शोकमा डुब्यो भुलभुले गाउँ

शोकमा डुब्यो भुलभुले गाउँ

भुलभुले (धादिङ) : एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका-२ भुलभुले गाउँ गुरुङ समुदायका ८० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन। गाउँ पूरै शोकमग्न छ । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा-टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्। आफन्त भेट्दा उनीहरू पनि भक्कानिन्छन्।

गत मंलगबार मन्दिर दर्शन गरेर फर्केका यात्रु चढेको ट्रक धादिङको नीलकण्ठ नगरपालिका-८ मैदी भन्ज्याङमा दुर्घटना हुँदा एकै गाउँका ७ युवाले ज्यान गुमाएका हुन्। करिब ३० भन्दा बढी पुरुष सोही दुर्घटनामा घाइते छन्। गाउँभरिकै पुरुष कोही घाइते त कसैले संसार छाडेर गएपछि यतिबेला नीलकण्ठ नगरपालिकाको वडा नं २ भुलभुले गाउँ पूरै शोकमा डुबेको छ।

देउतालाई भाकल बुझायो भने मनले चाहेको सबै कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ। तर, सधैँ भनेझैं कहाँ हुन्छ र ? यदि, मागेको पुग्दो हो त उनीहरूले बीच बाटोमै अकालमा ज्यान गुमाउनुपर्ने थिएन होला। ज्वालामुखी-४ ढोलामा रहेको मण्डलीमाईलाई भाकल बुझाउन गएका नीलकण्ठ-२ भुलभुले गाउँका ७ जना मन्दिर दर्शन गरेर फर्कने बेलामा दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।

मर्ने त मरेर गैगए तर समस्या बाँच्नेहरूलाई भएको छ। गाउँका सबै पुरुषहरू दुर्घटनामा परेर घाइते भएपछि बालबच्चा र बूढाबूढी मात्रै गाउँमा छन्। अन्तिम संस्कारदेखि काजक्रियाको काम गर्नसमेत समस्या भएको स्थानीय माया गुरुङले बताइन्। ‘गाउँका धेरैजसो पुरुष सबै अस्पतालमा छन्, यहाँ त अन्तिम संस्कार गर्नसमेत समस्या हुने भयो’, उनले भनिन्। दुर्घटनामा मृत्यु भएका विदुर गुरुङ केही महिनाअघि मात्र जापानबाट फर्केका थिए। कमाइ राम्रो भएपछि उनी फेरि जापान फर्किने सुरमा थिए। त्यस्तै अर्का युवक तिलक गुरुङ पनि भाषा परीक्षा पास गरेर कोरिया जाने तर्खरमा थिए। धन कमाएर बालबच्चा र परिवारलाई पालुँला भन्नेहरूले संसार छाडेर गएपछि परिवार र आफन्त सबै भावविह्वल छन्।

ट्रकमा यात्रुको बिमा नहुने भएकाले क्षतिपूर्तिको कुरा अझै मिलेको छैन। जिल्ला प्रशासन कार्यालयको पहलमा तत्कालका लागि ट्रकधनीले प्रतिमृतक ५० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने भएपछि बिहीबार साँझ आफन्तले शव बुझेका छन्। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘अहिले तत्कालका लागि किरियाखर्च स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ, पीडितले नियमानुसार पाउने सबैखाले क्षतिपूर्ति गराउन प्रशासनले पहल गर्नेछ।’

दुर्घटनाको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार शोक बिदा दिएको थियो । बुधबार बसेको नगरकार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै घाइतेको उपचारका लागि ५ लाख, घाइते लिन गएको हेलिकप्टर र एम्बुलेन्स खर्चसमेत व्यहोर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले बताए ।

मालवाहक सवारी दुर्घटना : न क्षतिपूर्ति, न त उपचार

मालवाहक सवारी दुर्घटनामा ज्यान गुमाएर न क्षतिपूर्ति न त उपचार भएको यो पहिलो दुर्घटना होइन। तर, धादिङमा मालवाहक र निजी सवारीसाधनले यात्रु बोकेर भएका दुर्घटनामा ठूलै क्षति हुने गरेको छ। जसले गर्दा पीडितले न क्षतिपूर्ति पाउँछन् न त घाइतेहरूले उपचार खर्च।

नीति-नियम कार्यान्वय गराउनुपर्नेहरूले दायित्व बिर्सिदिँदा बेला-बेलामा साह्रै अप्रिय दुर्घटना हुने गरेका छन्। यसअघि पनि गल्छी र ज्वालामुखीमा भएको रातो प्लेटको बोलेरो दुर्घटनामा मृत्यु भएकाहरूले क्षतिपूर्ति पाएका थिएनन्। थिति बसाल्नेहरूकै लापरवाही र कमजोरीले गर्दा कहिलेसम्म अबोध मान्छेहरूले ज्यान फालिरहनुपर्ने हो ? भुलभुले गाउँका स्थानीयको आँसुले नीति-नियम बनाउनेहरूलाई यही प्रश्न सोधिरहेको छ।

घटनापछि स्थानीय प्रशासनले यातायात व्यवस्था समितिको बैठक बसेर बिहीबारदेखि लागू हुने गरी कुनै पनि मालवाहक र निजी सवारीसाधनले यात्रु बोकेको पाइएमा कारबाही गर्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रवीन्द्र रेग्मीले भने, ‘हामीले हाम्रो कार्यालय मातहतका सबै प्रहरी युनिटलाई मालवाहक र निजी सवारी साधनले यात्रु बोकेमा तत्काल कारबाही गरेर गाडी रोक्न निर्देशन गरेका छाँै, कुनै पनि सवारीधनीले अटेर गरेको पाइएमा तत्काल गाडी नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.