उत्रायनी उपहार

उत्रायनी उपहार

अहिले सोच्दा धेरै थोक लाग्छ तर त्यति बेला बाल्यकालको रमाइलोबाहेक केही थिएन। मानिसहरू भस्सो खेल्न थालेपछि म माघ आएको थाहा पाउँथेँ। खासमा भस्सो महाभारतको कथा हो। बाजे र बाबाट धेरेपटक मैले भस्सोका कथा सुनेकी छु। बडाबालाहरू पूर्णिमादेखि पुस मसान्तसम्म भस्सो खेल्थे। उनीहरू बाजा बजाउँदै ढाल तरबार लिएर नाच्थे। र, पाण्डव-कौरव युद्ध गर्दै कसरी भखाडो (चौर)सम्म आइपुगे भनेर कथा भट्याउँथे। हामी आमाहरूसँग देउडा खेल्दै रमाउँथ्यौं। पुस मसान्तका दिन बलि दिएर ठूलो उत्सव गरिन्थ्यो÷गरिन्छ। र, भस्सो सेलाइन्छ।

माघ लागेपछि बडाहरू हाम्रा खुट्टा धुन्थे, दक्षिणा दिन्थे र पुण्य कमाएको विश्वास गर्थे। हामी (छोरीहरू) पैसा पाएर रमाउँथ्यौं।

०००

माघ महिनाको दोस्रो दिन। रात परिसकेको थियो। बज्यैले ममीलाई अह्राउनुभयो, ‘के के काम सक्नु छ आजै सक्नु ब्वारी। भोलि त केही अर्न हुन्न !’

ममी हतारहतार सबै कुरा जुगाड गर्थिन्। कता के मिलाउनु छ, बेलुका के के पकाउनु छ सबै हरहिसाब गर्थिन्। घरपरिवारका सबैको मीठो मसिनोको ख्याल उनैलाई हुन्थ्यो। अन्य दिन पाक्नेभन्दा फरक पकवान पकाउन ममी र आन्टी कम्मर कसेर लाग्थे।

बटुक, बाबर, पिठेमाडा, माडा, लाउन, मालपुवा, खीर के के पाक्थ्यो पाक्थ्यो। भस्सोभरि मासु खाए पनि माघमा भने मासु चल्दैन्थ्यो।

बगाडा रंगमञ्चजस्तै लाग्छ अहिले सम्झँदा।

बझाङको उच्च पहाडी भेगमा छ बगाडा गाउँ। भिरालो जमिन। खेतबारी र घरहरू।

अहिले बाटो अलिक सजिलो भए पनि बस पुग्दैन। सामान पुर्‍याउन खच्चरकै भर छ। घरघरमा मोबाइल भने पुगेको छ। महिला र वृद्धहरू गाउँमै काम गर्छन् र मजदुरी गर्न सक्ने तन्नेरीहरू गुजाराका लागि भारत पुग्छन्। अहिले पनि अवस्था उस्तै छ।

जसको घरमा बिहान दालभात, साँझ रोटी तरकारी पाक्थ्यो, ऊ ‘हुनेखाने’मा गनिन्थ्यो।

बा शिक्षक, आमा अनमी। हामीलाई भने खानको दु :ख थिएन। तर गाउँका अधिकांशलाई चुल्हो बाल्नै धौ धौ। एकैनासे फर्सीको तरकारी, बाँकी समय रोटीसँग उही नुनखुर्सानी र गहत अनि भटमासको झोल।

घरबाट देउरा बजारसम्म मात्र गाडी पुग्छ। यहाँ झरेर ५÷६ घण्टा उकालो चढेपछि पुगिन्छ बगाडा। देउरा बजार हाम्रो मिनी सदमुकाम नै हो। गाउँलेहरू यहाँ घिउ, कोदो, आलु, पिँडालु र भटमाससँग गहुँ, चामल, नुनतेललगायत सामान साट्थे।

