चिनी उद्योगी : भुक्तानीमा आनाकानी, मिलमा थप लगानी

चिनी उद्योगी : भुक्तानीमा आनाकानी, मिलमा थप लगानी

काठमाडौं : चिनी नबिकेको भन्दै उखु किसानको भुक्तानी मुस्किलले चुक्ता गरेका चिनी उद्योगीले मिलमा धमाधम लगानी बढाएका छन्। घाटामा गएको भन्दै चिनी मिलले लामो समयसम्म उखु कृषकको भुक्तानी रोक्ने गरेका छन्। अन्तर्राष्ट्रिय बजारबाट सस्तोमा चिनी आयात भएर स्वदेशी चिनी मिलको चिनी नबिकेको उनीहरूको तर्क छ।

तर, घाटामा गइरहेको भनिएका ती उद्योगले धमाधम चिनी मिलमा लगानी थपिरहेको पाइएको छ। यो वर्ष विदेशी लगानीसमेत रहेका इन्दुशंकर चिनी उद्योग लिमिटेड र एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले करिब एक अर्ब रुपैयाँ बढी पुँजी बढाएका हुन्। उद्योगमन्त्री लेखराज भट्टले बोलाएको हालैको बैठकमा एभरेस्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले चिनी नबिक्दा आफू घाटामा गएर उद्योग बन्द गर्नुपर्ने समेत अवस्थामा पुगेको दाबी गरेका थिए।

तर चालु आर्थिक वर्षमा अग्रवालकै चिनी मिलले ९१ करोड रुपैयाँले पुँजी वृद्धि गरेको उद्योग विभागको तथ्यांकले देखाउँछ। यद्यपि, एभरेस्टले किसानलाई दिनुपर्ने भुक्तानी बक्यौता भने राखेको छैन। अन्नपूर्णसँगको कुराकानीमा अग्रवालले चिनी मिलले प्रतिस्पर्धी हुन र आधुनिक प्रविधिसमेत भित्र्याउनुपर्ने भएकाले यसमा थपेको लगानी पुँजी वृद्धिका रूपमा देखिएको हो। ‘उद्योग सञ्चालन गरेपछि त्यसलाई आधुनिक ढंगले सञ्चालन गर्नुपर्छ’, अग्रवालले भने, ‘हाम्रो नोक्सानी एकातर्फ छ, उद्योगमा नयाँ प्रविधि ल्याउने, सुधारका गविधि जस्ता नियमित प्रक्रियाले लगानी थपिरहनुपरेको हो।’ उद्योग टिक्न नसकेर १४ वटा उद्योगबाट १० वटामा सीमित भएको भन्दै चिनी उद्योगको अवस्था कमजोर रहेको उनको भनाइ छ।

यस्तै राजेश केडियाको इन्दुशंकर चिनी उद्योगले २७ करोड रुपैयाँ पुँजी बढाएको उद्योग विभागले जानकारी दिएको छ। पुँजी थपिएसँगै एभरेस्ट सुगरको कुल पुँजी दुई अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने इन्दुशंकर चिनी उद्योगको पुँजी एक अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

एक वर्ष लगाएर चिनी उद्योगीले उखुको भुक्तानी गर्ने गरेको उखु कृषक राजेश यादवले बताए। ‘दुई वर्षअघिसम्म १५ दिनको अवधिमा भुक्तानी हुन्थ्यो’,उनले भने, ‘अहिले त उनीहरूले कहिले भुक्तानी गर्छन् भन्ने नै टुंगो लाग्दैन।’

गत पुस २२ मा एभरेस्ट सुगर मिलले एक वर्षपछि आफ्नो भुक्तानी चुक्ता गरेको यादवको भनाइ छ। इन्दुशंकरले गत मंसिरमा भुक्तानी गरेको थियो। उनी भन्छन्, ‘चिनी बिकेन भन्दै भुक्तानीमा ढिलाइ गर्छन्। तर लगानी थपेको थप्यै छन्। नाफा नहुने भए किन लगानी थप्छन् ? ’

गत वर्ष माघदेखि रौतहटमा बाबा बैजुनाथ सुगर मिल खुलेको थियो। सोही वर्ष पुसमा सर्लाहीमा महालक्ष्मी सुगर मिल पनि खुलेको थियो। नवलपरासीमा रहेको महालक्ष्मी सुगर मिललाई स्थानान्तरण गरि सञ्चालनमा ल्याइएको थियो।

उद्योग विभाग स्रोतका अनुसार महोत्तरीको श्रीनगरमा पनि नयाँ सुगर मिल खुल्ने तयारीमा छ। त्यस्तै सर्लाहीका पूर्वजिल्ला प्रमुख अधिकारी ज्ञानप्रसाद भट्टराईले पनि चिनी मिल खोल्न करिब २० बिघा जग्गा खरिद गरिसकेका छन्।

उखु किसानलाई भुक्तानी गर्नुपर्ने विषयमा चिनी उद्योग धराशायी बन्दै गएको चिनी उद्योगी तर्क गर्छन्। लागत बढेकाले आयातित चिनीभन्दा महँगो ेच्नुपरेकाले चिनी बेच्नै कठिन भएको भन्दै आएका छन्। तर, पुँजी वृद्धि गर्दा जाँदा उद्योगको घाटा थप वृद्धि हुँदै गएको उनीहरूको वित्तीय विवरणमा देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.