राजदूत आचार्यले नयाँदिल्लीबाट भने : ईपीजी प्रतिवेदन छिट्टै हस्तान्तरण हुन्छ
नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदन छिट्टै हस्तान्तरण हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार बारखम्बास्थित नेपाली दूतावासमा अन्नपूर्णसँग कुरा गर्दै राजदूत आचार्यले प्रतिवेदन छिट्टै हस्तान्तरण हुने बताएका हुन् । प्रतिवेदन तयार भएको डेढ वर्ष बढी समय बितिसक्दा हस्तान्तरण नै नहुने आशंकाका बीच ईपीजीका तात्कालिन सदस्य समेत रहेका राजदूत आचार्यले भने, ‘प्रतिवेदन हस्तान्तरण नै हुँदैन भन्ने कुराहरु निराधार हुन् । मेरै शब्दमा लेखिदिनुस्, ईपीजी प्रतिवेदन छिट्टै हस्तान्तरण हुन्छ ।’
बिहीबार ईपीजीका भारतीय पक्षका तात्कालिन संयोजक तथा हालका महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग नयाँदिल्लीस्थित महाराष्ट्र सदनमा भेट गरेका राजदूत आचार्यले शुक्रबारको कुराकानीमा प्रतिवेदन हस्तान्तरण हुने कुरामा जोड दिएका थिए । सो भेटपछि उनले ‘मैत्रीपूर्ण भेटघाट र हार्दिक कुराकानी’ भएको भन्दै ट्वीट समेत गरेका थिए ।
विगतमा ईपीजी प्रतिवेदनको बारेमा खुलेर बोल्न नचाहेका राजदूत आचार्य कोशियारीसँगको यस पटकको भेटपछि भने प्रतिवेदन हस्तान्तरण हुने कुरामा थप विश्वस्त देखिएका थिए । राजदूत आचार्यले प्रतिवेदन हस्तान्तरण अब धेरै नलम्बिने समेत दाबी गरे । उनले भने, ‘निकै मेहनतका साथ प्रतिवेदन तयार पारेको कुरालाई दुवै मुलुकका सरकारले स्वीकार गरेका छन् ।
उनले भने 'अहिले समयसीमा तोकेर पछि कुनै कारणवश त्यो समयमा हस्तान्तरण हुन सकेन भने फेरि अर्को विवाद आउँछ । त्यसैले समयसीमा ठयाक्कै तोक्न नसकिएको हो । तर यति विश्वासका साथ भन्छु , रिपोर्ट अवश्य हस्तान्तरण हुन्छ , अब धेरै समय लाग्दैन ।’
नेपाल र भारतबीच भएको १९५० को मैत्री सन्धि तथा सम्झौता पूनरावलोकनका लागि सुझाव दिन सन् २०१६ फेब्रुअरीमा गठन भएको ईपीजीले दुईवर्षको समय लगाएर नौवटा संयुक्त बैठक मार्फत् गत वर्ष जुलाईमा ईपीजी प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । भारतीय प्रधानमन्त्रीको व्यस्तता देखाएर प्रतिवेदन हस्तान्तरणमा भइरहेको ढिलाइले यो प्रतिवेदन त्यसै थन्किने हो कि भन्नेमा नेपाली पक्षको चासो रहँदैआएको छ ।