यसबाहेक जीविकाका लागि मानिसहरू खेतबारी र बस्तुभाउको रेखदेखमा व्यस्त हुन्थे।

हिउँदमा गहुँ र जौले बारी हरियाली हुन्थ्यो। हिउँ पर्दा गाउँलेहरू मक्खै। तर, बालीनाली हुर्किने बेलामा के के थरी रोग लागेर अन्न उब्जनी शून्य हुन्थ्यो। ‘जोतिएर काम गर्‍यो, हात लाग्यो शून्य’, गाउँलेहरू आत्तिन्थे। सिजनमा अलिक ज्यादा उब्जनी हुने भनेको त्यही कोदो, आलु, पिँडालु र भटमास हो।

००००

गाउँपिच्छे अलग-अलग जंगल हुन्थे। स्कुलभन्दा हामी जंगलमै धेरै रमाउँथ्यौं। गोजीभर भुटेको मकै र भटमास बोकेर गोरुबाख्रा चराउन हामी आफ्नो जंगल पस्थ्यौँ। जंगल गाउँदेखि तीनचार घण्टा टाढा थियो। दिनभर जंगल डुल्यो, खेल्यो। जंगलको बीचको मन्दिर नजिकै तलाउमा एकछिन डुबुल्की मार्‍यो।

जंगलमा खर्क हुन्थे। वर्षायाममा गोठालाहरूले भैंसी बाँध्थे र आफू पनि उतै बस्थे। हिउँदमा भने भाँडाकँुडाबाहेक त्यहाँ कोही हुँदैनथ्यो। खाली खर्कमा हाम्रो रजाइँ चल्थ्यो।

‘जसको मासु खाइन्छ, त्यसको दूध खानु हुन्न। देवताले सराप्छन्’, बूढापाकाहरूले यस्तै भन्थे। घरबाट खाजा नबोकेको दिन बाख्राको दूध दुहेर खर्क पस्थ्यौं। बूढापाकाले नदेखून् भनेर सुटुक्क चिया र खीर बनाएर पनि खाइन्थ्यो। घर फर्किंदा गोरुबाख्रासँगै पिठ्यूँमा दाउराका भारी बोकेर फर्किन्थ्यौं।

जाडोयाममा चराचुरुंगी, मृग र बँदेल मार्न जंगलमा पासो र जेफालो थापिन्थे। पासोमा कहिलेकाहीँ आफ्नै बाख्राको सिकार हुन्थ्यो। हिउँदे महिनामा उकाली-ओराली गरेर गाउँका महिला मेलापात गरेर घर फर्किन्थे। हरेकको आफ्नै हिउँदे दैनिकी यस्तै थियो। ऊ बेलाको हाम्रो जंगल यति बेला सामुदायिक वनमा परिणत छ।

०००

माघको तेस्रो दिन। उत्रायनीको दिन। अरू दिन बज्यै झिसमिसेमै उठ्थिन्। घामसँगै हामीलाई पनि उठाउँथिन्। केही खुवाँथिन् र बाख्रा चराउन, घाँस काट्न वा अरू केही घरायसी काममा लगाइहाल्थिन्।

तर उत्रायनीमा यस्तो हुँदैन। घामघरभित्रै छिरेपछि बल्ल घरको मूल दैलो खुल्थ्यो। आमा पानी ल्याएर पकवानहरू तयार गर्थिन्। र, हामीलाई खान बोलाउँथिन्। फुपूहरू अघिल्लै दिन माइती आइसकेका हुन्थे।

दिनभर घाम लागिरहने गाउँनजिकै ठूलो चउर। माइती आएका चेलीबेटी र गाउँभरिका बूढावालाहरूको जमघट हुन्थ्यो। उमेरअनुसार अलग अलग समूह। बूढापाकाका हातमा बिँडी-तम्बाखु तान्दै गफिन्थे। मांगल (फागु)मार्फत आफ्ना वेदना पोख्थे। केटाकेटी गोलबद्ध भएर छलिया र धारु नाच्थे, इर्कुटी-मिर्कुटी र धारी खेल्थे।

 पर्व र उत्सव केका लागि हुन्थे ?

