स्वर्ण विजेता सन्जिलाको संघर्ष
१३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालका लागि ऐतिहासिक बन्यो। १३ अंकलाई सामान्यतया अशुभ मानिन्छ। विशेषगरी पश्चिमाहरूले १३ अंकलाई अशुभ अंकका रूपमा व्याख्या गर्दै आएका छन्। त्यही कारण उनीहरू १३ अंक सकभर प्रयोग नै गर्दैनन्। अन्तर्राष्ट्रिय खेलकुदमै पनि १३ अंकको जर्सी लगाउने खेलाडी विरलै भेटिन्छन्। तर, यही १३ अंक नेपालका लागि शुभ साबित बनेको छ। १३औं सागमा हासिल गरेको ५१ स्वर्ण, ६० रजत र ९५ रजतको सफलता र उपलब्धि यसैको ज्वलन्त उदाहरण हो। १३औं संस्करणमा नेपालले हासिल गरेको यो सफलता साग खेलकुद महाकुम्भको साढे तीन दशकको इतिहासमै विशेष र ऐतिहासिक बन्न पुग्यो।
नेपालका लागि ५१ स्वर्ण जित्नेमध्येकी एक खेलाडी हुन्, सन्जिला तिमल्सिना।
धादिङ खहरेकी १८ वर्षीया सन्जिलाले निशा दर्नाल र स्वस्तिका तामाङसँग मिलेर तेक्वान्दोको टिम पुम्सेको २३ वर्षमुनिको स्पर्धामा नेपाललाई स्वर्ण दिलाएकी थिइन्। लामो समयदेखि तेक्वान्दो खेल्दै आएकी सन्जिलाले आफ्नै भूमिमा आयोजना भएको १३औं सागमार्फत आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भइन्।
घरेलु प्रतियोगितामा खासै नचिनिएकी सन्जिला यही वर्ष प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमार्फत चर्चामा आएकी खेलाडी हुन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ३ बाट प्रतिस्पर्धा गरेकी उनले रजत पदक जितेकी थिइन्। त्यही प्रदर्शनका आधारमा उनी १३औं सागको बन्द प्रशिक्षणमा छनोट भएकी थिइन्। सुरुमा ग्यारोगी खेलेकी उनी विधा परिवर्तन गरेर पुम्सेमा लागेकाले राष्ट्रिय टोलीमा अलि पछि नै अटाउन सकेको बताइन्। ‘सुरुमा ग्यारोगी खेल्थेँ। गुरुहरूले ग्यारोगीभन्दा पुम्सेमा राम्रो हुन्छ भनेपछि पुम्से खेल्न थालेँ’, सन्जिला भन्छिन्, ‘सुरुदेखि नै पुम्से सिक्दा अलि बढी समय लाग्यो र राष्ट्रिय टोलीमा पनि अटाउन सकेँ।’
कसरी स्वर्ण ?
सन्जिला १३औं सागका लागि राम्रो तयारी गरेकै कारण तेक्वान्दोले राम्रो सफलता हासिल गरेको बताउँछिन्। ‘तयारी निकै राम्रो थियो। आफ्नै देशमा आयोजना हुने भएकाले पनि थप उत्साहित थियौं’, सन्जिलाले भनिन्। तेक्वान्दोको वैदेशिक प्रशिक्षण चीन, इन्डोनेसिया र मलेसियामा भएको थियो। यस्तै नेपालमा पनि कोरियाली र नेपाली प्रशिक्षकले निरन्तर प्रशिक्षण गराउँदै आएका थिए।
पुम्सेको प्रशिक्षण इन्डोनेसिया र मलेसियामा भएको थियो भने ग्यारोगीका खेलाडीले चीनमा वैदेशिक प्रशिक्षण गरेका थिए। वैदेशिक प्रशिक्षणमा रहँदा हासिल गरेको ज्ञान र सीपले नै तेक्वान्दोले सबैभन्दा बढी १२ स्वर्ण जित्न सफल भएको बुझाइ सन्जिलाको छ।
उनले राम्रो तयारी गरेकाले स्वर्ण नजिते पनि उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको बताइन्। ‘हामीले स्वर्ण नै जित्छौं भन्ने सोचेका थिएनौं। जसरी हुन्छ आफूले ‘बेस्ट’ दिने योजना बनाएका थियौं। भाग्यले स्वर्ण नै जित्दा धेरै खुसी भयौं’, उनले भनिन्। सागमा सुरुमा भारत सहभागी नहुने चर्चा चले पनि पछि भारतलाई हराएर स्वर्ण जित्दा सबैभन्दा धेरै खुसी लागेको सन्जिलाले बताइन्।
