जेलभित्रको झेल
नेपालमा राजनीति गर्नेहरूका लागि कति वर्ष विश्वविद्यालयमा पढायो, कति पढ्यो, कति वर्ष अध्ययन-अनुसन्धानात्मक कर्ममा बितायो, कतिवटा किताब लेख्यो, कुन कुन विश्वविद्यालयमा पढ्यो भन्ने कुराले खासै अर्थ राख्दैन। जेलनेल नै नेपाली नेताको बलियो बायोडाटा हो। तर अहिले पनि जेलहरूमा मान्छेलाई चाङ लगाएझैं कोचेर राखिन्छ। राम्रो खानपिन, सफा कोठा, सहज शौचालय, आवश्यक उपचार, मानवोचित व्यवहार, सीप र उद्यमको उचित अवसर छैन। किन नेताज्यू ?
तिमी पर्खालबाहिर छौ
म पर्खालभित्र छु
आखिर के फरक पर्यो र मित्र
अर्काको मुठीभित्र पराधीन जिन्दगी
आखिर जहाँ बस्नु परे पनि त्यो जेल हुन्छ।
कवि कृष्णसेन इच्छुकका हरफ हुन् यी। कविले स्वतन्त्रताभन्दा परको जिन्दगीलाई जेलसँग दाँजे। अमर कविको कविता असल छ। तर जेलभित्र बस्नु र जेलबाहिर बस्नुमा धेरै फरकचाहिँ छ। जेलले मान्छेलाई मात्र हैन, मान्छेका सपना पनि थुन्ने रहर गर्छ। वर्तमान मात्र हैन, भविष्य नै थुन्ने रहर गर्छ। थुनिएको मान्छे जेल जीवन सकिएपछि पनि समाजको आँखामा थुनामुक्त हुँदैन।
जेलले उसलाई सीप सिकाएर, जीवन जिउने तरिका सिकाएर असल मान्छे बनाएर पठाएको पनि हुँदैन। कालो कोठरीमा अनेक मानसिक तनाव झेलेर निस्केको मान्छे एकपछि अर्को अपराधको भाँसमा भास्सिने खतरा बढी हुन्छ। परिवारको माया र साथ, स्वअध्ययन र आफ्नै अन्तरमनसँगको सार्थक संवादले जेल जीवन सकिएपछि मान्छे सुध्रिएका पनि हुन्छन्।
जेल धरतीमै उभिएको हुन्छ। धरतीसँगको विशालताको साइनो खुम्चिए पनि धरती त थुनिँदैन। तर घाम, जून र आकाशसमेत थुन्ने रहर गरिदिन्छ जेलले। जेल सुरुङ हैन। सुरुङको दुवैतिरको मुखमा मलिनो उज्यालो हुन्छ। जेल त एकमुखे ओडार हो। उज्यालोबाट अँध्यारोतिर पसेर अनन्त : अँध्यारोभित्र उज्यालोको आशाबिनै कुँजिँदा र पछि पसेकै मुखबाट निस्कने बेलामा मान्छे उज्यालो देखेर आत्तिने भइसकेको हुन्छ। जेलले निदाएको बेलाको सपना मात्रै हैन, ननिदाएको बेलामा देखिने कल्पनाको संसार पनि थुन्ने रहर गर्छ। तर त्यो चक्रव्यूह फोर्ने आँट केहीमा हुन्छ। र, त जेलबाहिर निस्कन्छन् थोत्रा कागजमा किरिङमिरिङ कोरिएका पाण्डुलिपिहरू। ‘कारा’ कालो कोठरीबाट त्यसरी नै निस्केको एउटा सग्लो किताब हो।
नेपालमा कति कारागार होलान् ? ती कारागारको क्षमता कति छ ? र कति कैदीबन्दी राखिएका होलान् ? एक अध्ययन भन्छ, ‘नेपालका ७४ वटा कारागारमा जम्मा १० हजार कैदीबन्दी थुन्ने क्षमता छ तर साढे २३ हजारलाई कोचेर राखिएको छ।’
जेलभित्र जघन्य अपराध गरेका अपराधीमात्रै छैनन्। परिबन्दले थुनिएका, कानुनको काँडा बिझेका धेरै निर्दोष पनि छन्। ‘कारा’को विमोचनमा सुशीला कार्की, सपना मल्ल प्रधान र रमेश खरेलको एकमत थियो यो कुरामा। जिन्दगीको जगै हल्लिएका दु :खी मान्छेहरू बस्ने ठाउँ र तिनका दु :खको पत्र सुशीला कार्कीले कारामा राम्रैसँग खोतलेकी छन्।
कारालाई उपन्यास भनिए पनि उपन्यास पढेजस्तो महसुस मैले कत्ति पनि गरिनँ। यसलाई उपन्यास सम्झेर पढिनँ मैले। सुशीला कार्कीको जेल डायरी नै सम्झेर पढेँ। हुन पनि यो जेल डायरी नै हो। २०४६ सालमा लेखक जेलमा थुनिँदाको डायरीलाई मर्मत गरिएको र मर्मत गर्दा डायरीले उपन्यासको रूप धारण गरेको हो। यो कुरा सुशीला कार्कीले किताबमा लेखेकी छन्।
