छाउ गोठ कि छाउ सोच भत्काउने ?

छाउ गोठ कि छाउ सोच भत्काउने ?

अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई हजारको हाराहारीमा छाउगोठ भत्किसकेका छन्। अभियानमा स्थानीय वासिन्दा विशेषगरी आमा समूह, धामी–झाँक्री, धार्मिक अगुवाहरूको सक्रियता र प्रहरी, जनप्रतिनिधि, प्रशासनलगायतको संयुक्त सहभागिता रहेको छ। छाउ गोठ र छाउ सोच दुवै भत्काउन चालिएको यो अभियानलाई पश्चिम नेपालको सत्कदम र सिंगो राष्ट्रकै सुखद सन्देशका रूपमा लिइनुपर्छ।

स्थानीय तहहरूले छाउ गोठ भत्काउ अभियान सञ्चालन गर्नुअघि प्रत्येक टोलका महिला तथा पुरुषलाई जनचेतना प्रदान गरेका थिए। छाउ के हो ? छाउ गोठमा बस्दा केकस्ता समस्या र रोग लाग्छन् ? कति महिलाले मृत्युवरण गर्नुपर्‍यो ? छाउ किन बार्ने ? छाउ बार्दा केकस्ता असर पर्छन् ? आदिका बारेमा स्थानीयलाई स्पष्ट जानकारी दिइएको थियो।

पश्चिम नेपालका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायत दुई दर्जनजति जिल्लामा व्याप्त छाउप्रथालाई त्यहाँको मात्र नभई सिंगो मुलुककै कलंकका रूपमा लिइएको छ। छाउ गोठका कारण थुप्रै महिलाले मृत्युवरण गरिरहेको घटनावली हेर्दा यो राष्ट्रकै जटिल समस्याका रूपमा रहँदै आएको थियो।

छाउ बारिरहेको अवस्थामा विभिन्न कारणले १० वर्ष (२०६६ देखि २०७६ मंसिरसम्म) यता १४ जनाभन्दा बढी महिला र किशोरीको मृत्यु भइसकेको छ। छाउ गोठमा मृत्यु हुनुको कारणमा सर्प र जंगली जनावरले टोकेर, निसास्सिएर, कठ्यांग्रिएर, रक्तस्राव भएर, यौन दुव्र्यवहार र आगलागी आदि छन्। मर्ने त मरिगए, बाँच्नेहरूलाई पेट दुख्ने, पाठेघर खस्ने, पिसाब नरोकिने, कुपोषण हुने आदि शारीरिक तथा मानसिक समस्या बोकेर बाँचिरहनुपर्नेछ। छाउ गोठमा बस्दा उनीहरूलाई लुगा, ओढ्ने–ओछ्याउने अति सीमित हुन्छ।

छाउ गोठ भत्काउनु समस्याको समाधान हैन। छाउ गोठ भत्काउँदा छाउ सोच भत्किन्छ भन्नु अर्को गलत सोच हो। बरु स्थानीय जनतामा व्याप्त छाउ सोच भत्काउन सके दीर्घकालसम्म प्रभावकारी रहनेछ।

यसअघि सामाजिक संघसंस्थाको अगुवाइमा छाउगोठ भत्काइए, तर छाउ प्रथा भत्किन सकेन। कतिपय शिक्षित तथा अग्रजहरू छाउ प्रथा हटाउनुपर्छ भन्ने पक्षमा रहे पनि समाजबाट एक्लिनुपर्ने डरले अगाडि बढ्न सकेका थिएनन्, जति बेला छाउ प्रथाका पक्षधरको बहुलता थियो। यतिखेर पनि छाउ प्रथाका कुरा गर्दा अनिष्ट हुने; रजवती अवस्थामा महिला काममा र किशोरी विद्यालय नजाने; मानिस, घर तथा सामान छुँदा, दूध, दही खाँदा, कूल देवता रिसाउने; परिवारमा हानि हुने; शरीर सुक्दै जाने; अन्नबाली नफल्ने आदि अन्धसोचाइ छ।