साथीको संगतले तेक्वान्दोमा
सन्जिला साथीको संगतमा तेक्वान्दोमा लागेकी हुन्। काठमाडौं बाफलको ज्ञानोदय स्कुलमा पढ्दै गर्दा उनले त्यही नजिक साथीहरूले तेक्वान्दो खेल्दै गरेको देखिन्। मार्सल आर्ट्स पुरुषले मात्रै खेल्ने गरे पनि ‘कस्तो हुँदो रहेछ’ भन्ने सोचेर उनी हेर्न गइन्। साथीहरूले खेलेको देखेर उनलाई पनि खेल्ने रहर जाग्यो। साथीहरूकै करबलमा उनी सीतापाइला डोजाङमा तेक्वान्दो खेल्न थालिन्। उनले कक्षा ४ मा पढ्दादेखि ‘दोबक’ लगाएर ‘किक’ हान्न सिकिन्। सुरुमा सन्जिला ग्यारोगी (फाइट) खेल्थिन्। ग्यारोगीमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। उनले थुप्रै प्रतियोगितामा सहभागिता पनि जनाइन्। उनले भाग लिएका हरेकजसो प्रतियोगितामा पदक जित्न सफल भइन्।
२०७२ को भूकम्पले उनीहरू बसेको घरमा क्षति पुर्यायो। त्यसपछि उनको परिवार कलंकीबाट स्युचाटारमा बसाइँ सर्यो। स्युचाटारबाट सीतापाइला डोजाङ अलि टाढा पर्ने भएपछि सन्जिलाले त्यहीँको डोजाङमा तेक्वान्दो खेल्न थालिन्। स्युचाटार तेक्वान्दो डोजाङमा पुगेपछि उनले विधा पनि परिवर्तन गरिन्। पहिले ग्यारोगी खेल्दै आएकी उनले पुम्से विधा रोजिन्। पुम्सेमा पनि सन्जिलाले राम्रै प्रगति गरिन्। उनले यही वर्ष प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा रजत पदक पनि जितिन्।
रजत पदक जितेकै आधारमा उनी १३औं सागको राष्ट्रिय टोलीमा पर्न सफल भइन्। राष्ट्रिय टोलीमा परेपछि निकै मेहनत गरेकी उनको टोलीले अन्तत : स्वर्ण पदक जित्न सफल भयो।
सन्जिलाले स्वर्ण पदक जितेपछि सबै नेपालीलाई सम्झिएको बताइन्। ‘स्वर्ण जितेपछि सबै नेपालीलाई सम्झिएँ। आफू र आफ्नो टिमले गरेको दु :ख सम्झिएँ’, १८ वर्षीया सन्जिलाले भनिन्। उनले स्वर्ण जित्दा विदेशमा रहेको बुवालाई पनि सम्झिएको बताइन्। ‘बुवा वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ। विदेशमा रहनुभएको बुवालाई सम्झिएँ’, उनले भनिन्।
तेक्वान्दोले जितेका १२ पदकमध्ये पुम्सेले मात्रै सात पदक जितेको थियो। सन्जिलाको टोलीले पुम्सेको अन्तिम पदक राष्ट्रलाई दिलाएका थिए। उनी तीनै जना खेलाडीको टिम वर्कले नै स्वर्ण जित्न सकेको बताउँछिन्। ‘टिमबाट खेल्दै सबैले उत्तिकै मेहनत गर्नुपर्छ। टिममा कसैले सानो गल्ती गरे पनि त्यसको ठूलै मूल्य चुकाउनुपर्छ’, उनी भन्छिन्, ‘त्यसैले तीनै जनाको टिम वर्कले नै हामीले स्वर्ण जित्न सकेका हौं। यसमा मसँगै अरू साथीले पनि उत्तिकै मेहनत गरेका छन्।’
पढाइसँगै खेलकुद
तेक्वान्दोकी तेस्रो डान सन्जिला अहिले स्नातक तहमा अध्ययनरत छिन्। उनी कलंकीकै काष्ठमण्डप कलेजमा बीबीए प्रथम वर्षमा अध्ययनरत छिन्। बैंकिङ क्षेत्रमा करिअर बनाउने योजना बनाएकी उनी पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाउने बताउँछिन्।