जेल जालझेल र दु :खको महासागर हो। जघन्य अपराध गरेर जेल पुगेकाहरू त यो किताबमा लेखिएझैं त्यहाँभित्र पनि उपध्रो नै गरेर बसेका छन्। जेलभित्रै कतिले अनेक खाले आपराधिक धन्धा पनि चलाएका छन्। नाइके, नाइकेनी बनेर अरू कैदीबन्दीमाथि अमानवीय हिसाबले शासन गरेका छन्। रासनदेखि लुगाफाटोसम्ममा भ्रष्टाचार गरेका छन्। तर केही परिबन्दले थुनिएका छन्। कानुनको काँडो बिझेर थुनिएका छन्। न्यायाधीशको विवेक नपुगेर थुनिएका छन्। अपराध अनुसन्धानको ढंग नपुगेर थुनिएका छन्। अनेक राजनीतिक आग्रह-पूर्वाग्रहको सिकार भएर थुनिएका छन्। महिला, पुरुष सबै थुनिएका छन्। थुनिएको पुरुषलाई भेट्न आमा र श्रीमती आइराख्छन्, आँसुको धारा र आशाको दियो दुवै बोकेर। मिठोमसिनो खानेकुरो पनि ल्याउँछन्। अनि साथीभाइ पनि आउँछन्। सहानुभूति बोकेर। तर थुनिएका महिलाको अवस्था फरक छ। एकाधबाहेक अधिकांशले परिवारबाट घृणा र पीडाको पहाड पाएका छन्। श्रीमान्, छोराछोरी र माइतीबाट समेत अपहेलित भएका छन्। जेल जीवन सकिएपछि कहाँ जाने ? बाटो अन्धकार छ। जेलजस्तै।
न्याय दिनुपर्नेले अविवेकी बनेर अन्याय गर्दा धेरै जीवन जेलको अँध्यारोभित्रै सकिएको छ। ‘न्याय कानुनका दफाहरूमा हैन, मानिसको विवेकको डोरीमा झुन्डिएको हुन्छ। विवेकको डोरी खुकुलो भयो भने त्यो पासोमा न्यायकै प्राण जान्छ।’ ती हरफहरूले बोलिरहेछन्, न्याय दिने ढंग नमिल्दा, किताबका अक्षरले न्यायको भाका नबोल्दा ती अक्षरहरू फाँसीको फन्दा बनिरहेका छन्।
किताबमा विभिन्न भूगोल र सामाजिक परिवेशबाट आएका महिला पात्रहरू छन्। तिनका नामदेखि रासनसम्ममा नाइकेनीको शासन छ। त्यो शासन अत्यन्त क्रूर, अविवेकी र जंगली छ। प्रशासन तिनै नाइकेनीसँग मिलेर कैदीबन्दीको रासन हिनामिना गरिरहेछ। नाइकेनीको शासनमा मन नपरेकाको नाम टर्रो राखिएको छ। मन परेकाको नाम मिठोमसिनो बनाइएको छ। तिम्मा, हीरामाया, पात्ले, भक्तिपुरे, पुष्पा, सानु, खोटाङे, दार्जिलिङे, फुलवा, झुम्रीदेवी, रमादेवी आदिमध्ये सानु र पुष्पामात्रै राजनीतिक अभियोगमा थुनिएका बन्दी हुन्। अरू सबै जघन्य अपराधको आरोपमा थुनिएका। सबैसँग दु :खको अनन्त खात छ। केहीले परिबन्दमा परेर ज्यान जोगाउन अपराध गरेका छन् त कोही त्यसै फसाइएका छन्। मानसिक सन्तुलन गुमाएकी श्रीमतीलाई अस्पताल हैन, प्रशासनसँग मिलेमतो गरेर जेलभित्र थुनिएको दर्दनाक कहानी पनि यसभित्र अटाएको छ।
जेलभित्र न केही सीप सिक्ने अवसर छ, न भोलिको जिन्दगीको कुनै सहज बाटो छ। कति त जेल छोडेर जानुपर्दाको दिन सम्झेर कहाली मानिरहेछन्। दु :खैदु :खको बीचमा रमाएका पनि छन्। मादल बजाएर नाचेका छन्। मीठोमसिनो पकाएर, बाँडेर खाएका पनि छन्। सरसफाइ पारेर, सागपात र फलफूल रोपेर कालकोठरीमा प्राण पनि भरेका छन्। साथी छुट्ने बेलामा मिठोमसिनो पकाएर खुवाउँछन्। उपहार दिन्छन्। रोइकराई गर्छन्। बेलाबेलामा लरालर र लुछालुछ पनि गर्छन्। जेलभित्रै नाइकेनीको सरकार ढाल्छन्। अनुहार नदेखेको मान्छेसँग माया पनि लगाएका छन् कसैले। थोरैले मात्र भोलिको जिन्दगीको अलिअलि उज्यालो चित्र मनमा साँचेर बसेका छन्। रंगहीन हुँदाहुँदै पनि आक्कलझुक्कल रंग पलाएको छ जिन्दगीमा। तर उज्यालोलाई सधैं अँध्यारोले नै जितिरहेछ। पुष्पा र सानुले ती अबोध, निर्दोष र अनपढ महिलाको चित्तमा चेतना रोपेका छन्। सीप सिकाएका छन्। शिष्ट तरिकाले विद्रोह गर्न पनि सिकाएका छन्। मनमा अलिकति उज्यालो रोपिदिएका छन्।