किशोरी या महिलाको निश्चित उमेर या समय पुगेपछि रजस्वला हुनु स्वाभाविक प्राकृतिक प्रक्रिया हो। यस अवस्थामा घरभित्र बस्दा र अरूलाई छुँदा अनिष्ट हुने र पाप लाग्ने थियो भने छाउ गोठमा किन यौन दुव्र्यवहारका घटना भए त ? यौन दुव्र्यवहार गर्नेलाई पाप नलाग्ने तर पीडितले मानसिक तथा शारीरिक हिंसा भोग्नुपर्ने र कतिपयले मर्नुपर्ने यो कस्तो प्रथा हो ? छाउ भएका बेला घरभित्रै बसेको थियो भने के ती महिलाको मरण हुन्थ्यो र ? अघिपछि झैं रजस्वला भएका बेलामा पनि एउटै कोठा अझ एउटै पलङमा सँगसँगै रहने सहरका पति–पत्नीलाई नलाग्ने पाप पश्चिम नेपालका बाहुन, क्षेत्री, मगर, ठकुरी, दलित समुदायका मानिसलाई मात्र किन लाग्ने ? पाप लाग्छ, अनिष्ट हुन्छ भनेर कुन शास्त्र र पुराणमा लेखिएको छ ? यो त एक पेट खान र एकसरो लगाउन नसक्ने सोझासीधा, गरिब र निरक्षर जनतालाई निरीह बनाएर गुमराहमा राख्ने सामन्ती सत्ताका स्वार्थपूर्ण कुरीति हो, जसको सिकार पश्चिम नेपालका जनता हुँदै आएका छन्। उनीहरू त्यो कुरीतिबाट अझै पनि बाहिर निस्कन सकेका छैनन्। छाउ गोठ बाँकी रहे राज्यले दिने सेवा सुविधा नपाउने डरले मात्र उनीहरू अभियानमा निस्किएका हुन्। यो कुरा सत्य हो भने अछाम जिल्ला छाउ प्रथामुक्त भन्नु मात्र हुनेछ।

२०६२ साल वैशाख १९ गते सर्वोच्च अदालतले सरकारका नाममा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरेको १५ वर्ष बित्यो, तर सरकारले निर्देशिका कार्यान्वयन गर्न सकेन। बर्सेनि दर्जनौं किशोरी तथा महिलाको छाउ गोठमा ज्यान जान थालेपछि गृह मन्त्रालयले यसपटक पश्चिम नेपालका स्थानीय प्रशासनलाई छाउ गोठ भत्काउन र विरोधमा उत्रिनेलाई कारबाही गर्न निर्देशन दियो। छाउगोठमा बस्नु र बस्न बाध्य पार्नु कानुनविपरीत भएको ठहर्‍याउँदै स्थानीय तहले त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही र राज्यले दिने सुविधाबाट वञ्चित हुने कानुन आएपछि छाउ गोठ भत्काउ अभियानमा सहजता आएको छ।

सती र दास प्रथाको अवशेष हो छाउप्रथा। यतिखेरको परिवेशमा सती या दास प्रथासरह नै रहेको छ छाउ प्रथा। यो सामन्ती समाजले स्थापना गरेका प्राचीनकालीन विसंगत प्रवृत्तिको पछिल्लो अंश पनि हो। मध्यकालीन इतिहास हेर्दा अशिक्षित समाजमा हैकम जमाएर रमाइरहने र उपल्लो वर्ग हुँ भन्ठानिरहने हैकमीहरूले निरक्षर समाजमा यस्ता प्रथा हुर्काउने गर्थे। यो छाउ प्रथा तिनकै उत्तराधिकारीले हुर्काएको पछिल्लो रुढिवादी संस्कार हो।

छाउ गोठ समस्या होइन, मानसिकता मुख्य समस्या हो। छाउ गोठ भत्काउनु पनि समस्याको समाधान हैन। छाउ गोठ भत्काउँदा छाउ सोच भत्किन्छ भन्नु अर्को गलत सोच हो। बरु स्थानीय जनतामा व्याप्त छाउ सोच भत्काउन सके मात्रै त्यो दीर्घकालसम्म प्रभावकारी रहनेछ। छाउ समस्याको समाधान त्यतिखेर हुन्छ, जतिखेर उनीहरू नै स्वतः छाउ गोठ छाडेर घरभित्र प्रवेश गर्ने सहज वातावरण बन्छ। यसर्थ यसका अभियन्ताहरूले अभियानसँगसँगै तिनका मनबाट छाउ प्रथा हट्न सकेको छ कि छैन भन्ने ख्याल राख्नैपर्छ भने यो प्रथा गलत हो भन्ने कुरा आत्मिक रूपमा मनन गर्ने गरी स्थानीयहरूमा प्रभावकारी जनचेतना पुर्‍याउन पनि उत्तिकै जरुरी छ। यस अवस्थामा नै पश्चिम नेपालका विभिन्न जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको छाउप्रथामुक्त जिल्ला बनाउने निर्णयले सार्थकता पाउन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.