीत गाएकी थापाले फूलको थुंगा बगेर गयो बोलको अन्तरामा पनि स्वर भरिन्। यस्तै प्राश्ना शाक्यले आऊ या न आऊ तिम्रो खुसी बोलको गीत गाइन् भने हिमालकी छोरी हुँ म भन्दै मञ्च तताइन् गीता पाण्डेले अनि अमर माया छाडेर जानेले बोलको गीतमा स्वर भरिन् जिना रसाइलीले।

जब विजयनारायण मानन्धर र विष्णु चेम्जोङले ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो बोलको गीतमा युगल स्वर दिए। ताली र हुटिङले कार्यक्रम स्थलको माहोल तातेको थियो। विष्णु र विजयको स्वरमा दर्शक रमाए। एकसेएक गायकगायिकाका प्रस्तुति र तारादेवीको सम्झनाले कार्यक्रमस्थल तारादेवीमय बनेको थियो।

२००१ साल माघ २ गते पिता कृष्णबहादुर र माता राधादेवीको कोखबाट जन्मेकी तारादेवी नेपालकी स्वर किन्नरी हुन्। नेपाली संगीतको क्षेत्रमा ३४ सयभन्दा बढी गीतमा आवाज भरेकी तारादेवी २०६२ माघ ९ गते यस धर्तीबाट बिदा भएकी थिइन्। केही समय रेडियो नेपालकी जागिरेसमेत रहेकी तारादेवीले २०२२ सालमा शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह गरेकी थिइन्। उनका छोरी चारू र छोराहरू शशी तथा रविलाई जन्म दिएकी थिइन्। सुमधुर स्वरको उपहार नै पाएकी तारादेवीको जीवन संघर्षमय रह्यो। उनले २०५१ सालमा क्यान्सर रोगका कारण छोरा शशीलाई गुमाइन् भने हवाई दुर्घटनामा परी २०५५ सालमा उनका श्रीमान्ले पनि संसार त्यागे। पति र छोराको मृत्युले आहत बनेकी तारादेवीले अन्तिम पटक २०५६ सालको फागुनमा गीत गाएकी थिइन्।

कार्यक्रममा तारादेवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने अधिकांशले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्‍याउन तारादेवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए।

सम्झनामा तारादेवी शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने तीन अग्रज सष्टालाई जनही २५ हजार र प्रमाणपत्रले सम्मानित गरिएको थियो। तारादेवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो।

कार्यक्रममा फाउन्डेसनका तर्फबाट तारादेवीको सांगीतिक जीवनको पहिलो गुरु उस्ताद भैरवबहादुर थापाको सम्झनामा उनकी धर्मपत्नी धर्मदेवी थापालाई पुरस्कार प्रदान गरियो। यस्तै तारादेवीले सबैभन्दा बढी स्वर किरण खरेलका शब्दमा दिएकी थिइन्। तारादेवीको सम्झनामा खरेललाई पनि सम्मान प्रदान गरियो। तारादेवीको अधिकांश गीतमा संगीत भरेका संगीतकार नातिकाजीलाई मृत्युपर्यान्त सम्मान प्रदान गरियो। नातिकाजी स्मृति फाउन्डेसनका अध्यक्ष शम्भुजित बाँस्कोटाले उनको सम्मान ग्रहण गरे।

तारादेवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाउन्डेसनको स्थापना भएको थियो। अहिले यसका अध्यक्ष दीपक केसी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.