विकास पर्खदै छरिएका बस्ती
कालिकोट : जिल्लाका ९ स्थानीय तहमा भौगोलिक विकटता र छरिएको वस्तीका कारण घर घरमा विकास पुर्याउन समस्या भएको छ। एक्लो घर भएका ठाउँमा विकासका सबै पूर्वाधार निर्माण गर्न समस्या हुने गरेको जनप्रतिनिधिको गुनासो छ।
‘बस्तीदेखि टाढा भएका घर विकासको मुल प्रवाहमा जोड्न निकै सकस छ’, रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले भने, ‘भौगोलिक रुपमा विकट बस्ती अहिले विकासको मुख्य बाधक बनेको छ ।’
उनले रास्कोेटका १ देखी ९ वडासम्मका हरेक बस्तीका विकासका सबै पूर्वाधार लान समस्या भएपछि प्रदेश सरकारको सहयोगमा एकीकृत बस्ती निर्माणको थालनी गर्न लागेको बताए।
‘रास्कोट ७ कर्कलेचाका भन्ने ठाँउमा ९० घर निर्माण गरेर एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेका छौँ’, बरालले भने, ‘जसको प्राविधिक तयारी अनुसार ४० करोडको लगानी लाग्ने छ।प्रदेशकै एकीकृत नमुना बस्ती रास्कोटको कर्कलेचाकाबाट सुरु भएको छ ।’
यिनलाई व्यवस्थित बनाउनका लागि रास्कोट नगरपालिकाका ९ वटै वडामा १३ वटा नमुना एकीकृत बस्ती बनाउँछौँ।कुन वडामा कहाँ बस्ती बनाउने भनेर सम्भाव्यता अध्यायन गरी १३ ठाँउहरु छनोट गरिएको छ।कुनै वडामा जनसंख्याका आधारमा एकदेखि तीन वटासम्म एकीकृत बस्ती निर्माण हुनेछन्।
विकास निर्माणका पूर्वाधार तयार गर्न ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको छ। ‘हाम्रो गाउँपालिकामा सडक पुगेको छैन्।सबै बस्तीमा खानेपानीको सुविधा पुगाउन सकिएको छैन्’, शुभकालिका गाँउपालिका अध्यक्ष खडानन्द चौलागाईं भन्छन्, घरहरु यत्रतत्र छरिएका छन्।छरिएको बस्ती विकासको मुख्य बाधक बनेको छ ।’
जिल्लाका अन्य स्थानीय तहमा पनि समस्या उस्तै छ।छरिएर रहेका वस्तीमा विकासका पूर्वाधार लान समस्या रहेको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।
जिल्लाको सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपपालिका, तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिकाका पनि हरेक बस्तीमा विकासका पूर्वाधार निर्माण भएका छैनन्।स्थानीय सरकारले एक घर एक खानेपानी धाराको अभियान थालेपनि छरिएको बस्तीकै कारण हरेक घरमा धारा पुर्याउन समस्या भएको जनप्रतिनिधिको भनाइ छ।
रास्कोटको–७ कर्कलेचाकामा बन्न लागेको एकीकृत नमुना बस्ती।तस्बिर : बिस्नप्रसाद न्यौपाने