दु :खका खात उधिन्दै कार्की लेख्छिन्, ‘बाहिरबाट हेर्दा खुंखार अपराधीलाई कैद गरिएजस्तो लाग्ने झ्यालखाना त खास दु :खीहरूको संग्रह पो रहेछ। यी सबै आआफ्ना दु :खका पहाड बोकेर यी खण्डहरमा आउँदा रहेछन्। अरू दु :ख भोग्न। न यो सुधारगृह थियो, न यहाँ निस्किएपछिको जीवन कसरी जिउने भनेर सिकाइन्थ्यो। बरु मान्छेको निधारमा कलंकको एउटा टीका लगाएर पठाइन्थ्यो, जसले गर्दा यहाँबाट निस्कनेको जीवन पहिलेजस्तो कहिल्यै हुन सक्दैनथ्यो।’ मान्छेले कति धेरै दु :ख लुकाउन सक्छ, कति धेरै दु :ख दबाउन सक्छ भन्ने कुरा यसका पात्रहरूको कथाले बोल्छ। ‘मिलाएर राख्ने हो भने मान्छेको मनभित्र यो पूरै पृथ्वी अट्छ होला’, लेखकको अनुमान छ।
नेपालमा राजनीति गर्नेहरूका लागि कति वर्ष विश्वविद्यालयमा पढायो, कति पढ्यो, कति वर्ष अध्ययन-अनुसन्धानात्मक कर्ममा बितायो, कतिवटा किताब लेख्यो, कुन कुन विश्वविद्यालयमा पढ्यो भन्ने कुराले खासै अर्थ राख्दैन। जेलनेल नै नेपाली नेताको बलियो बायोडाटा बनेको छ। जिन्दगीको सबैभन्दा ऊर्जाशील समय कोठरीमा अत्यन्त कष्टकर जीवन बिताएका उनीहरू त्यो जीवनको साँवा र ब्याज असुल्नमै व्यस्त छन्। नत्र अहिलेका जेलहरूमा मान्छेलाई चाङ लगाएझैं कोचेर किन राखिन्थ्यो ? जेललाई सुधारगृह किन बनाइन्नथ्यो ? राम्रो खानपिन, सफा कोठा, सहज शौचालय, आवश्यक उपचार, मानवोचित व्यवहार, सीप र उद्यमको उचित अवसर, मुद्दामामिलाको गहिरो अनुसन्धानमा किन ध्यान दिइन्नथ्यो ? राजनीतिक बन्दीलाई जघन्य अपराधीसँगै उस्तै व्यवहार गरेर किन राखिन्थ्यो ?
सभ्य समाजमा कुनै पनि खालको हिंसा, अपराध र ज्यादती स्वीकार्य छैन। अपराधीलाई पठाउने जेलमै हो। अपराधी कोही नछुटून, निरपराधी कोही भित्र नपरून, जेल भवन मान्छे सडाउने र सिध्याउने ठाउँ नहोस्, निधारमा कालो टीका टाँसेर, हिंस्रक मनोभाव टनाटन भरेर फेरि अर्को अपराध गर्ने छुट्टी बोकेर कोही जेलबाहिर ननिस्कियून्। आफूले थुनेको मान्छेलाई साँच्चै मान्छेजस्तै बनाएर बाहिर पठाउने र परिबन्दले थुनिएका छन् कि, फसाइएका छन् कि भनेर निरन्तर मिहिन जाँचबुझ गर्ने दायित्व सरकारकै हो। ‘कारा’ले परिबन्दका कथा बोलेको छ। ढल्न ठिक्क परेका थोत्रा भवनभित्र नारकीय जीवन बाँचेका दुखियाहरूको परिबन्द। जेल जालझेल र दु :खको महासागर बनेको छ। जेलभित्रको महाझेल महिला सेलमा बढी छ भन्छ कारा। दु :खी संसारको यो आवाजलाई ‘कारा’ले प्राण भरेको छ। साराले सुनोस्। जेल बस्दा, वकालत गर्दा होस् या प्रधानन्यायाधीश हुँदा- सुशीलाले भुइँमान्छेलाई न्याय दिन फुइँमान्छेसँग सधैं पौंठेजोरी खेलेकी छन्। न्यायप्रेमी कार्कीको कलमको जय होस्।
@Sabdachittra आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ हुन्।