‘बच्चाबच्चीले किन जानी राख्न पर्‍यो,’ बडाहरू टारिदिन्थे।

कहिलेकाहीँ ढिपी कस्थेँ। ‘हामी किन उत्रायनी मनाउँछौं ? ’ एकपटक बाजेलाई सोधेको थिएँ। मकर संक्रान्तिमा सूर्य पूर्वबाट उत्तरतिर जाने कुरा सुनाउँदै बाजे भन्थे- बोटविरुवा काट्न हुन्न र खेतबारीमा काम गर्न हुन्न। काम गर्‍यो भने सूर्य भगवान् रिसाउँछन्। वर्षभरिमा उब्जनी हुन्न र हरियाली नष्ट हुन्छ। खडेरी लाग्छ, भोकमरी सुरु हुन्छ। त्यसैले उत्रायनीमा केही काम नगरी छुट्टी लिनुपर्छ।’

उत्रायणीताका ओसिलो ठाउँमा महिना दिन हिउँ जमेको हुन्थ्यो। घाममा बस्दै निबुवा, नुन खुर्सानी, जीरा र लसुनको पात मिसाएर हिउँ साँधेर खान्थ्यौं। चिसोले हाम्रा हातखुट्टा र गाला फुटेका हुन्थे। रमाउन पाएपछि चिसोको वास्ता हुँदैनथ्यो।        

उत्रायनीको दोस्रो दिनदेखि माघ महिनाभर आफ्ना अविवाहित चेलीबेटीलाई दक्षिणा र विवाहितलाई ‘अन्नी’ दिने चलन थियो। अन्नी अर्थात् कोसेली। बाजेले हरियो पातमा बेरेर दिदीहरूसहित हामीलाई दक्षिणा दिनुहुन्थ्यो। कोसेली पनि हरियै पातमा दिने चलन थियो। हाम्रातिर हरियो पातमा कोसेली र दक्षिणा दिँदा जीवन हरियाली हुन्छ भन्ने विश्वास अहिले पनि छ। मलाई थाहा छैन, यसरी हरियो पातमा दक्षिणा र कोसेली थापेका कति छोरीहरूको जीवनमा हरियाली छायो !

सेती नदीपारि मामाघर थियो। ममीलाई कोसेली दिन मामाघरबाट सानीमाँ र मामा आउनुहुन्थ्यो। बाबर, बास्मती चामलको खीर र गिलो रोटीको बास्नाले कोसेली आउँदै गरेको कुरा टाढैबाट थाहा हुन्थ्यो। मामाघरबाट हजुरआमाले, उखु, फागो (उसिनेको चिउरी धानको चामल) चिउरा, महलगायत खानेकुरा पठाइदिनु हुन्थ्यो।

कोसेली लिएर फुपू दिदीहरूकहाँ जाने दिन कहिले आउला ? म पर्खिबस्थेँ। ममीले दिनभर लगाएर पकवान पकाउनुहुन्थ्यो। कोसेलीको गह्रौं झोला बोकेर म पनि बज्यैसँगै फुपू दिदीको तिर कुद्थेँ। वल्लो घर, पल्लो घर सबैतिर कोसेली पुर्‍याउनु पथ्र्यो। यो प्रक्रिया माघ महिनाभरि चल्थ्यो।

बल्ल बल्ल आएको उत्रायणी एकै दिनमा सकिन्थ्यो। र, म अर्को उत्रायणी कहिले आउला भनेर बेचैन हुन्थेँ।

बडाहरूले फेरि भस्सो खेल्न थाले हुन्थ्यो जस्तो लाग्थ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.