‘हाम्रा अग्रजको भनाइ सुन्दा खेलकुदमा लागेर मात्र जीवन गुजारा चलाउन निकै गाह्रो हुन्छ। त्यही कारण पनि खेलकुदसँगै पढाइलाई पनि अगाडि बढाउने योजना बनाएकी छु’, उनले भनिन्, ‘खेलकुदबाट पाएको ख्याति र सम्मानलाई पनि त्यत्तिकै खेर फाल्दिनँ।’ उनले यही खेलबाट राष्ट्रलाई विश्वसामु चिनाउने अभियानमा निरन्तर लागिपर्ने बताइन्। उनले अबका दिनमा ग्यारोगीभन्दा पुम्सेमा नै लाग्ने बताइन्। ‘ग्यारोगीबाट स्थानीय प्रतियोगितामा पदक जितेँ तर पुम्सेबाट अन्तर्राष्ट्रिय पदक जित्न सफल भएँ’, सन्जिला भन्छिन्, ‘अब पुम्सेमै लाग्छु।’
विभागीय टोलीमा नजाने
सन्जिला तत्काल कुनै पनि विभागीय टोलीमा नजाने बताउँछिन्। ‘तत्काल विभागीय टोलीमा आबद्ध हुनेबारेमा सोचेकी छैन’, उनले भनिन्, ‘विभागीय टोलीमा आबद्ध भएपछि त्यहाँको नियम कानुनमा बस्नुपर्ने भएकाले पढाइ अगाडि बढाउन समस्या हुने देखिएकाले तत्काल नजाने सोच बनाएकी छु।’ उनले विभागीय टोलीबाट प्रस्ताव आए पनि पढाइ नसक्किएसम्म विभागीय टोलीमा नजाने बताइन्। तर, डोजाङमा भन्दा विभागमा राम्रो प्रशिक्षण हुने देखेपछि भने उनी लोभिएकी छन्।
‘डोजाङमा भन्दा राम्रो प्रशिक्षण विभागमा हुन्छ। डोजाङमा गुरुले भन्दा पनि खेलाडीमध्येकै सिनियरले प्रशिक्षण गराउने प्रचलन छ। तर विभागमा भने सिनियर गुरुले नै प्रशिक्षण गराउनुहुन्छ’, उनी भन्छिन्, ‘यसले गर्दा कहिलेकाहीँ विभागमा जाऊँ जाऊँ लाग्छ।’
परिवारको सहयोग
सन्जिलाले तेक्वान्दो खेल्दा परिवारले कहिल्यै पनि असहयोग गरेन। परिवारले छोरीको इच्छालाई सदैव साथ र सहयोग गरिरह्यो। बुवा वैदेशिक रोजगारीमा गए पनि आमा र दिदीले आफूलाई सदैव प्रोत्साहन गर्दै आएको उनले बताइन्। ‘परिवारले कहिल्यै पनि असहयोग गरेन। सदैव मलाई साथ र सहयोग गरिरह्यो’, सन्जिला भन्छिन्, ‘परिवारको सहयोग नभएको भए यस्तो सफलता पाउन सकिने थिएन।’ परिवारमा खेलकुद क्षेत्रमा लागेको र बुझेको कोही नभए पनि आफ्नो इच्छालाई परिवारले सदैव साथ दिँदै आएको उनले बताइन्।
पुरस्कारमा समानता
सन्जिला राज्यले दिने सम्मान र पुरस्कारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताउँछिन्। उनी सबै टिम गेमलाई एउटै टोकरीमा राखेर राज्यले हेर्न नहुने बताउँछिन्। ‘सबै टिम गेमलाई एउटै टोकरीमा राखेर हेर्नु हुँदैन। हामी तीन जना मिलेर जितेको स्वर्ण र फुटबलमा २३ जनाले जितेको स्वर्ण फरक हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ’, उनले भनिन्। उनले पुरस्कार वितरण गर्दा सबैलाई समान हुने खालले वितरण गर्नुपर्नेमा जोड दिइन्। ‘राज्यका नजरमा सबै खेलाडी समान हुनु पर्छ र पुरस्कार र सम्मान पनि समान रूपमा वितरण गर्नुपर्छ’, उनले भनिन्।
१३औं सागका स्वर्ण विजेतामध्ये केहीले हरेक दिनजसो पुरस्कार र सम्मान पाए पनि आफूले भने अहिलेसम्म खासै सम्मान नपाएको उनले बताइन्। ‘अरू खेलाडीले हरेक दिनजसो पुरस्कार र सम्मान पाएको समाचार आइरहन्छ’, उनले भनिन्, ‘हामीले भने एकाधबाहेक पाउन सकेका छैनौं।’